मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादी बाहेकले जेनजीका मागहरू पूरा गर्दैनन् : प्रचण्ड

‘अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो’
बुधबार, ०५ कात्तिक २०८२, १९ : ४२
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • प्रचण्डले आफू अध्यक्ष पदमा रहिरहनु पर्ने सोच नभएको बताए, राष्ट्र बचाउन त्याग गर्न तयार रहेको उल्लेख गरे।
  • उनले मधेसमा जेनजी युवाहरूको सहभागितामा आयोजित कार्यक्रममा नयाँ युगको सुरुवात भएको घोषणा गरे।
  • प्रचण्डले देश संकटमा रहेको र राष्ट्रिय सहमतिको खाँचो रहेको बताउँदै, ६०० भन्दा बढीलाई पार्टीमा स्वागत गरे।

महोत्तरी । नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमा अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताएका छन् । 

महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका हुन् । 

“अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन । राष्ट्र बचाउनु नै मुख्य हो । आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु,”उनले भने, तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन । अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन ।”

प्रचण्डले सम्बोधनमार्फत पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पार्नुभयो। देशमा परिवर्तित समयमा मधेसमा जेनजी युवाहरू सहितको सहभागितामा आयोजित कार्यक्रम भव्य भएको र कार्यक्रममा ठुलो जनसहभागिता र पार्टी प्रवेशले पार्टी पंक्तिलाई उत्साहित गरेको बताए । उनले नयाँ युगको सुरुवात भएको घोषणा समेत गरे ।

संयोजक प्रचण्डले आफू जेनजी आन्दोलनपछिको नयाँ अवस्था र पहिलोपटक मधेसमा आयोजित ठुलो कार्यक्रममा सहभागी भएको बताउँदै भने,“हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा हामी जेनजी थियौँ। आजको दिनमा मधेसमा पहिलो पटक ६०५ जना जेनजी युवाहरूसहित माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो।”

“अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ । अरूले जेनजीका मागहरू पूरा गर्दैनन् । माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ ।”

संयोजक प्रचण्डले देश सङ्कटमा रहेको भन्दै राष्ट्रिय सहमतिको खाँचोमा जोड दिए ।सो अवसरमा उनले जेनजी युवासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ६ सयभन्दा बढीलाई पार्टीमा स्वागत गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप