राजीनामा दिने घोषणा गरेका राप्रपाका सांसदले बुझे असोजको तलब, भत्ता र सुविधा
सारांश
- कोशी प्रदेश सभामा राप्रपाका सांसदले राजीनामा घोषणा गरे पनि तलब लिएको पाइएको छ।
- सचिवालयका अनुसार सांसदहरूले राजीनामा नदिएकाले तलब भत्ता रोकिएको छैन, र स्वकीय सचिवको पनि तलब गएको छ।
- राप्रपाले प्रदेश खारेजीको माग गरे पनि, राजीनामाको घोषणापछि पनि तलब भत्ता लिएको विषय आलोचनाको विषय बनेको छ।
विराटनगर । कोशी प्रदेश सभामा प्रतिनिधित्व गरेका राप्रपाका सबै सांसदले यसअघि राजीनामा घोषणा गरे पनि तलब तथा सुविधा लिएको पाइएको छ ।
कोशी प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले असोजको तलब सुविधा सबै सांसदको खातामा गइसकेको बताए । ‘कोही पनि सांसदले राजीनामा दिनुभएको विषय हामीकहाँ आएको छैन,’ उनले भने, ‘राजीनामा नआएपछि तलब भत्ता रोक्ने कुरा पनि भएन । अरु विषय हामीलाई धेरै थाहा छैन ।’
कोशीमा राप्रपाका ५ जना प्रदेश सांसद र सभामुख अम्बरबहादुर विष्टले यसअघि राजीनामाको घोषणा गरेका थिए । प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव अमात्यका अनुसार सबै सांसदका स्वकीय सचिवको तलब, सुविधा पनि खातामा गइसकेको छ ।
‘प्रदेशको कानुन अनुसार हामीले दिने हो । कि त सरकारले कानुनमा रहेको अनुसूचीको व्यवस्था खारेज गर्नुपर्यो । होइन भने हामीले रोक्न सक्दैनौँ,’ उनले भने ।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गठित सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेको थियो, जस अनुसार सबै सांसदका स्वकीय हटाउने उल्लेख छ ।
कोशी प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा स्वकीयको खर्चमा ३ करोड ७४ लाख ७६ हजार ३३० रुपैयाँ बजेट गएको छ । कोशी प्रदेशमा ९३ सदस्यीय प्रदेश सभा छ ।
गत भदौ २३ गतेको जेनजी विद्रोहका क्रममा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले व्यापक दमन गर्नुका साथै ठुलो मानवीय क्षति भएपछि राप्रपाले २४ गते बैठक बसेर संघीय संसद् र प्रदेश सभाका सबै सांसदले राजीनामा दिने घोषणा गरेको थियो ।
‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ,’ राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।
गत असोज १ गते रातोपाटीसँगको कुराकानीका क्रममा पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरूले राजीनामा दिने घोषणा गरिसके पनि औपचारिकता दिनमात्रै बाँकी रहेको बताएका थिए । ‘सांसदहरूले राजीनामा दिने घोषणा गरिसकेकै छ, त्यसलाई औपचारिकता दिनमात्रै बाँकी हो । सबै साथीहरूले प्रक्रिया पुर्याएर दिइहाल्नुहुन्छ,’ उनले भनेका थिए ।
राप्रपाले प्रदेश खारेजीको माग गर्दै आएको छ । यद्यपि प्रदेशको सांसद, मन्त्री र सभामुखसमेत भएर तलब भत्ता बुझेको भन्दै राप्रपाकै कतिपयले आलोचनाको विषय बनाउने गरेका छन् । त्यसमा पनि राजीनामाको घोषणा गरिसकेर तलब–भत्ता लिनु पार्टी निर्णयको पालना नभएको सो पार्टीका कार्यकर्ता बताउँछन् । ‘राजीनामा दिएको घोषणा गरेपछि त्यसको कार्यान्वयन हुनुपर्छ,’ राप्रपा मोरङका नेता पर्शु सुवेदी भन्छन्, ‘प्रदेशका सांसदले त झन् छिटो दिनुपर्छ ।’
यद्यपि कोशी प्रदेशकी राप्रपा सांसद सविना बजगाईले जेनजी आन्दोलनको क्रममा आफूहरूको घर सबै जलेको भन्दै तत्काल राजीनामा नदिने बताइकी थिइन् । ‘पार्टीले विज्ञप्ति निकाले पनि हामीले अहिलेसम्म राजीनामा बुझाएका छैनौँ,’ उनले भनिन्, ‘हाम्रा घरहरू क्षतिविक्षत भएका छन्, तोडफोड र आगजनी भएको छ । गरगहना सबै लुटिएको छ । अहिले घरमात्रै ठाडो छ, अरु केही छैन । मेरो घरमा पनि लुटपाट भयो । केही समय संसदमा बस्नुपर्छ कि भन्ने पनि छ हाम्रो ।’
कोशी प्रदेशमा राप्रपाका ५ जना सांसद छन् । जसमा भक्तिप्रसाद सिटौला, सविना बजगाई, गोपालबहादुर विश्वकर्मा, निमसरी राजवंशी र प्रेमराज थामसुहाङ छन् । त्यसबाहेक अम्बरबहादुर विष्ट भने सभामुख छन् ।
यस्तै राप्रपाले कोशी प्रदेशका मात्रै नभएर सातै प्रदेशका गरी २८ जना प्रदेश सांसदको राजीनामा घोषणा गरेको थियो । कोशीमा सभामुखसहित ६ जना सांसद रहेको राप्रपाको बागमतीमा १३ जना, लुम्बिनीमा ४ जना, गण्डकीमा २ जना, मधेसमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना सांसद छन् । बागमतीका सभामुख भुवनबहादुर पाठकले भने असोज १ गते नै राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
-
केप भर्डेका गोलकिपर वोझिन्हाकी आमालाई दिइयो विश्वकपका लागि भिसा
-
ईभी काण्डमा संसदीय छानबिन समिति गठन गर्न एमालेको माग
-
अन्तरजातीय विवाह व्यक्तिगत प्रेमकथाको इतिहास मात्र होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण