‘परानमाथि प्रिमियम मूल्यको कन्फिडेन्स छ, रिलिजपछि मात्रै अन्तर्राष्ट्रिय राइट्स बेच्छौँ’
सारांश
- रञ्जित आचार्यको फिल्म 'परान' आउँदैछ, ३५ वर्षको विज्ञापन अनुभवपछि फिल्म निर्माणमा प्रवेश।
- आचार्यले गोल्छा ग्रुपका अध्यक्षसँग सहकार्य गरी फिल्म निर्माण गरेका हुन्, जसले व्यावसायिकतालाई जोड दिन्छ।
- 'परान' बाबुछोराको सम्बन्ध र नेपाली मौलिकतामा आधारित कथा हो, जसले दर्शकलाई आकर्षित गर्ने विश्वास छ।
काठमाडौँ । नेपाली विज्ञापन क्षेत्रमा ३५ वर्ष लामो अनुभव सँगालेका रञ्जित आचार्य फिल्म निर्माताको रुपमा आउँदैछन् । उनी निर्मित पहिलो फिल्म ‘परान’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । प्रिज्मा एड्भर्टाइजिङका सञ्चालक समेत रहेका आचार्यले यो फिल्म निर्माणमा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छासँग सहकार्य गरेका छन् ।
उनले गोल्छासँगको सहकार्यमा आठ वर्ष अगाडि फिल्म निर्माणका लागि ‘बाइसकोप सिनेमा’ स्थापित गरेका थिए । तर अहिले आएर संयोग मिलेको हो । सिर्जनात्मक बजार विस्तार, दीर्घकालीन र व्यवस्थित व्यवसायका लागि फिल्म निर्माण गरेको आचार्य बताउँछन् । फिल्म रिलिजको पूर्वसन्ध्यामा निर्माता आचार्यसँग रातोपाटीकर्मी कुवेर गिरी र शंकर अर्यालले फिल्म, सिर्जनात्मक अर्थतन्त्रको सम्भावना र व्यवसायिकताको विषयमा केन्द्रित रहेर गरेको अन्तरवार्ताको सम्पादित अंश :
विज्ञापन क्षेत्रमा काम गर्दै आउनुभएको तपाईँ एकाएक फिल्म निर्माणमा देखिनुभयो त ?
म ३५ वर्षदेखि विज्ञापनको सिर्जनात्मक क्षेत्रमा क्रियाशील छु । यससँगै ‘नेपाली तारा’ लगायत ठुला टेलिभिजन कार्यक्रम प्रोडक्सन (उत्पादन)को काममा संलग्न थिएँ । यसरी प्रोडक्सनमा मेरो रुचि र व्यावसायिक संलग्नता पहिलेदेखि नै थियो ।
करिब आठ वर्षअघि मैले र शेखर गोल्छाजीले फिल्म निर्माणलाई नेपालमा पनि व्यावसायिकता, ‘प्रोफेसनल्ली प्रोडक्सन कम्पनी’ जस्तो संरचना दिएर अगाडि बढाउन सकिन्छ कि भन्ने सोच बनायौँ । सन् २०१७ मा हामीले ‘बाइसकोप सिनेमा’ दर्ता पनि गर्यौं । सन् २०१८ मा एउटा प्रोजेक्ट सुरु गरे पनि विभिन्न कारणले त्यो अघि बढ्न सकेन ।
_P3b5vTuuaY.jpg)
अहिले हामीले फेरि त्यसलाई अगाडि बढाउने अवसर पाएका छौँ । ‘परान’ फिल्ममार्फत हामी फिल्म क्षेत्रमा प्रवेश गरेका मात्रै हौँ, यो थप अघि बढ्छ ।
फिल्म निर्माण नै रोज्नुको मुख्य कारण के हो ?
सिनेमा क्षेत्रमा आउनुको दुई प्रमुख कारण छन् । एउटा सिर्जनात्मक पाटो हो, जहाँ चलचित्रमार्फत सकारात्मक सन्देश र सामाजिक विकृतिलाई उजागर गर्न सकिन्छ । अर्को विशुद्ध व्यावसायिक पाटो हो । नेपालीहरू विदेशिएका कारण नेपालमा धेरै उत्पादनको बजार सङ्कुचित हुँदै गएको छ । तर मनोरञ्जन क्षेत्रको बजार भने बढ्दैछ । हाम्रो दर्शक हराएका होइनन्, उनीहरूले स्थान परिवर्तन मात्र गरेका हुन् । विदेशमा रहेका नेपाली दर्शकले स्वदेशमा रहेकाले भन्दा तीन गुणा बढी तिर्छन् । त्यसैले यो क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि बढाए राम्रो प्रतिफल आउन सक्छ भन्ने मेरो सोच हो ।
‘परान’को अवधारणा कसरी आयो ?
हामी के चाहन्छौँ भने हाम्रो फिल्मले नेपालको पर्यटनलाई सघाओस्, मौलिकता बोकोस् र मनोरञ्जनका साथै केही सन्देश पनि दियोस् । हामीले बनाउने फिल्मले ‘बाइसकोप सिनेमा’ले पृथक भएर काम गर्दोरहेछ भन्ने छाप दर्शकमा परोस् ।
हाम्रो पहिलो प्रोजेक्ट अगाडि बढ्न नसकेपछि राम्रा कथाहरूको खोजीमा थियौँ । लगभग १४–१५ महिनाअघि निर्देशक दीपक आचार्यजी मकहाँ आउनुभयो । उहाँले कथाको ‘वान लाइनर’ सुनाउनुभयो, जुन मलाई चित्त बुझ्यो । मैले उहाँलाई स्पष्ट भनेँ, ‘वान लाइनर त राम्रो छ, तर स्क्रिप्ट र कथावस्तु पूरा सुनाउनुहोस् ।’ उहाँले सबै सुनाउनुभयो, जुन चित्तबुझ्दो थियो । आइडिया मन परेपछि मैले एउटा सर्त राखेँ, ‘यदि यसलाई बनाउने क्रममा हामीले पटकथामा कुनै हेरफेर वा परिमार्जन गर्नुपर्यो भने तपाईँ तयार हुनुहुन्छ ?’ उहाँ तयार हुनुभयो । त्यसपछि हामीले ‘परान’ को काम सुरु गर्यौं ।
‘परान’को कुन कुराले तपाईंलाई आकर्षित गर्यो ?
‘परान’को कथा बाबुछोराको सम्बन्ध र एउटा परिवारको कथा हो । म दाबीका साथ भन्न सक्छु कि यो कथा एकदमै समसामयिक छ र मौलिक नेपालीपन बोकेको छ । फिल्म हेर्ने हरेक दर्शकले ‘यो त मेरो कथा हो’ भन्नु हुनेछ । यसमा नेपालीको पीडा, नेपालीको खुसी र नेपालीको नै सन्देश छ । यही मौलिकतामा म आकर्षित भएँ । म दाबीका साथ भन्छु यसले सबैलाई आकर्षित गर्छ ।
पहिलो प्रोजेक्ट असफल भएपछि बिचमा प्रयास भएन ?
थुप्रै प्रोजेक्टहरूका कुरा आए । कतिपय चाहिँ निर्माणको चरणमा धेरै अगाडि बढिसकेपछि आए, जसमा हाम्रो सिर्जनात्मक योगदान हुन नसक्ने भएकाले हामीले अस्वीकार गर्यौं । त्यस्तै कतिपय प्रस्तावहरू विशुद्ध व्यावसायिक लाभका लागि मात्रै थिए ।
हामी के चाहन्छौँ भने हाम्रो फिल्मले नेपालको पर्यटनलाई सघाओस्, मौलिकता बोकोस् र मनोरञ्जनका साथै केही सन्देश पनि दियोस् । हामीले बनाउने फिल्मले ‘बाइसकोप सिनेमा’ले पृथक भएर काम गर्दोरहेछ भन्ने छाप दर्शकमा परोस् ।
नयाँ निर्देशकसँग काम गर्नुभयो । कति चुनौती देख्नुभएको छ ?
चुनौती छ, हामीले जोखिम लिएका हौँ । तर दीपक आचार्यजी जस्तो स्थापित कलाकारले आफ्नो करिअर दाउमा लगाएर निर्देशनको चुनौती लिँदै हुनुहुन्छ भने उहाँले १०० प्रतिशत मेहनत गर्नुहुन्छ भन्ने सकारात्मक सोच मैले बनाएँ । उहाँमा कमजोरी सुन्न सक्ने क्षमता र प्रतिबद्धता थियो ।

मैले उहाँलाई भनेको छु- ‘यो तपाईंको पहिलो प्रोजेक्ट हो । यो फेल भयो भने तपाईंको अर्को प्रोजेक्ट आउँदैन । तपाईँले मेहनत गर्नुपर्छ ।’ उहाँले इमानदारिताका साथ शतप्रतिशत दिनुभएको छ । यसको अर्को राम्रो पक्ष, यसको कथावस्तु यति सशक्त छ कि सानातिना गल्तीहरूलाई पनि दर्शकले सहजै पचाइदिनुहुन्छ किनभने कथाको भावनात्मक प्रवाहले दर्शकलाई समातिराखेको हुन्छ ।
नेपालका धेरै फिल्मका लगानी डुबेका छन् । यो थाहा पाउँदा पाउँदै पनि किन रोज्नुभयो ?
फिल्ममा लगानी डुबेका मात्र होइन, करोडौँ कमाएका उदाहरण पनि छन् । यो निर्माता वा निर्देशकको नियतमा भर पर्छ । सौख पूरा गर्न आएको हो कि व्यावसायिक रूपमा निरन्तरता दिन आएको हो ।
हामी चाहिँ दीर्घकालीन सोचसहित आएका हौँ । हामीले यो फिल्म चल्छ कि चल्दैन, नाफा वा नोक्सान के हुन्छ भन्नेबारे धेरै सोचेका छैनौँ । घाटा पनि हुन सक्छ । तर वर्षको तीनवटा सिनेमा बन्यो भने एउटाले घाटा दिँदा अर्कोले फाइदा गरेर कभर गर्दिएला भन्ने सोच छ ।
हामी लगानी उठाउने मात्र होइन, स्क्रिन राइटरदेखि प्रोडक्सन म्यानेजरसम्मका व्यक्तिहरूलाई रोजगारीमा राखेर चौबीसै घण्टा प्रोडक्सनमा काम गर्ने योजनाका साथ आएका छौँ । यदि कुनै ‘भेस्टेड इन्ट्रेस्ट’का साथ आउँदा लगानी बालुवामा पानी हुन्छ, तर हामी विशुद्ध व्यावसायिक भएर आएका छौँ, जहाँ प्रोडक्टलाई उत्कृष्ट बनाउन हामी सबैको संयुक्त प्रयास छ, म आफैँ पनि यसमा संलग्न छु ।
_f6rS4pAilS.jpg)
अहिले हाम्रो दोस्रो प्रोजेक्टको स्क्रिप्टिङ भइरहेको छ, त्यसको कथा शेखर गोल्छाजीको हो । उहाँले आफैँले कथा सुनाउनुभयो । यसले देखाउँछ कि उहाँलाई पनि कथा बुन्ने रुचि छ । हामीले कुनै फिल्म डुब्न लागेर रेस्क्यु गर्न आएका होइनौँ । हामीले एउटा प्रोपर बिजनेस प्लान र फिजिबिलिटी गरेर यो मनोरञ्जन क्षेत्रको व्यावसायिक अवसर देखेर आएका हौँ ।
विज्ञापनमा थुप्रै चर्चित कलाकारसँग सहकार्य भएको छ । यसमा पनि जोड्न सक्नुहुन्थ्यो नि, यसो किन गर्नु भएन ?
विज्ञापनको सिलसिलामा राजेश हमाल, मदनकृष्ण, हरिवंश लगायत सबै स्टारहरूसँग काम गरिसकेको छु । फिल्ममा हाम्रो सिद्धान्त कथाले मागेको पात्रलाई प्राथमिकता दिने हो । यसका कुनै पनि कलाकारले ‘मेरो रोल कत्रो लामो छ’ भनेर सोध्नुभएको छैन । कथा सुन्नुभयो र पात्रको आवश्यकता अनुसार काम गर्नुभएको छ ।
तपाईंको फिल्म भएकाले प्रचारप्रसार त विशेष होला नि ?
हामीले सबै तरिकाबाट प्रचार गरिरहेका छौँ । एकातर्फ टिकटक इन्फ्लुएन्सर प्रयोग गरेर गीतलाई भाइरल बनाउने काम गरेका छौँ । परम्परागत होर्डिङ बोर्ड, क्रिकेट विज्ञापन प्रयोग गरेका छौँ । हामीले नवराज पराजुलीको कविता प्रयोग गरेर कौतुहलता जगाउने टिजर बनाएका छौँ । ट्रेलर लन्चको दिनमा क्यूआर कोड सहितको टी–सर्ट लगायतका प्रमोटरहरूले दर्शकलाई सिधै फेसबुक पेजमा पुर्याउने काम गरेका छौँ । हालसालै १ लाख पुरस्कारको ‘मेरो परान’ क्याम्पेन लन्च गरेका छौँ । फिल्मका लागि दर्शक हलमा बोलाएर देखाउनुपर्ने भएकाले नयाँ र परम्परागत दुवै शैलीको उपयोग गरिरहेका छौँ ।
रिलिजसम्म फिल्मको लगानी कति पुग्छ ? अनि जोखिम कति ?
हाम्रो लगानी ४ करोड छुन्छ होला । यो अलि महँगो हुनुको कारण हामीले सबै फाइनान्सियल डिलिङ्सहरू पूर्ण पारदर्शी गरेका छौँ । हरेक पेमेन्टमा टीडीएस काटेर बुझाएका छौँ, जुनियर आर्टिस्टलाई पनि प्यान नम्बर अनिवार्य गराएका छौँ । त्यसो नगरेको भए ७०–८० लाख जोगिन्थ्यो । तर हामीले जोगाएनौँ । किनभने हामी सिनेमा चलाउन वा कमाउन होइन, क्षेत्रमा व्यावसायिकता र सुशासन स्थापित गर्न आएका हौँ ।
हालसम्म हामीले अन्तर्राष्ट्रिय राइट, डिजिटल राइट वा ओटीटी प्लेटफर्मलाई केही पनि बेचेका छैनौँ । हामीले रणनीतिक रूपमा यो अधिकार रोकेका छौँ । पहिला सामान हलमा देखाउँछौँ, दर्शकको प्रतिक्रियापछि अरु च्यानलसँग कुरा गर्छौं ।
अहिले राइट नबेच्नु भोलि प्रिमियम प्राइसमा बेच्न सकिन्छ भन्ने कन्फिडेन्स हो कि ?
एउटा कन्फिडेन्स त्यो पनि हो । अर्को चाहिँ बिजनेसको इथिक्स । तपाईंलाई एउटा उदाहरण भनौँ । मैले एउटा मोटरसाइकल बनाउँदैछु, तपाईँले एउटा किन्दै हुनुहुन्छ भनेँ तपाईँले मोटरसाइकल देखेर टेस्ट ड्राइभ गरेर किन्नुभयो भने तपाईँले कस्तो प्रोडक्ट पाएँ भन्न थाहा हुन्छ । राम्रो प्रोडक्टलाई राम्रै मूल्य तिर्न तयार हुनुहुन्छ । तर सामान नै नदेखाई पैसा तिर्न भनेँ भने तपाईँले तिर्नुहुन्छ, तिर्नुभयो भने पनि कम तिर्नुहुन्छ । किनभने त्यहाँ जोखिम छ ।
विगतमा माओवादी आन्दोलन र जनआन्दोलन हुँदा पनि दसैँ–तिहार जस्ता सांस्कृतिक चाडपर्वका लागि युद्धविराम हुन्थ्यो । यसले के देखाउँछ भने नेपालीहरूको जीवन मनोरञ्जनसँग जोडिएको छ । त्यसैले मनोरञ्जनको क्षेत्र वा यसको आवश्यकता कहिल्यै पनि सकिँदैन, यो रहिरहन्छ ।
त्यसैले प्रोडक्ट देखाएपछि हुने कारोबारमा दुवैको विन–विन भयो । अहिले हामी रिस्क मिनिमाइज गरिदिएका छौँ । नेपालमा चलेपछि वितरकलाई पनि ‘यो सिनेमाबाट म यति पैसा उठाउन सक्छु’ भन्ने कन्फिडेन्स हुन्छ । यो भएपछि त्यही अनुसार पैसाको अफर आउँछ । हामीलाई पनि ‘मेरो प्रोडक्टको यति मात्रै भाउ लगाएँ’ भन्ने पछुतो मान्नुपर्ने अवस्था रहँदैन ।
बदलिँदो विषम परिस्थितिमा फिल्म रिलिज गर्न लाग्नुभयो, व्यावसायिक अपेक्षा कस्तो छ ?
कुनै पनि विपत् वा आर्थिक मन्दीको बेला समाजमा सबैभन्दा पहिला मानिसको चिन्ता आधारभूत आवश्यकतामा हुन्छ । त्यो भनेको खाना, सुरक्षित बसोबास र स्वास्थ्य । यी तीन आवश्यकता पूरा भएपछि चौथो आवश्यकता भनेको मनोरञ्जन नै हो ।
नेपाली समाजमा त यो आवश्यकता झन् बढी छ । विगतमा माओवादी आन्दोलन र जनआन्दोलन हुँदा पनि दसैँ–तिहार जस्ता सांस्कृतिक चाडपर्वका लागि युद्धविराम हुन्थ्यो । यसले के देखाउँछ भने नेपालीहरूको जीवन मनोरञ्जनसँग जोडिएको छ । त्यसैले मनोरञ्जनको क्षेत्र वा यसको आवश्यकता कहिल्यै पनि सकिँदैन, यो रहिरहन्छ । तपाईँले नयाँ लुगा किन्न छोड्नुहोला, तर घुमघाम गर्न, साथीभाइ जमघट गर्न वा फिल्म हेर्न छोड्नुहुन्न । त्यसैले यदि तपाईँले यो विधामा राम्रो काम गर्न सक्नुभयो भने यो क्षेत्र मर्दैन । यही कारणले गर्दा नै हामी यो क्षेत्रलाई व्यवसायीकरण गर्नुपर्छ भनेर लागेका हौँ ।
भारतमा पनि सन् ९० को मध्यतिर सिनेमा क्षेत्र यस्तै थियो । तर बिस्तारै केही कम्पनीहरूले आफूलाई व्यावसायिक बनाए, ठूलठूला घरानाहरूलाई भित्र्याए । आज यसराज फिल्म्स (वाईआरएफ) वा धर्मा प्रोडक्सन जस्ता कम्पनीहरूले ठूला कर्पोरेट कम्पनीहरूले जस्तै काम गर्छन् । उनीहरूसँग सीईओ छन्, क्रिएटिभ डाइरेक्टर छन् ।
व्यवसायीकरण भएको कारणले नै त्यहाँको बजार २५ करोडबाट एक्कासि २५० करोडको भयो र अहिले २ हजार करोडसम्म पुगेको छ । जसरी–जसरी व्यवसायीकरण हुँदै गयो, विकृतिहरू हराउँदै गए र व्यावसायिक दृष्टिकोणले अगाडि बढ्ने बाटो खुल्यो । यहाँ कसैले व्यावसायिक रुपमा काम गरेकै छैन । यो क्षेत्रलाई व्यावसायिक बनाउन सक्यौँ भने नेपाली सिर्जनात्मक अर्थतन्त्रको भविष्य उज्ज्वल छ ।
शेखर गोल्छासँग सहकार्य गरेर प्रोजेक्ट गर्नुभयो । व्यवसायीहरु त हरेक कुरामा नाफाघाटाको हिसाब गर्छन् भन्ने छ । यसमा उहाँको व्यावसायिक लगानी हो कि भावनाको लगानी ?
हरेक व्यक्तिको पछाडिपट्टि कतै न कतै कलाकार लुकेको हुन्छ । शेखर गोल्छाजीको बुवा आफैँ साहित्यकार भएकाले उहाँलाई कथा भन्न रुचि छ । तर यो लगानी विशुद्ध सौख पूरा गर्न होइन । उहाँले यसमा अवसर देख्नुभएको छ, जसरी मैले देखेको थिएँ । यो मनोरञ्जनको विधा झन् ठुलो हुँदै गइरहेको छ ।
दर्शकहरूले १०० करोडमा बनेको फिल्मसँग हाम्रो ४/५ करोडमा बनेको फिल्मको तुलना गर्नुहुन्छ । यसको समाधान गुणस्तरमा आक्रामक भएर काम गर्नु र मौलिकतामा जोड दिनु हो । यो अवस्थामा हामीले साउथ इन्डियन वा बलिउड जस्तो फिल्म बनाउँछु भनेर त्यतातिर दौडिनु हुँदैन ।
हामीले यसलाई अन्य उद्योग व्यवसाय चलाएजस्तै हिसाबले हेरेका छौँ । यहाँ घाटा लाग्न सक्छ, तर उत्पादन रोकिन्न । उहाँले नै लेख्नुभएको कथामा हाम्रो दोस्रो प्रोजेक्टको स्क्रिप्ट तयार भइरहेको छ । हामी लामो अवधिको योजनासहित आएका छौँ । जहाँ जोखिमका बाबजुद निरन्तरता दिने प्रतिबद्धता छ ।
३५ वर्ष सिर्जनात्मक क्षेत्रमा काम गरिसकेको मान्छे, फिल्मबाट धेरै सिकियो भन्नुभयो । विज्ञापन सेक्टर र फिल्ममा कति फरक ?
विज्ञापन क्षेत्रको प्रोडक्सन अहिले एकदमै प्रोफेसनल भइसक्यो । सुटिङ अगाडि नै लुक टेस्ट, स्टोरी बोर्ड र प्रि-प्रोडक्सनका धेरै चरण पार हुन्छन् । तर फिल्ममा अहिले पनि त्यो स्तरको प्रोफेसनलिज्म छैन । अझै पनि ‘भइहाल्छ नि’ भन्ने अव्यावसायिक मनोवृत्ति बाँकी रहेछ । त्यो व्यावसायिकतालाई फिल्म क्षेत्रमा ल्याउनु आवश्यक छ ।
नेपाली फिल्मको बजार बलिउड, हलिउडको भन्दा धेरै नै सानो छ । फेरि क्वालिटीमा उनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ नि ?
यो चुनौती हो । दर्शकहरूले १०० करोडमा बनेको फिल्मसँग हाम्रो ४/५ करोडमा बनेको फिल्मको तुलना गर्नुहुन्छ । यसको समाधान गुणस्तरमा आक्रामक भएर काम गर्नु र मौलिकतामा जोड दिनु हो । यो अवस्थामा हामीले साउथ इन्डियन वा बलिउड जस्तो फिल्म बनाउँछु भनेर त्यतातिर दौडिनु हुँदैन ।
यदि हामीले हाम्रो मौलिकता प्रस्तुत गर्न सक्यौँ, हाम्रो माटोको कथा बताउन सक्यौँ भने दर्शकले स्वीकार्छन् । जस्तो, ‘पूर्णबहादुरको सारङ्गी’मा धेरै त्रुटि भएपनि दर्शकले त्यसलाई पचाइदिए । किनभने त्यो हाम्रो माटोको कथा थियो । भारतमा ‘कान्तारा’ बन्न सक्छ भने नेपालमा लाखे, भैरव वा कुमारीको कथालाई हामीले झिक्न सक्नुपर्छ । हामीसँग बुद्धको कथा छ, सीताको कथा छ । संस्कृतिसँग जोडिएर परिष्कृत रूपमा कथा पस्किन सक्यो भने चुनौतीलाई जित्न सकिन्छ ।
नेपाली फिल्म विदेशी बजारसम्म पुर्याउन सक्ने सम्भावना कस्तो देख्नुहुन्छ ?
नेपाली फिल्मलाई विदेशी बजारसम्म डब गरेर लैजान सकिने सम्भावना छ । तर यो पूर्ण रूपमा सुरुमै फिल्म बनाउँदा त्यो सोचिएको छ कि छैन भन्ने कुरामा निर्भर गर्छ । यदि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्ने हो भने कथावस्तु र त्यसको परिवेश सोही अनुसारको बनाउनुपर्ने हुन्छ । उदाहरणका लागि आमिर खानको ‘दंगल’ फिल्म चीनमा चल्यो र हजार करोडको व्यापार गर्यो । किनभने चीनमा पनि मार्शल आर्टसँग सम्बन्धित फिल्म एकदमै चल्छ । उनीहरूले यो फरक खालको मार्शल आर्टको कथालाई डबिङ गर्दा चीनमा रुचाउन सक्ने सम्भावना देखे र बेचे । जसले ठुलो व्यापार गर्यो ।
हामीले अहिले बनाएको ‘परान’को कुरा गर्ने हो भने नेपालीभाषी वा भारतीय मूलका मान्छेहरूले त अवश्य हेर्छन्, किनभने कथा उनीहरूको पनि हो । तर यसलाई डबिङ गरेर साउथ इन्डियामा लिएर जान सकिन्छ कि सकिँदैन त्यो थाहा छैन । साउथ इन्डियाका दर्शकले नेपालको गाउँसँग कसरी रिलेट गर्छन् भन्ने थाहा छैन । यद्यपि कथाको भावनासँग भने अवश्य रिलेट गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण