कव्वालीका बादशाह नुसरत फतह अलि खानको अनन्त गाथा
- रेहान फजल
कसैले उनलाई ‘एल्विस प्रेस्ली अफ ईस्ट’ भन्थे भने कसैले ‘पाकिस्तानका बब मार्ली’।
प्रसिद्ध गायक पिटर ग्याब्रियलले उनको बारेमा भनेका थिए, ‘मैले कुनै आवाजमा यति हदसम्म आत्माको उपस्थिति पाएको छैन। नुसरत फतह अलि खानको आवाज यस कुराको सबैभन्दा ठुलो उदाहरण थियो कि कसरी एउटा गहिरो आवाजले आत्मालाई छुन र हल्लाउन सक्छ।’
पियर एलेन बड आफ्नो किताब ‘नुसरत: द भ्वाइस अफ फेथ’ मा लेख्छन्, ‘एउटा भव्य व्यक्ति, स्टेजमा पलेटी मारेर बसेको छ, उसका पाखुरा फैलिएका छन् मानौँ ईश्वरसँग संवाद गरिरहेको छ। जापानका मानिसहरू उसलाई ‘गाउने बुद्ध’ भनेर पुकार्छन्, लस एन्जलसमा उसलाई ‘स्वर्गको आवाज’, पेरिसमा ‘पावारोती अफ ईस्ट’ र लाहौरमा ‘शहंशाह-ए-कव्वाली’ भनिन्छ।’
नुसरत हरेक अर्थमा सामान्य मानिसभन्दा फरक थिए – विशाल शरीर, उच्च सुरहरूका मालिक, सयौँ रिलिज एल्बमहरू, र संसारको हरेक कुनामा करोडौँ प्रशंसक।

- हार्मोनियम र तबलाको रियाज
नुसरतका पाकिस्तानी जीवनीकार अहमद अकील रूबीका अनुसार, उनको वंशावली कम्तीमा नौ पुस्ता पुरानो छ। नुसरतका हजुरबुबा मौलाबख्श आफ्नो समयका धेरै प्रसिद्ध कव्वाल थिए। उनका बुबा फतह अलि र काका मुबारक अलि अविभाजित भारतका नामी कव्वालहरूमा गनिन्थे।
विभाजनपछि उनीहरूले जालन्धरबाट लाहौरमा बस्ने निर्णय गरे। १३ अक्टोबर १९४८ मा फतह अलीको घरमा एक छोराको जन्म भयो, नुसरत फतह अलि खान। उनका बुबा छोरा डाक्टर बनोस् भन्ने चाहन्थे, त्यसैले उनले जानाजानी उनलाई सङ्गीतको वातावरणबाट टाढा राखे।
तर एउटा प्रसिद्ध किस्सा छ, एकपटक नुसरत हार्मोनियम बजाउने कोसिस गरिरहेका थिए। उनलाई थाहा थिएन कि उनका बुबा फतह अलि चुपचाप कोठामा प्रवेश गरिसकेका थिए। जब उनले हार्मोनियम बजाउन बन्द गरे, तब उनले बुबा पछाडि उभिरहेको महसुस गरे।
फतह अलि मुस्कुराए र बोले, ‘तिमी हार्मोनियम बजाउन सक्छौ, तर शर्त यो हो कि यसले तिम्रो पढाइमा असर पार्नु हुँदैन।’
यसपछि नुसरतले हार्मोनियमका साथसाथै तबलाको पनि रियाज सुरु गरे।

- जब तबला बज्यो...
नुसरतले यति राम्रो तबला बजाए कि त्यसपछि फतह अलिले आफ्नो छोरालाई डाक्टर बनाउने विचार त्यागिदिए र निर्णय गरे कि अबदेखि उनको छोराले मानिसहरूको घायल हृदयमा सङ्गीतको मलम लगाउनेछ।
त्यसपछि फतह अलिले आफ्ना छोरालाई संगीतका सूक्ष्म कुराहरू सिकाउन थाले तर यो धेरै दिनसम्म जारी रहन सकेन । सन् १९६४ मा घाँटीको क्यान्सरबाट उनको निधन भयो, त्यसबेला नुसरत हाई स्कूलको परीक्षा दिनेवाला थिए।
सन् १९९६ मा नुसरतमाथि एउटा टिभी डकुमेन्ट्री बनाइएको थियो, त्यसमा दिएको अन्तर्वार्तामा उनले सम्झिएका थिए, ‘मेरा बुबा बितेपछि म के गर्ने भन्ने बुझ्नै सकिरहेको थिइनँ। एक दिन मैले सपनामा देखेँ कि मेरा बुबा मलाई एक ठाउँमा लगेर भन्नुभयो गाउन सुरु गर। मैले भनेँ, म गाउन सक्दिनँ। उहाँले भन्नुभयो, तिमी मसँग गाऊ। म उहाँसँग गाउन थालेँ। जब मेरो आँखा खुल्यो तब मैले आफू गाइरहेको पाएँ।’
नुसरतले आफ्ना काका मुबारक अलीलाई आफ्नो सपना सुनाए, उनले सपनामा देखेको ठाउँको वर्णन गरे। उनले सुन्नासाथ भने, ‘यो अजमेर शरीफ थियो जहाँ नुसरतका बुबा र हजुरबुबा प्रायः गाउने गर्थे।’
केही वर्षपछि जब नुसरतलाई अजमेर जाने मौका मिल्यो, उनले त्यो ठाउँ तुरुन्तै चिने र त्यही ठाउँमा बसेर गाए जुन ठाउँ उनले सपनामा देखेका थिए।

- भारतमा पहिलो पटक राज कपूरले निम्तो दिए
पिताको मृत्युपछि उनका काका मुबारक अलिले उनलाई प्रशिक्षण दिने जिम्मेवारी लिए।
अहमद अकील रूबी लेख्छन्, ‘फतह अलिले आफ्ना छोरालाई त्यसरी तयार पारे जसरी मालीले बीउ रोप्नुअघि जमिन तयार गर्छन् तर उनका काका मुबारक अलिले उनलाई त्यसरी तयार पारे जसरी मालीले नयाँ उम्रिएको बिरुवालाई तयार गर्छन्।’
पाकिस्तानबाहिर नुसरत फतह अलिले पहिलो पटक भारतमा गाए। सन् १९७९ मा राज कपूरले आफ्ना छोरा ऋषि कपूरको विवाहमा गाउनका लागि उनलाई बोलाए।
अमित रञ्जनले ‘आउटलुक’ पत्रिकाको सेप्टेम्बर ३, २००७ मा छापिएको आफ्नो लेख ‘म्युजिक हिज दरगाह’ मा उनका तबलावादक दिलदार हुसेनलाई उद्धृत गर्दै भनेका छन्, ‘सुरुमा मानिसहरू ध्यान नदिई गए तर केही बेरपछि उनको गायनको असर देखिन थाल्यो। हामीले राति १० बजे महफिल सुरु गरेका थियौँ जुन बिहान सात बजे समाप्त भयो। नुसरतले लगातार अढाई घण्टासम्म ‘हल्का हल्का सुरूर’ गाएर मानिसहरूलाई झुम्न बाध्य पारेका थिए।’

त्यही यात्राका क्रममा नुसरतले अजमेर शरीफमा ख्वाजा मोईनुद्दीन चिश्तीको मजारमा गाउने र आफ्नो किशोरावस्थामा देखेको सपना पूरा गर्ने इच्छा व्यक्त गरे। एक विदेशी कव्वाललाई पहिलो पटक दरगाहमा गाउने अनुमति दिइयो।
- धेरै देशबाट गायनको निम्तो
सन् १९८१ मा नुसरतलाई बेलायतमा गाउने निम्तो मिल्यो। उनलाई सुन्नेहरूमा हरेक धर्म र समुदायका मानिसहरू समावेश हुन्थे। त्यहाँ उनले धेरै सिख गुरुद्वारामा पनि आफ्नो कन्सर्ट गरे, जहाँ उनले गुरु ग्रन्थ साहिबमा लेखिएका धेरै शब्दहरू गाए।
आफ्ना पिताजस्तै उनले पनि पञ्जाबका सूफी सन्त बुल्ले शाह, बाबा फरीद र शाह हुसेनका रचनाहरू गाए। जतिजति उनको ख्याति फैलँदै गयो, त्यति नै उनलाई नर्वे, स्वीडेन, डेनमार्क र दक्षिण अफ्रिका जस्ता देशहरूमा गाउनका लागि बोलाउन थालियो।

उनी नियमित रूपमा खाडी देशहरूमा पनि जान थाले, जहाँ ठुलो संख्यामा पाकिस्तानी र भारतीय मानिसहरू बस्छन्। सन् १९८८ मा उनको कव्वाली ‘अल्ला हू’ ले संसारभर धूम मच्चायो।
पहिले उनी जलालउद्दीन रूमी, अमीर खुसरो र बुल्ले शाहका रचनाहरू गाउँथे, तर अब उनले आधुनिक शायरहरूका कलामलाई पनि आफ्नो आवाज दिए।
प्रसिद्ध सङ्गीत समीक्षक पिटर ग्याब्रियलले उनको बारेमा भनेका थिए, ‘जब पनि म उनको सङ्गीत सुन्छु, मेरो घाँटीको पछाडिको भागमा एक सिहरन दौडिन्छ।’
- प्रसिद्ध गायक मिक ज्यागर पनि नुसरतका प्रशंसक बने
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पनि नुसरत फतह अलि खानका जबरदस्त प्रशंसकहरूमध्ये एक हुन्। एसिया वीकलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘जब पनि म नुसरतलाई सुन्छु, म आध्यात्मिक हुन्छु। जब हामीले सन् १९९२ को विश्व कप जित्यौँ, तब हामी आफ्नो मनोबल बढाउनका लागि नुसरत फतह अलि खानका क्यासेट सुन्ने गर्थ्यौं।’
इमरानकी आमा शौकत खानम मेमोरियल अस्पतालका लागि धन जुटाउने उद्देश्यले नुसरतले संसारभर धेरै कव्वाली शो गरे।

इमरानले एउटा अनुभव साझा गर्दै भनेका थिए, ‘मैले लन्डनमा नुसरतको एउटा शोमा प्रसिद्ध गायक मिक ज्यागरलाई आमन्त्रित गरेको थिएँ। उनले आफू धेरै व्यस्त रहेको र मात्र पाँच मिनेटका लागि आउन सक्ने खबर पठाए । जब मैले नुसरतलाई यो कुरा बताएँ, तब उनले भने कि यदि मिक आउँछन् भने, उनी शो समाप्त हुनुअघि जान सक्नेछैनन्। र त्यस्तै भयो।’
मिक ज्यागर आए र नुसरतको आवाजबाट यति प्रभावित भए कि पूरै तीन घण्टासम्म त्यहीँ बसेर उनलाई सुने। इमरान खानले बताए अनुसार नुसरतले यी कार्यक्रमहरूको लागि उनीबाट कहिल्यै कुनै पैसा लिएनन्।
- धेरै फिल्ममा गाए
नुसरतको आवाज धेरै फिल्महरूमा प्रयोग गरियो। उनलाई भारतीय फिल्महरू धेरै मन पर्थे। उनले राहुल रावेलको फिल्म ‘और प्यार हो गया’ मा गाए। यसबाहेक उनले जावेद अख्तरसँग ‘संगम’ एल्बम रिलिज गरे।
उनका साथ काम गरेपछि जावेद अख्तरले भनेका थिए, ‘नुसरतले बनाएका धुनहरू सुनेर लाग्दैन कि तिनीहरूलाई बनाइएको हो। यस्तो लाग्छ मानौँ तिनीहरू सिधै हृदयबाट निस्किएका हुन्। उनको लागि सङ्गीत ध्यान जस्तै थियो। उनी गाउँदा गाउँदै अक्सर ध्यानमा डुब्थे।’

नुसरतले शेखर कपूरको चर्चित फिल्म ‘ब्यान्डिट क्वीन’ को सङ्गीत पनि दिएका थिए। त्यसबेला शेखर कपूरले भनेका थिए, ‘नुसरतसँग काम गर्नु ईश्वरको सबैभन्दा नजिक पुगेजस्तै थियो।’
- विदेशमा नाम कमाएर पाए, देशमा इज्जत
सन् १९८६ मा पाकिस्तानका राष्ट्रपति जनरल जिया-उल-हकले नुसरतलाई एक निजी कन्सर्टमा गाउनका लागि आमन्त्रित गरेका थिए। जिया इस्लामको कट्टर स्वरूपका समर्थक थिए जहाँ संगीतलाई धेरै राम्रो दृष्टिले हेरिँदैनथ्यो।
पाकिस्तानका जाने-माने मानवविज्ञानी र नुसरतका साथी एडम नायरले लेखेका थिए, ‘चर्चा यो थियो कि नुसरतलाई जनरल जियाकी छोरी जैनको स्पीच-थेरापीका लागि बोलाइएको थियो जसलाई बोल्नमा समस्या थियो। यो अफवाहलाई तब धेरै बल मिल्यो जब नुसरत र जैनको उपचार गर्ने मनोचिकित्सक दुवैलाई राष्ट्रपतिको विशेष पुरस्कारले सम्मानित गरियो।’
चाखलाग्दो कुरा, विदेशमा ख्याति पाएपछि मात्र उनलाई आफ्नै देश पाकिस्तानमा सम्मान मिल्न थाल्यो। उनले एकपटक एडम नायरलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘हाम्रो फैसलाबादमा धेरै राम्रो कपडा बन्छ तर मानिसहरू त्यसलाई तबसम्म किन्दैनन् जबसम्म त्यसमा ‘मेड इन जापान’ को छाप लाग्दैन। म यहाँका उच्च वर्गका लागि फैसलाबादको त्यो कपडा जस्तै हुँ।’
- सिएटल विश्वविद्यालयमा सङ्गीत सिकाए
सेप्टेम्बर १९९२ देखि मार्च १९९३ सम्म नुसरत फतह अलि खानले अमेरिकाको सिएटल युनिभर्सिटीमा सङ्गीत सिकाएका थिए। उनलाई नजिकबाट चिन्ने क्यालिफोर्निया युनिभर्सिटीकी प्रोफेसर हिरोमी लोरेन सकाताले आफ्नो लेख ‘रिमेम्बरिङ नुसरत’ मा लेखेकी थिइन्, ‘सिएटलमा ती दिनहरूमा नुसरत टी-सर्ट र जुत्ता लगाएर देखिन्थे। अक्सर उनलाई स्थानीय भारतीय र पाकिस्तानी किराना पसलहरूबाट किनमेल गरिरहेको देखिन्थ्यो। धेरै पटक अन्य ग्राहकहरूले उनलाई चिनेर उनीसँग कुरा गर्ने कोसिस गर्थे।’

‘उनको पाँच शयनकक्ष भएको घर सधैँ उनका साथीहरू, प्रशंसकहरू, र विद्यार्थीहरूले भरिएको हुन्थ्यो। नुसरतलाई यहाँको हल्का गुमनामी मन पर्थ्यो किनभने यहाँ उनले सबै कुरा गर्न सक्थे जसको उनले पाकिस्तानमा कल्पना पनि गर्न सक्दैनथे। उनी हप्तामा तीन दिन पढाउँथे र बाँकी दिन अमेरिकाका अलग-अलग सहरहरूमा शो गर्थे।’
- गायनको दायरा फराकिलो बनाए
संसारभर र पाकिस्तानमा गाएपछि पाएको अनुभवले नुसरतले आफ्नो गायनको दायरा फराकिलो बनाएका थिए।
उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘सुरुमा म आफ्ना बुबा र काकाजस्तै शुद्ध शास्त्रीय सङ्गीत गाउँथेँ। त्यसपछि मैले त्यसमा अलिकति स्वतन्त्रता लिन थालेँ र लोक सङ्गीत तथा सुगम सङ्गीतलाई पनि आफ्नो भण्डारमा समावेश गरेँ। मैले जानाजानी धेरै गम्भीर शास्त्रीय रचनालाई सजिलो बनाएँ ताकि सामान्य मानिसहरूले त्यससँग आफूलाई जोडिएको महसुस गर्न सकुन्। त्यसपछि मैले रोमान्टिक गीतहरू पनि गाउन सुरु गरेँ।’
धेरै वर्षसम्म लगातार गाएकाले नुसरतको स्वास्थ्यमा नराम्रो असर परिरहेको थियो। उनको खराब जीवनशैलीले पहिलेदेखि नै खराब स्वास्थ्यलाई झन् बिगार्यो।
सन् १९९३ मा अमेरिकामा भएको मेडिकल जाँचमा डाक्टरहरूले पत्ता लगाए कि उनलाई धेरै पटक मुटुको दौरा परिसकेको थियो जसको बारेमा उनलाई पत्ता पनि लागेको थिएन। उनको मिर्गौलाको अपरेसनपछि धेरै पत्थरीहरू निकालियो।

- हृदयाघातबाट मृत्यु
लाहौरमा नुसरत धेरै व्यस्त जीवन बिताउँथे। उनलाई धेरै सूफी मजारहरू र निजी महफिलहरूमा गाउनका लागि बोलाइन्थ्यो। उनलाई आफ्नी पत्नी नाहेद र छोरी निदासँग पनि समय बिताउने धेरै कम अवसर मिल्थ्यो।
सन् १९९५ मा उनको अन्तिम युरोप भ्रमणमा उनी धेरै बिरामी भएका थिए जसका कारण उनका धेरै शोहरू रद्द गरिए। सङ्गीत समीक्षकहरूले उनको ऊर्जामा बिस्तारै कमी आइरहेको टिप्पणी गरिरहेका थिए।
अगस्त ११, १९९७ मा उनी अमेरिकामा मिर्गौला प्रत्यारोपणका लागि लाहौरबाट अमेरिका जाने विमानमा सवार भए। बाटोमा उनको स्वास्थ्य बिग्रियो र उनलाई लन्डनको क्रोमवेल अस्पताल लगियो, जहाँ अगस्त १६ मा उनलाई हृदयाघात भयो। उनले मात्र ४८ वर्षको उमेरमा यस संसारलाई अलबिदा भने।
यो एउटा अनौठो संयोग थियो कि २० वर्षअघि, १९७७ मा यसै दिन सङ्गीतका अर्का ठुला हस्ती एल्विस प्रेस्लीको निधन भएको थियो।

- विश्वका पचास महान् गायकहरूको सूचीमा समावेश
सन् २००६ मा न्यूयोर्क टाइम्सले उनलाई बीसौं शताब्दीका साठी एसियाली हिरोहरूमध्ये एकको रूपमा चयन गर्यो ।
२००७ मा भारतीय पत्रिका आउटलुकले लेख्यो, ‘उनको मृत्युको एक दशकपछि पनि नुसरत संसारमा भारतीय उपमहाद्वीपका सबैभन्दा बढी प्रसिद्ध गायक हुन्।’
अमेरिकी नेटवर्क ‘नेशनल पब्लिक रेडियो’ (एनपीआर) का अनुसार, नुसरतको एल्विस प्रेस्लीको भन्दा पनि धेरै रेकर्ड बिके। एनपीआरले नै उनलाई विश्वका ५० महान् आवाजहरूको सूचीमा समावेश गर्यो।
सन् २००९ मा जब भारतीय फिल्म निर्देशक मिरा नायरलाई सोधियो कि यस्तो कुन गीत हो जसलाई उनी आफ्नो जीवनको साउन्ड-ट्र्याक बनाउन चाहन्छिन् ? तब उनको जवाफ थियो नुसरत फतह अली खानको ‘अल्ला हू’।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण