शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अध्यक्षमाथि भएको प्रहरी आक्रमणको सङ्घद्वारा विरोध, दोषीमाथि कारबाहीको माग

शनिबार, ०१ कात्तिक २०८२, १५ : २०
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • जनकपुरधाम उद्योग वाणिज्य संघले आफ्ना अध्यक्षमाथि प्रहरीको आक्रमणको विरोध गरेको छ।
  • प्रहरीले व्यापारीको सुन पसलमा छापा मारेर लुटपाट शैलीमा आक्रमण गरेको आरोप संघको छ।
  • आक्रमणबाट संघका अध्यक्ष घाइते भएपछि संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी दिइएको छ।

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले आफ्ना अध्यक्ष सुरेन्द्रकुमार भण्डारीमाथि प्रहरीद्वारा गरिएको साङ्घातिक आक्रमणको तीव्र निन्दा र विरोध गरेको छ । सङ्घले धनुषा प्रहरीले व्यापारी र सङ्घका पदाधिकारीमाथि ‘लुटपाट शैलीमा’ आक्रमण गरेको आरोप लगाउँदै संलग्न प्रहरी अधिकारीहरूलाई तत्काल निलम्बन गरी कानुनी कारबाही गर्न माग गरेको हो ।

सङ्घका अनुसार शुक्रबार साँझ करिब ६ः १५ बजे जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमको नेतृत्वमा गएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–५ स्थित संजय पायल ज्वेलर्समा कुनै पूर्व जानकारी वा कानुनी प्रक्रिया बिना छापा मारेको थियो ।

सङ्घले दिएको विवरणअनुसार प्रहरी टोलीले पसलमा रहेका चाँदी र सुनका गरगहना जबरजस्ती कब्जा गर्न खोजेको र पसल सञ्चालक सञ्जय ठाकुर तथा उनका परिवारले कानुनी प्रक्रिया पालना गर्न आग्रह गर्दा समेत टोली आक्रामक बनेर ठाकुरकी श्रीमतीमाथि समेत हातपात गरेको बताइएको छ ।

घटनास्थलमा पुगेका सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रहरीको कार्यशैलीमा आपत्ति जनाउँदै कानुनी प्रक्रिया अपनाउन आग्रह गर्दा उनीमाथि लाठी र बुट प्रहार गरिएको संघको दाबी छ । आक्रमणबाट भण्डारीको टाउको फुटेको र शरीरका विभिन्न भागमा चोट लागेर उनलाई मरणासन्न अवस्थामा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको, अहिले आइसियुमा उपचार भइरहेको सङ्घले जनाएको छ ।

सङ्घले भनेको छ, ‘अध्यक्ष भण्डारीमाथिको आक्रमण केवल एक व्यक्तिमाथिको होइन, सम्पूर्ण व्यवसायी समुदायमाथिको आक्रमण हो । प्रहरी प्रशासनले कानुनको मर्यादा मिच्दै व्यापारीहरूलाई आतङ्कित पारेको छ, जसले कानुनी राज्यको उपहास गरेको छ ।’

सङ्घले घटनाको सम्पूर्ण जिम्मेवारी डीएसपी गणेशबहादुर बम र घुमुवा प्रहरी मनोजकुमार यादवले लिनुपर्ने र उनीहरूलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन सुरु गर्न माग गरेको छ । साथै, प्रहरीद्वारा जबरजस्ती लुटेर लगिएका गरगहना तुरुन्तै फिर्ता गर्न पनि सङ्घले आग्रह गरेको छ ।

कात्तिक १२ गतेभित्र माग पूरा नभए चरणबद्ध आन्दोलन सुरु गरिने समेत सङ्घले चेतावनी दिएको छ । यस क्रममा बजार बन्द, विरोध प्रदर्शन लगायतका कार्यक्रम घोषणा गरिने तयारी भइरहेको सङ्घले जनाएको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साह र महासचिव फुलदेव पण्डितले हस्ताक्षर गरेको ज्ञापनपत्र गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा मधेस प्रदेश सरकारलाई पठाइएको छ ।

सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सुरक्षा दिनुपर्ने प्रहरीले स्वयं व्यापारीमाथि हातपात गर्ने र लुटपाट शैली अपनाउने कार्य सह्य छैन । मधेस प्रदेश सरकारले तत्काल हस्तक्षेप गरी व्यवसायी समुदायमा सुरक्षाको भरोसा जगाउनुपर्छ ।’

यस घटनापछि जनकपुरधामका व्यवसायीहरू आक्रोशित बनेका छन् । उनीहरूले दोषी प्रहरीमाथि कारबाही र व्यापारीहरूको सुरक्षाको ग्यारेन्टी माग गर्दै आन्दोलनका तयारी सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप