बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहयोगका पर्खाइमा कलाकार निर्मोही

बुधबार, ०५ कात्तिक २०८२, ११ : ०४
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • लोकगायक कमल विके निर्मोही मिर्गौलाको समस्याका कारण नेपालगन्जमा उपचाररत छन्।
  • उनको उपचारका लागि 'तिहारका रङहरू' नामक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
  • स्थानीय कलाकार, शुभेच्छुक र क्लबले निर्मोहीको स्वास्थ्य लाभको कामना गर्दै सहयोगको आह्वान गरे।

बाँके । तीन दशकदेखि पश्चिम नेपालमा  श्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ । तीन दशकभन्दा बढी समय नेपाली लोक सङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहेका छन् । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी लामो समयदेखि नेपालगन्ज–१० स्थित आफ्नै घरको ओछ्यानमा सीमित छन् ।

कुनै बेला रेडियो कार्यक्रम सञ्चालन गर्दा जोसिलो आवाजले सबैलाई मोहित पार्ने निर्मोही अहिले धेरै बेर बोल्दा बोली पनि लरबराउँछ । स्वर अहिले पीडाले भरिएको छ । शरीर कमजोर भइसकेको छ । हिँडडुल गर्न सक्नुहुँदैन । रेडियो नेपाल र नेपालगन्जस्थित रेडियो बागेश्वरीसहित अन्य एफएमहरूमा उनले लामो समय काम गरे ।

निर्मोहीले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गरे । श्रोताको मन छुने लोकगीत गाएर स्थानीय कलाकारलाई पनि मञ्चमा ल्याउन सहयोग गरे । उनका गीतहरू पश्चिम नेपालको गाउँघरमा आज पनि गुन्जिन्छन् । उच्च रक्तचाप र सुगरले सताउँदै जाँदा, पछि मिर्गौलाले काम गर्न छोडेको उनले जानकारी दिए ।

‘विगत ६ महिनादेखि उपचारमै छु, तर आर्थिक अभावले उपचार निरन्तरता दिन सकिरहेका छैन’, कलाकार निर्मोहीले भने- ‘जीवनभर म बोलिरहेँ, अब सबै मौन छन्, मलाई सबैको माया चाहियो, जीवनका यी अन्तिम क्षणमा उपचारका लागि सहयोगको हात बढोस् ।’ 

उनको परिवारले सम्भव सबै प्रयास गर्‍यो, तर अब खर्च धान्न सक्ने स्थिति छैन । नेपालगन्जस्थित भेरी अस्पतालमा हप्तामा दुई पटक उनले डायलिसिस गर्दै आएका छन् । कलाकार निर्मोहीले आफ्ना साथी, शुभेच्छुक र देशभरका कलाकार, श्रोता र दाताहरूसँग सहयोगको आग्रह गरे ।

दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही हाल नेपालगन्जमा बस्दै आएका छन् । कलाकार निर्मोहीको योगदानको कदर गर्दै निर्मोहीलाई सम्झने वातावरण बनाउनेदेखि उपचारमा सहयोग जुटाउने प्रयासमा आफूहरू लागिपरेको स्थानीय बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाहले बताए ।

निर्मोहीलाई सहयोगार्थ ‘तिहारका रङहरू’ 

मिर्गौला रोगबाट पीडित कलाकार कमल विके निर्मोहीको सहयोगार्थ नेपालगन्जमा ‘तिहारका रङहरू’ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

बागेश्वरी असल शासन क्लबको आयोजनामा उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले तिहारका मौलिक संस्कृति र मान्यतालाई प्रवद्र्धन गर्दै गए राति ‘तिहारका रङहरू’कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सामूहिक देउसी, भैलो, सांस्कृतिक प्रस्तुति, नृत्य, नाटकलगायत प्रस्तुतिहरू गरिएको थियो । स्थानीय फरक फरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको उक्त कार्यक्रममा अस्वस्थ अवस्थामै पुग्नुभएका कलाकार निर्मोहीले सहयोगी हातहरू अघि बढेको देख्दा खुसी लागेको बताए ।

कार्यक्रममा गायक सुनिलसिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाईं, कलाकार श्यामानन्द सिंह, जितबहादुर थापा, सन्तोष सोतीमगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनरअप सुरज सिञ्जालीमगर, डान्सर रुविना अधिकारी, मौसमी रानामगर, आरुसी मगर र एक्टिङ स्टार नवीना रानाभाटलगायतको प्रस्तुति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप