बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सन्दर्भ : कुकुर तिहार

मेरो जन्मदिनकै दिन मलाई एक्लै पारेर गयो

सोमबार, ०३ कात्तिक २०८२, ०६ : ३०
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • लेखकले पालेको कुकुर 'लोन्ली'को कथा, जसले परिवारको सदस्यको रूपमा जीवन बितायो।
  • लोन्ली सानैदेखि लेखकको जीवनको अभिन्न अंग बन्यो, दुःखमा साथ दियो, र मार्गभीको रक्षक बन्यो।
  • २०८१ माघ २८ गते लोन्लीको निधन भयो, लेखकले उसलाई अन्तिम समयमा साथ दिन सकेनन्।

त्यो दिन मलाई उस्तैगरी याद छ । २०६८ साल माघ महिना । भान्जीको जन्मले खुसीको माहौल । दिदीलाई बनेपाबाट सुत्केरी स्याहार्न ल्याएका थियौँ । भान्जीसँगै एउटा सानो, निरीह प्राणी हाम्रो संसारमा आइपुग्यो । दिदीकै घर छेउमा उसको पनि भर्खरै जन्म भएको रहेछ । दिदीकै सुझाव थियो त्यो– उसलाई पनि घर लैजाने भयौँ । 

उसका आँखा शान्त थिए, अपरिचित भाव थियो । लुभु (ललितपुर) ल्याएपछि ऊ बिस्तारै हामीसँग खुल्न थाल्यो । नजिकिन थाल्यो । अरू कुकुरहरूझैँ ऊ पनि सानोमा असाध्यै चकचके अनि चञ्चल थियो । नाम के राख्ने होला ? हामीलाई उसको नाम राख्नै एक हप्ता लाग्यो, अनि हामीले नाम दियौँ – ‘लोन्ली’ । 

लोन्ली अर्थात् ‘एक्लो’ तर उसले हामी पाएपछि कहिल्यै एक्लो हुनुपरेन, किनकि ऊ हाम्रो परिवारको सदस्य भइसकेको थियो । एउटा स्थायी घर पाइसकेको थियो । लोन्ली मेरा लागि केवल एउटा कुकुर थिएन, ऊ मेरो जीवनको हिस्सा थियो, मेरा हरेक सुख–दुःखको मौन साक्षी थियो । 

बफादार थियो ऊ ।

कैयौँ दिनसम्म बिनासहारा उठ्नसमेत सकेन ऊ । कति दिन त खाना नै नखाई बस्यो, औषधि–सिरिन्जकै भरमा ।

म नेपाल कमर्स क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययन गरिरहेको थिएँ । हामीले सँगै बिताएका वर्षहरूमा उसले मेरो जीवनका हरेक उतार–चढावलाई नजिकबाट हेरेको थियो । 

लोन्लीलाई घरमा ल्याएको करिब दुई–तीन हप्ता जति भएको थियो । एक जनाले बिनाकारण हामीसँगको रिस त्यो निरीह प्राणीमा पोखेछ । अम्बिका भाउजूको मुख हेर्दै, तथानाम बोल्दै ती व्यक्तिले ‘लोन्ली’लाई निक्कै परसम्म पुग्ने गरेर लात्ताले हानेर गएछन् । लोन्लीको ढाडै भाँचिएछ । 

कैयौँ दिनसम्म बिनासहारा उठ्नसमेत सकेन ऊ । कति दिन त खाना नै नखाई बस्यो, औषधि–सिरिन्जकै भरमा । बिस्तारै ऊ काँप्दै केही उठ्न खोजेजस्तो गर्न थाल्यो, खाना खोज्यो, म उसलाई समातेर खानासम्म पुर्‍याउँथेँ । कति दिन उसलाई समातेरै खुवाएँ । झन्डै २ देखि ३ हप्ताजति यसो गरेपछि ऊ तङ्ग्रयो । 

धेरैले मलाई ‘यो कुकुर अब ठिक हुँदैन, सुई लगाएर मारिदिए पनि हुने, बाटोमा आउने ट्रकको पछाडि राखेर पठाइदिए पनि हुन्छ’ भन्थे । तर मैले कसैलाई सुनिनँ । उसलाई माया गरिरहेँ । कहिलेसम्म सक्छु थाहा थिएन, तर साथ छोड्न सकेकै थिइनँ । ‘लोन्ली’ले बिस्तारै आफैँ खाना खान थाल्यो । 

ऊ भुक्थ्यो, कराउँथ्यो, तर ऊसँग शब्द त हुन्थेन । माया देखाउँथ्यो । उसको मायामा मलाई किन शब्द चाहियो र ? हरेक बिहान म काममा निस्कँदा ऊ गेटसम्म आएर उसका आँखाले मलाई बिदा गर्थ्यो । अनि साँझ जब म थकित भएर घर फर्कन्थेँ, दौडिँदै आउँथ्यो, उसको हल्लिरहेको पुच्छर देख्दा म दिनभरको थकान मेटाउँथेँ । 

म जुत्ता खोल्न लाग्थेँ, ऊ छेउमै आएर टाँसिन्थ्यो । म कहिलेकाहीँ गम्भीर भएर बसिरहेको हुन्थेँ, ऊ चुपचाप मेरो खुट्टाछेउ आएर पल्टिन्थ्यो । मानौँ, मेरा अधुरा सपना र नबोलिएका पीडाहरू उसले पनि बोकिरहेको थियो । 

समय बित्दै गयो, दाजुभाउजू दुई–तीन वर्षपछि घर फर्किनुभएको थियो, तर उसले टाढैबाट चिन्यो, पछ्यायो । कोठासम्मै पुग्यो । म आश्चर्यचकित भएँ ।

जीवनका कठिन पलहरूमा ऊ आत्मीय अनि गहिरो नाता भएको मेरो साथी थियो । कहिलेकाहीँ ऊ आफैँ बिरामी पर्थ्यो, शरीर कमजोर हुन्थ्यो, अस्पतालका चक्कर र औषधिको सहाराले उसले दुई–तीन पटक मृत्युलाई पनि जितेको थियो, ऊ पनि मलाई छोडेर जान तयार थिएन । ऊ हाम्रो परिवारको एक सदस्य भइसकेको थियो, उसको मायामा म दिनभर हराउँथेँ । आफैँलाई बिर्सिदिन्थेँ । 

समय बित्दै गयो, दाजुभाउजू दुई–तीन वर्षपछि घर फर्किनुभएको थियो, तर उसले टाढैबाट चिन्यो, पछ्यायो । कोठासम्मै पुग्यो । म आश्चर्यचकित भएँ । एउटा शब्दहीन प्राणीले मान्छेलाई गर्ने व्यवहार देखेर म व्याकुल हुन्थेँ । मान्छेसँग नजिकिँदा उसले गर्ने हरेक क्रियाकलापले मेरा आँखा भरिएर आउँथेँ, त्यसैत्यसै वाल्ल पथेँ म । 

दिदी–भान्जीहरू आउँदा पनि उसले त्यस्तै गर्थ्यो । मेरो बिहे भयो, छोरी जन्मिइन्, मार्गभी (छोरीको नाम) को जन्मसँगै हाम्रो घरको रौनकसँगै लोन्लीको भूमिका पनि बदलियो र ऊ अब मेरो मात्र साथी रहेन, एउटा अनुभवी र जिम्मेवार संरक्षक बन्न थाल्यो । 

मार्गभी आँगनमा खेल्थिन्, लोन्ली पनि उसकै वरिपरि नाच्थ्यो । सानैदेखि उत्सुक स्वभावकी मार्गभी लोन्लीलाई देखेर रमाउँथिन्, उसको पुच्छर तान्थिन् र उसलाई समात्न खोज्दै उसको पछि दौडिन्थिन् । तर लोन्ली सधैँ सजग र सतर्क रहन्थ्यो । मार्गभीसँग कहिल्यै कहिल्यै रिसाएन । जिम्मेवार थियो ऊ, मार्गभीलाई कहिल्यै कुनै चोट पुर्‍याएन । 

मार्गभीलाई माया त गर्थ्यो, केही कदम परै बसेर । ऊ हेरिरहन्थ्यो, रक्षा गर्थ्यो, तर छुँदैनथ्यो । मार्गभी उसलाई समात्न जति नजिक आउँथिन्, ऊ त्यति नै बिस्तारै पछि हट्थ्यो । तर उसका आँखामा डर थिएनन्, बरु जिम्मेवारी थियो । उसलाई थाहा थियो– कि मार्गभीको हरेक कदम र उत्साहमा मैले सन्तुलन गुमाउनु हुँदैन । सतर्क त्यस्तै थियो, अनुशासित पनि । 

लोन्लीले जीवनको करिब १४ वर्ष हामीसँग बिताइसकेको थियो, ऊ अब बुढो हुँदै थियो । २०८१ को भदौ । घरको गेट खुल्लै थियो । लोन्ली निस्केर बाहिर गएछ । बाहिरी कुकुरहरूसँग झगडा गरेर हिलाम्मे भएर फर्किएको रहेछ । 

उसको घाउबाट पर्सिपल्ट निकालिएको किरा देख्दा अहिले पनि मेरो मन दुख्छ, त्यसमाथि उसलाई लगाइएको सुई सम्झिँदा मेरो आङ नै सिरिङ्ग भयो । 

ऊ केही कमजोर देखिन्थ्यो, त्यसको दुई–तीन दिनपछि उसको घाँटी सुन्नियो । मैले नजिकै रहेको भेटेरेनरी डाक्टर कुशल बीसीलाई फोन गरेर बोलाएँ ।

बेलुका उहाँ आएर हेर्नुभयो, लोन्लीको घाउमा निकै किरा परिसकेछन् । झ्याप्ले कपालले छोपिएको उसको घाउले उसलाइै धेरै दुःख दिइसकेको रहेछ । धन्य ! डाक्टर कुशलले घाउ हेरेपछि भन्नुभयो, ‘अहो! दुई दिन ढिलो भएको भए त यो मर्ने रहेछ,’ म झसङ्ग भएँ । डर लाग्यो । 

उसको घाउबाट पर्सिपल्ट निकालिएको किरा देख्दा अहिले पनि मेरो मन दुख्छ, त्यसमाथि उसलाई लगाइएको सुई सम्झिँदा मेरो आङ नै सिरिङ्ग भयो । 

अनि मैले आफैँले आफैँलाई गाली गरेँ– कस्तो गैरजिम्मेवार भएको तँ 

जब म त्यो दिन याद गर्छु, आत्मग्लानिले मन पोल्न थाल्छ । झन्डै ८–९ चोटि ड्रेसिङ गरेपछि लोन्ली बिस्तारै निको हुँदै गयो । तर पहिलेजस्तो उसमा फुर्ती आए, लाग्यो– मान्छेको जीवन पनि यस्तै त होला नि !

लोन्लीको उत्तरार्द्ध क्षणहरू अत्यन्तै पीडादायी थिए । तीन–चार दिनदेखि ऊ साह्रै बिरामी थियो, खानसमेत छोड्यो, फेरि डाक्टर बोलाएँ । तर डाक्टरले ‘अब उपचारले काम गर्दैन’ भनेपछि मेरा आँखा रसाए । डाक्टरले सुझाए, ‘उसलाई दुःख नदिनू, ‘युथेनेसिया’ (सहज मृत्यु) दिनू ।’ 

त्यो शब्दले मेरो मुटु छियाछिया भयो । जसलाई मैले सानैदेखि हुर्काएँ, जसले पटक–पटक मृत्युलाई जितेर फर्कियो, उसलाई म कसरी मर्न दिन सक्छु ? मैले सकिनँ । मेरो मनले मानेन । मैले डाक्टरलाई भनेँ, ‘म त सक्दिनँ डाक्टरसाप त्यस्तो गर्न, ऊ जति दिन जिउँछ, जिउन दिऊँ । उसको ख्याल म आफैँ राख्छु ।’

त्यस दिनदेखि ऊ घरको गेट अगाडि चुपचाप सुतिरह्यो । औषधिले उसलाई छोएको थिएन, शरीर गलेको थियो, तर उसका आँखामा बफादारी झल्किरहन्थ्यो । 

त्यही आँगन, जहाँ ऊ मेरो प्रतीक्षामा सधैँ बस्थ्यो, जहाँ मार्गभीको रक्षक बनेर बस्थ्यो, जहाँ उसले आफ्नो सारा जीवन बिताएको थियो, ऊ त्यहीँ चुपचाप थियो, लम्पसार थियो ।

२०८१ साल माघ २८ गते म अफिसबाट थकित र बिरामी भएर फर्किएको थिएँ, कमजोर शरीर र भारी मन लिएर । त्यस दिन मेरो जन्मदिन पनि थियो । ‘लोन्ली घरको गेट अगाडि सुतिरहेको थियो । उसको आँखामा चिन्ता र माया देखेँ । मैले उसको टाउकोमा हात राखेर मलिन स्वरमा सोधेँ, ‘के भयो तँलाई ?’ तर उसका आँखा केही बोलिरहेका थिए, केही भनिरहेको थियो, जुन मैले सुन्न सकिनँ । म आफैँ अस्वस्थ थिएँ, माथिल्लो तलामा गएर पल्टिएँ । केही घण्टापछि ब्युँझिँदा लोन्लीलाई सम्झिहालेँ । अनि हत्तपत्त उसलाई हेर्न ओर्लिएँ । 

तर त्यही आँगन, जहाँ ऊ मेरो प्रतीक्षामा सधैँ बस्थ्यो, जहाँ मार्गभीको रक्षक बनेर बस्थ्यो, जहाँ उसले आफ्नो सारा जीवन बिताएको थियो, ऊ त्यहीँ चुपचाप थियो, लम्पसार थियो ।

र मलाई उसले सधैँका लागि छाडेर गयो, सायद बोल्थ्यो भने भन्थ्यो होला– मलाई गाह्रो भयो, म जान्छु होला, मलाई पानी देऊ । तर भगवानले उसलाई बोल्न नसक्ने बनाइदिए, उसको अन्तिम श्वासमा घरै हुँदा पनि छेउमा पर्न सकिनँ । 

तर सायद उसले थाहा पाएको थियो – म थकित छु, कमजोर छु, त्यसैले मलाई थप पीडा नदिई ऊ चुपचाप गयो । नामजस्तै, अन्तिम पलमा ऊ एक्लै थियो । मैले उसलाई प्राकृतिक रूपमा जिउन दिने निर्णय त गरेँ, तर उसले अन्तिम सासमा म नजिक हुन सकिनँ । 

लोन्ली अन्तिम क्षणमा एक्लै भयो । न त मैले मेरा हात उसको टाउकोमा थपथपाउन सकेँ, न त म उसलाई सम्हाल्न पुगेँ । उसको सम्झना, उसका निर्दोष आँखाका भावहरू म व्याख्या गर्न सक्दिनँ, कहिल्यै सक्दिनँ, त्यो सामर्थ्य मसँग छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विराट श्रेष्ठ
विराट श्रेष्ठ
लेखकबाट थप