बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषमा ९३ अर्ब सङ्कलन, २५ लाख बढी श्रमिक आबद्ध

शुक्रबार, ०७ कात्तिक २०८२, १३ : ४६
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुग्यो।
  • कोषमा २२ हजार ७६ रोजगारदाता संस्था आबद्ध छन् भने गत वर्ष ८ लाख ८२ हजार ९ सय ४६ नयाँ श्रमिक थपिए।
  • कोषले अहिलेसम्म ९३ अर्ब रुपैयाँ सङ्कलन गरेको छ र स्वास्थ्य सेवा विस्तारमा जोड दिइएको छ।

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको सङ्ख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। कोषमा आबद्ध हुने योगदानकर्ता र रोजगारदाताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कोषले जनाएको छ। 

हालसम्म २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध भएका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९ सय ४६ नयाँ श्रमिक सूचिकृत भएका थिए।

कोषमा औपचारिक क्षेत्रका ६ लाख ४० हजार श्रमिक आबद्ध छन् भने अनौपचारिक क्षेत्रका ७९४ श्रमिक मात्र सहभागी छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकहरू १९ लाख ३४ हजारभन्दा बढी आबद्ध भएका छन्। सरकारको बाध्यात्मक व्यवस्थाका कारण उनीहरू प्रक्रिया पुर्‍याउन कोषमा जोडिए पनि नियमित योगदान भने कम हुने गरेको छ।

कोषले अहिलेसम्म योगदानकर्ताबाट ९३ अर्ब रुपैयाँ सङ्कलन गरिसकेको छ। यो रकम धेरैजसो बैंकमा राखेर ब्याज लिइएको छ। सामाजिक सुरक्षा ऐनअनुसार यो रकम उत्पादनशील क्षेत्रमा लगाउनुपर्थ्यो।

कोषका प्रवक्ता कृष्ण अधिकारीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन १०७ स्वास्थ्य संस्थासँग समन्वय गरिएको र स्वचालित सेवा प्रणाली जडान गरिएको बताए। उनले अब योगदानकर्ताको परिवारमा समेत स्वास्थ्य सेवा विस्तार भएको र अस्पतालमा भर्ना भएर गरिने उपचारमा १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको जानकारी दिए। 

कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप