बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कुलत

मदिरा बन्दैछ राउटेको काल !

मङ्गलबार, ११ कात्तिक २०८२, १९ : ००
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • राउटे समुदायका पुजारी भक्तबहादुर शाहीको निधन भयो, जसले गर्दा समुदायको जनसंख्या १३५ मा झरेको छ।
  • समुदायमा मदिरा सेवनका कारण मृत्युदर बढ्दो छ, र परियोजनाले यसलाई रोक्न प्रयास गरे पनि सफल भएको छैन।
  • राउटे परियोजनाका कर्मचारीले मदिरा सेवन रोक्न सरकारी भत्ताको विकल्प र स्पष्ट नीति आवश्यक रहेको बताएका छन्।

सुर्खेत । कात्तिक ६ गते राउटे समुदायका पुजारी भक्तबहादुर शाही (रास्कोटी)को निधन भयो । उनी ७१ वर्षका थिए । उनी राउटे समुदायका सबैभन्दा वृद्ध रहेको राउटे परियोजनाका कर्मचारी बताउँछन् ।

यस्तै भदौ ३० गते २३ वर्षीय गोविन्द शाही (सोमवंशी)को मृत्यु भएको थियो । त्यसअघि वैशाख १५ गते मध्यरात राउटे मुखिया सूर्यनारायण शाहीको ४९ वर्षको उमेरमा मृत्यु भयो ।

दक्षिण एसियाकै लोपोन्मुख राउटे समुदायभित्र वैशाख यतामात्र ५ जनाको मृत्यु भयो, जसमा अधिकांशको मृत्युको प्रमुख कारण हो– अत्यधिक मदिरा सेवन । यो वर्षमात्र होइन, यसअघि पनि मदिराकै कारण धेरै राउटेले ज्यान गुमाएका छन् ।

०८१ असोजमा २२ वर्षीय राउटे युवा वृषबहादुर शाहीको पनि अत्यधिक मदिरा सेवनकै कारण मृत्यु भएको थियो ।

राउटे समुदायमा केन्द्रित राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीले पनि मदिरा सेवन नै राउटेको मृत्युको मुख्य कारण बनेको रातोपाटीलाई बताए ।

‘धेरैजसोको मृत्यु मदिराकै कारणले हो,’ खत्रीले भने । सरकारले दिने नगद भत्ताले अधिकांश राउटे मदिरा सेवनको लतमा परेको उनको भनाइ छ ।

परियोजनाले राउटे बस्ती नजिकका पसलहरूमा मदिरा विक्री वितरण नगर्न आग्रह गर्ने, राउटेहरूलाई भेला गरेर मदिराका बेफाइदाबारे सचेत गराउनेजस्ता कार्य गरिरहे पनि प्रभावकारी हुन सकेको छैन । खत्रीले भने, ‘जति सम्झाइबुझाइ गरे पनि उनीहरू मान्दैनन्, मदिरा खान छोड्दैनन् । सरकारी भत्ता नरोकिएसम्म गाह्रै छ ।’

  • एक वर्षदेखि जनसंख्या स्थिर

राउटे परियोजनाका अनुसार राउटेको जनसंख्या विगत एक वर्षदेखि स्थिर छ । वैशाख यता ५ जनाको मृत्यु हुँदा उत्तिकै संख्यामा जन्म पनि भएको छ ।

खत्रीका अनुसार निधन भएका ५ जनामध्ये एक युवा, दुई वृद्ध र दुई बालबालिका छन् । तीमध्ये एक महिला र बाँकी सबै पुरुष हुन् ।

कात्तिक ६ गते भक्तबहादुर शाहीको निधन भएसँगै हाल राउटे समुदायको कुल जनसंख्या १३५ छ । ०८१ असोज ३ गते २२ वर्षीय वृषबहादुर शाहीको निधन भएपछि राउटेको जनसंख्या १३४ मा झरेको थियो । त्यसयता जन्म र मृत्यु बराबर छ ।

राउटे परियोजना सुरु हुँदा २०७५ सालमा राउटेको जनसंख्या १४७ थियो । ०७५ असारदेखि ०८१ असोजसम्म यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको छ । यस्तै, ०८० कात्तिकमा राउटे समुदायका महामुखिया ६६ वर्षीय महिनबहादुर शाहीको मृत्युपछि राउटेको संख्या १४१ थियो । त्यसपछि एक वर्षको अवधिमा राउटे समुदायका ६ जनाको ज्यान गयो । विगत एक वर्षदेखि जन्म र मृत्यु बराबर हुँदा १३४ र १३५ मा जनसंख्या सीमित रहेको राउटे परियोजनाले जनाएको छ ।

राउटे परियोजनाका कर्मचारी खत्रीका अनुसार राउटेहरू औषधि उपचारमा खासै विश्वास गर्दैनन् भने पोषणयुक्त खानाको कमी, बालबालिकाको हेरचाह नहुनु, बिरामीको हेरचाह नहुनु, भगवानको भरोसामा परेर उपचार नगर्ने प्रवृत्ति लगायतका कारणले गर्दा राउटे समुदायमा मृत्युदर बढिरहेको छ । बालबालिकाको उचित हेरचाह नहुँदा सानैमा मृत्यु हुने गरेको छ । जन्मदर कम भएको र मृत्युदर बढी भएकाले जनसंख्या घट्दै गइरहेको खत्री बताउँछन् ।

उनका अनुसार जन्मदर न्यून छ । समुदायमा अहिले एकल महिला धेरै छन् । राउटेमा एकल महिलाले दोस्रो बिहे गर्दैनन् । अर्कोतिर यौवन उमेरका युवाले विवाहका लागि युवती पाएका छैनन् । यो समुदायभित्र रास्कोटी, कलेल र सोमवंशी छन् । ०६५ सालमा पहिलो पटक सामाजिक सुरक्षा भत्ता दिने बेला राउटेको जनसंख्या १६८ थियो । त्यसयता जनसंख्या बढ्नुको सट्टा निरन्तर घट्दो क्रममा छ ।

  • परियोजना लागु भए पनि मदिराको लत किन रोकिएन ?

राउटे परियोजना लागु भएको ७ वर्ष पुग्यो । यहाँ अन्य थुप्रै सामाजिक संघसंस्था तथा एनजीओ, आईएनजीओदेखि सरकारी निकायले समेत राउटेको मदिरा लतका विषयमा कुरा उठाइरहेका हुन्छन् । यद्यपि राउटेमा मदिराको लत भने कायम छ ।

राउटे परियोजनाका कर्मचारी खत्रीका अनुसार, समुदायको जीवनशैली सुधारका लागि परियोजनाले विभिन्न पहल गरिरहेको छ । परियोजना लागु भए यता राउटेहरूको दैनिकीमा सकारात्मक परिवर्तन आएको खत्रीले बताए ।

पहिले बस्तीभित्रै दिसापिसाब गर्ने उनीहरूमा अहिले बाहिर जाने, हप्तामा एकपटक नुहाउने, कपडा धुने, नङ काट्ने, हात धोएरमात्रै खाना खाने, बस्तीको सरसफाइ गर्ने र बाहिर जाँदा चप्पल–जुत्ता लगाउने जस्ता बानी विकास भएको छ । यद्यपि मदिराको लत न्यूनीकरणमा भने कठिनाइ भएको उनको भनाइ छ ।

‘हामीले मदिरा नखानुस्, यसले ठुलो असर गर्छ भनेर सम्झाइबुझाइ गर्छौं,’ खत्रीले भने, ‘कहिलेकाहीँ प्रहरीलाई समेत ल्याएर सम्झाउने प्रयास गरेका हुन्छौँ, तर उनीहरू मान्दै मान्दैनन् ।’

राउटेमा आएको पछिल्लो बदलाव भनेको बालबालिका पढाइमा अग्रसर हुनु हो । बालबालिकामा पढ्ने रुचि भए पनि समुदायका मुखियाहरूले पढ्न नदिने समस्या छ ।

बालबालिकाहरू लुकिछिपी नाम लेख्ने, कखरा, वान–टु जस्ता अक्षरहरू लेख्ने प्रयास गर्छन् । मुखियाहरूले भने बालबालिकालाई रुचि छैन भन्न लगाउने र पढ्नु हुँदैन भन्ने गरेको खत्रीले जानकारी दिए ।

खत्रीले राउटे समुदायलाई जोगाउन र उनीहरूको जीवनस्तर सुधारका पहल गर्नुपर्ने विभिन्न विषय सुझाएका छन् । राउटे समुदायमा एउटा अस्थायी प्रहरी चौकी आवश्यक रहेको उनले बताए । ‘राउटे बस्ती नजिक एक अस्थायी प्रहरी चौकी निर्माण गरिनुपर्छ,’ उनले भने ।

दोस्रो, नगदको सट्टा रासन दिनुपर्छ । हाल दिइँदै आएको नगद सामाजिक सुरक्षा भत्ताको सट्टा रासन (खाद्यान्न), लत्ताकपडा, खसीबाख्रा, पोषणयुक्त खानेकुराहरू वितरण गरिनुपर्ने उनको भनाइ छ ।

खत्रीले नगद भत्ता दिएकै कारण उनीहरू बिग्रिएको धारणा राखे । राउटे समुदायका लागि सरकारले प्रस्ट नीति बनाउन जरुरी रहेको उनले बताए ।

सरकारले राउटे समुदायका लागि नीति नबनाएसम्म परियोजना र अन्य निकायको प्रयासले मात्र पूर्ण सफलता पाउन नसक्ने खत्रीको भनाइ छ । अहिले कर्णाली प्रदेश सरकारले राउटे नीति ल्याउने तयारी गरिरहेको छ । सम्भवतः यही वर्ष नीति पास हुने अपेक्षा गरिएको उनले बताए ।

राउटेहरू आफूलाई जंगलको राजा भन्दछन् । उनीहरू जंगलमै आश्रित हुन्छन् । उनीहरू काठका भाँडाकुँडा बनाएर बेच्दै जीविकोपार्जन गर्दथे । स्थायी बसोबास, लेखपढ र खेतीपाती उनीहरूको जीवनबाट धेरै टाढाका विषय हुन् । यो समुदायको आफ्नै कानुन छ । कर्णाली र सुदूरपश्चिमका विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको आफ्नै परम्परा, संस्कृति छ ।

पछिल्लो समय राउटेलाई परिवर्तनका नाममा एनजीओ/आईएनजीओहरूले चामल, त्रिपाल दिन थाले । शान्ति प्रक्रियापछि राउटे समुदायमा एनजीओ÷आईएनजीओको प्रवेश भएको हो । पहिले गैरराउटेलाई उनीहरूको बस्तीमा प्रवेश निषेध थियो । समुदायमा केही समस्या हुँदा मुखियाहरू नै अघि सर्थे ।

सुरुमा युएनडीपीले राउटेको सम्मान, संस्कार, सामाजिक सुरक्षा तथा भत्ताका लागि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसँग कुरा राखेको थियो । विभिन्न सञ्चारमाध्यममा उक्त कुरा आएपछि राउटेको रूपान्तरणका नाममा थुप्रै सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले आवेदन दिए ।

राउटेकै नाममा अहिले पनि थुप्रै सङ्घसंस्था छन् । कोही सरसफाइका नाममा, कोही सामाजिक सुरक्षाका नाममा राउटे समुदायभित्र प्रवेश गरे । जब एनजीओ÷आईएनजीओहरू प्रवेश गरे, राउटेमाथि बाहिरी मान्छेको जबर्जस्ती हस्तक्षेप बढ्यो । जसले गर्दा राउटेहरू कमजोर बन्दै गए । आफ्नो स्वार्थका लागि उनीहरूलाई मदिरामा लिप्त बनाइयो, फोटो र भिडियो खिच्ने काम गरियो । सुरुसुरुमा राउटे जुन कुरा चाहँदैन थिए, सामाजिक परिवर्तनका नाममा त्यही कुरा लिन बाध्य पारियो । शान्ति प्रक्रियापछि राउटेमा विभिन्न नाममा ठुलो लगानी भए पनि प्रतिफल भने शून्यप्रायः छ । हाल राउटे समुदाय सुर्खेतको लेकबेसी नगरपालिका चिसापानीमा बसोबास गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप