शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘२५ वर्ष नखोजेको माओवादीले अहिले मलाई खोजिरहेको छ, मलाई पार्टी होइन, न्याय चाहियो’

'हामीले समयमै कमजोरी सच्याउन सकेनौँ भने हाम्रो बलिदान व्यर्थ जानेछ’
मङ्गलबार, ११ कात्तिक २०८२, २१ : ००
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • काठमाडौंमा जेनजी युवाको विरोध प्रदर्शन र राज्यको गोली प्रहारबाट दर्जनौंको मृत्यु भयो।
  • किशोरी कार्कीले घाइते युवालाई मोटरसाइकलमा अस्पताल पुर्‍याएपछि चर्चा पाइन्, तर नयाँ सरकारले उनलाई निराश बनाएको छ।
  • कार्कीले आफ्नो बेपत्ता बुबाको न्याय खोज्दै, जेनजी आन्दोलन, सरकारको कार्यशैली र संवैधानिक सुधारको बहसको बारेमा कुराकानी गरिन्।

विराटनगर । भदौको २३ र २४ गते राजधानी काठमाडौंका सडकहरूमा हजारौँ जेनजी युवाले विद्रोह गरे । २३ गते राज्यले गरेको अन्धाधुन्द गोली प्रहारबाट दर्जनौं युवाको ज्यान गयो, कैयौं घाइते भए । आन्दोलनमा सामान्य समर्थन गर्न हिँडेकी किशोरी कार्की पनि फिल्डमै थिइन् । त्यही बिचमा आफू छेउको एक युवकलाई गोली लाग्यो । ठाउँको ठाउँ ढलेका उनलाई टपक्क टिपेर मोटरसाइकलमा हालेर उनले हस्पिटल पुर्‍याइन्  र ती युवाले जीवन दान पाए । 

किशोरीले गोलाबारीबिच गोली लागेका युवालाई मोटरसाइकलमा बोकेर हस्पिटल लगेको दृश्य सामाजिक सञ्जालमा फैलियो, एकाएक उनी सेलिब्रेटी बनिन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको त्यो जेनजी विद्रोहले उनी सेलिब्रेटी मात्रै भइनन्, सरकार नै ढल्यो, नयाँ सरकार बन्यो । 

तर आन्दोलनको गर्भबाट जन्मिएको नयाँ सरकार र त्यसपछिको राजनीतिक घटनाक्रमले किशोरीलाई सन्तुष्ट बनाउन सकेको छैन । बरु, उनीभित्रको आक्रोश र निराशाको पारो झनै चढेको छ । यो आक्रोशको जरा उनको व्यक्तिगत जीवनको गहिरो घाउमा लुकेको छ । उनका बुबा हिमालकाजी कार्कीलाई तत्कालीन राज्यसत्ताले माओवादी भएको नाममा २०५८ मंसिर १५ गते उदयपुर कटारीको डोल्मा रेस्टुरेन्टबाट पक्राउ गरेर बेपत्ता बनायो । 

ओखलढुंगा चिसंखुगढी भदौरेमा जन्मिएकी कार्की त्यसबेला २२ महिनाकी मात्र थिइन् । त्यही बेला उनकी आमा पशुपति बस्नेतलाई पनि पक्राउ गरेर १७ महिना जेल हालियो । मावलका हजुरबा हजुरामासँग त्यो समय बिताएकी उनले आफू मावलमा बस्नु परेको कारण धेरै पछि मात्रै थाहा पाइन् । त्यसपछि उनी अहिले पनि बेपत्ता बनाइएका आफ्ना बुबालाई खोजिरहेकी छन् । 

उनै कार्कीसँग जेनजी विद्रोह, वर्तमान अवस्था, नयाँ सरकारको कार्यशैली, पुराना दलहरूप्रतिको वितृष्णा, संवैधानिक सुधारको बहस र आफ्नो व्यक्तिगत संघर्षका अनेकौं विषयमा कुराकानी गरेका छौँ । 

तपाईं जेनजी आन्दोलनको एक प्रमुख अनुहार हुनुहुन्छ । एउटा सानो मागबाट सुरु भएको आन्दोलनले सत्ता नै पल्टाउला भन्ने सोच्नुभएको थियो ? त्यो उभार र अहिलेको परिस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

– सुरुमा हामी एकदमै सानो र स्वाभाविक माग लिएर सडकमा आएका थियौं । हाम्रो १३ देखि २८ वर्षको युवा समूह, जो विज्ञान र प्रविधिको युगमा हुर्कियौं, उनीहरूका लागि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध ठुलो अन्याय थियो । कतिपय साथीहरू फ्रिल्यान्सिङ गरेर जीविकोपार्जन गरिरहनुभएको थियो, कतिले देश–विदेशका सूचना र ज्ञान त्यहीँबाट लिइरहेका थिए । त्यसैले हाम्रो पहिलो र मुख्य माग त्यही थियो । 

सँगसँगै, हामीले देशमा व्याप्त भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नातावाद र कृपावाद (नेपो किड्स) विरुद्ध पनि आवाज उठायौँ । यी विभिन्न एजेन्डाहरूले हामीलाई सडकमा एकताबद्ध गरेको थियो । तर, आज फर्केर हेर्दा मन कटक्क खान्छ । 

हाम्रो माग एउटा थियो, तर आन्दोलनले जुन मूल्य चुकायो, त्यो कल्पनाभन्दा बाहिरको थियो । हाम्रा १४–१५ वर्षका भाइहरू, स्कुल ड्रेस लगाएका बच्चाहरूले गोली खाएर सहादत प्राप्त गरे । त्यो दृश्यले हामीलाई हल्लाइदियो । तर, यत्रो बलिदानपछि पनि हामीले के पायौं त ? मलाई दुःखका साथ भन्नुपर्छ, यो आन्दोलन अहिले एउटा केटाकेटीको खेल जस्तो भइरहेको छ । गुडिया नकिन्दिएको निहुँमा झगडा गरेजस्तो स–साना कुरामा जेनजीभित्रै विवाद र गुटबन्दी भइरहेको छ । हामीभित्र राजनीतिक परिपक्वता, सांगठनिक ज्ञान र दूरदृष्टिको कमी देखियो ।

तपाईंले भन्न खोज्नुभएको जेनजी आन्दोलन अहिले दिशाहीन र विभाजित भयो भन्ने हो ? यसको कारण के देख्नुहुन्छ ?

– हो, त्यस्तै देखिन्छ । अहिले एउटाले एउटा पार्टी खोल्ने, अर्कोले अर्को पार्टी खोल्ने होडबाजी चलेको छ । यो पार्टी–पार्टी कुद्ने बेला होइन । हाम्रो आन्दोलनको मुख्य उद्देश्य पुरानै नीति र व्यक्तिलाई हटाएर फेरि त्यस्तै अर्को व्यवस्था ल्याउनु थिएन । 

हामी नयाँ प्रणाली, नयाँ सोँच र नयाँ संस्कार चाहन्थ्यौं । जेनजी भनेको केवल उमेर समूह होइन, यो एउटा भाव हो, एउटा ऊर्जा हो । हामी नयाँ जोश, जाँगर र समृद्धिको सपना बोकेर आएका थियौं । तर, अहिलेको अवस्थाले त्यो सपनामाथि नै प्रश्न उठाएको छ । 

एउटा राम्रो समूह बनाउने, विज्ञ र अनुभवी सल्लाहकार राख्ने, अनि साझा एजेन्डामा अगाडि बढ्ने हो । तर यहाँ त लिडरको पछाडि कुद्ने प्रवृत्ति हाबी भयो, जबकि यहाँ त कोही स्थापित लिडर नै छैन । म आफैं पनि लिडर होइन, मैले त केवल एउटा अभियान्ताको रूपमा सहयोग गरेको थिएँ । हाम्रो यो विभाजनले पुराना शक्तिहरूलाई नै फाइदा पुगिरहेको छ । हामीले समयमै यो कमजोरीलाई सच्याउन सकेनौँ भने हाम्रो बलिदान व्यर्थ जानेछ । 

तपाईंको राजनीतिक सक्रियता र आक्रोशको पछाडि तपाईंको पारिवारिक पृष्ठभूमि र व्यक्तिगत भोगाइको पनि ठुलो भूमिका छ भनिन्छ नि । त्यो के हो ?

– मेरो जीवनको सबैभन्दा ठुलो उत्प्रेरणा र सबैभन्दा ठुलो पीडा नै मेरो परिवारको कथा हो । म जम्मा २२ महिनाकी थिएँ, जब राज्यद्वारा मेरा बुबालाई बेपत्ता बनाइयो । त्यसको केही समयपछि माओवादीको शंकामा मेरी आमालाई पनि १७ महिना जेलमा राखियो । म हजुरबुबा–हजुरआमासँग हुर्किएँ । सानो छँदा मलाई केही थाहा थिएन । कसैले ‘तिम्रो बाबा खोइ ?’ भनेर सोध्दा, आमाले ‘काठमाडौंमा हुनुहुन्छ’ भन्नुहुन्थ्यो । म त्यो बेलाको नोकिया फोनमा ‘फोनमा बोलाइदिनुस् न’ भनेर रुन्थें, जिद्दी गर्थें । 

kishori-photo2

आमा जेलबाट छुटेपछि उहाँले मलाई पहाडको घरबाट विराटनगर ल्याउनुभयो र बोर्डिङ स्कुलमा पढाउनुभयो । उहाँ राति राति स्कुल पढाउन जानुहुन्थ्यो, बिहानै खाना पकाएर हडकेसमा राखिदिनुहुन्थ्यो । म त्यही खाएर दिन बिताउँथें । सत्य निरुपण तथा मेलमिलाप आयोगजस्ता ठाउँहरूमा आमाले मलाई औंला समातेरै लानुहुन्थ्यो । त्यहाँ उहाँ ‘कि सास चाहियो, कि लास चाहियो’ भनेर रोएको, चिच्याएको देखेरै म हुर्किएकी हुँ । आज २५ वर्ष भयो, मैले न्याय पाएकी छैन । त्यही पीडा र अन्यायको अनुभूतिले मलाई कानुन पढ्न प्रेरित गर्‍यो, ताकि म जस्ता हजारौं पीडितहरूको आवाज बन्न सकूँ । 

त्यो जनयुद्धको नेतृत्व गर्ने माओवादी दल वा त्यसका नेताहरूले तपाईंको परिवारलाई कहिल्यै सम्पर्क गर्ने वा सहयोग गर्ने प्रयास गरे ?

– कहिल्यै गरेनन् । राज्यले दिएको १० लाख क्षतिपूर्तिबाहेक हामीले केही पाएनौं । कहाँ छन् बेपत्ता पीडित भनेर कसैले खोजेनन् । के खाँदैछन्, कसरी बाँचेका छन् भनेर कसैले सोधेनन् । तर, अहिले जब जेनजी आन्दोलनपछि म अलिकति चिनिएँ, मेरा भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भए, तब विभिन्न पार्टीका मान्छेहरू फोन गर्न थालेका छन् । ‘कहाँ हुनुहुन्थ्यो तपाईं यत्रो वर्ष ? अब मिलेर अघि बढ्नुपर्छ’ भन्छन् । यो सरासर स्वार्थ होइन र ? 

मेरो आमाले एक्लै दुःख गरेर मलाई हुर्काउँदा कोही आएनन्, अहिले म आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मलाई कसैको सहारा चाहिँदैन । यदि साँच्चै केही गर्न चाहनुहुन्छ भने, मलाई होइन, देशभर छरिएर रहेका ती हजारौं बेपत्ता र सहिदका परिवारलाई सहयोग गर्नुहोस् । उनीहरूको आर्थिक अवस्था दयनीय छ, छोराछोरीको पढाइ रोकिएको छ । उनीहरूको काम हेर्छु, अनि मात्र सम्मान गर्छु । यो मेरो उहाँहरूलाई च्यालेन्ज पनि हो । 

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारको कामकारबाहीलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? तपाईंले अपेक्षा गरेअनुसार काम भएको छ ?

– यो सरकार र पुरानो सरकारमा मैले तात्विक भिन्नता देखेको छैन, जुन सबैभन्दा दुःखद कुरा हो । प्रधानमन्त्रीज्यू आफैं पूर्व प्रधानन्यायाधीश, न्याय क्षेत्रबाट आउनुभएको व्यक्तित्व हुनुहुन्छ । हामीले एउटी आमा पायौं, अब देशले न्याय पाउँछ, देश सुध्रिन्छ भनेर धेरै खुसी भएका थियौं । तर, उहाँले नै अन्याय गर्नेहरूको साथ दिइरहनुभएको जस्तो देखिन्छ । मन्त्रिपरिषद् गठन तेस्रो पटकसम्म पनि पूरा हुन सकेको छैन । विवादास्पद पात्रहरूलाई नियुक्ति गर्ने, अनि दबाब आएपछि शपथ ग्रहणअघि नै नाम काट्ने । यो त ‘मिडिया ट्रायल’ जस्तो भयो । अहिले देश विदेशी दलाल र एनजीओ/आईएनजीओले चलाइरहेका छन् भन्ने गम्भीर आरोपहरू छन् । यस्तो लाग्छ, सरकारले पूरै हात उठाएको अवस्था छ । आफ्नो देशका सहिद र घाइतेको रगतसँग डराउनु नपर्ने, तर विदेशीको दबाबमा डराएर निर्णय गर्नुपर्ने ? यो कस्तो विडम्बना हो ? अमेरिकी एम्बेसीबाट सरकार चलाउने हो र ? 

अहिले देशमा संविधान परिवर्तनका विषयमा ठुलो बहस चलिरहेको छ । जस्तैः प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक प्रणाली खारेजी, प्रदेश संरचनाको औचित्य, र धर्मनिरपेक्षता । यी विषयमा तपाईंको व्यक्तिगत धारणा के हो ?

– यी सबै विषयहरूमा गम्भीर बहस र पुनर्विचार आवश्यक छ । हाम्रो पहिलो माग नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो । जनताले सोझै आफ्नो प्रधानमन्त्री चुन्न पाउनुपर्छ । सांसदहरूले मन्त्रीमण्डल बनाउने र भत्काउने खेलले देशलाई अस्थिर बनायो । दोस्रो, प्रदेश संरचना पूर्ण रूपमा खारेज हुनुपर्छ । यसले केवल भ्रष्टाचार र अनावश्यक खर्च बढाएको छ । तेस्रो, संवैधानिक निकायहरूमा हुने राजनीतिक भागबण्डा र भ्रष्टाचार बन्द हुनुपर्छ । र, सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । जहाँसम्म धर्मनिरपेक्षताको कुरा छ, यो विषयलाई जनमत संग्रहमा लैजानुपर्छ भन्ने मलाई लाग्छ । जनताले जे चाहन्छन्, त्यही हुनुपर्छ । यो संविधानले जनताको भावनालाई पूर्ण रूपमा समेट्न सकेको छैन, त्यसैले यसमा व्यापक सुधारको आवश्यकता छ । र यो सुधारको प्रक्रिया तत्काल सुरु गर्न अन्तरिम संविधान जारी गर्नुपर्छ । 

जेनजी आन्दोलनका घाइते र सहिद परिवारको अवस्था कस्तो पाउनुभयो ? काठमाडौं र बाहिरको अवस्थामा केही फरक छ ?

– एकदमै दयनीय अवस्था छ, विशेषगरी काठमाडौं बाहिर । सरकार र आन्दोलनका अगुवाहरूले पनि काठमाडौंमा भएकालाई मात्रै समेटेका रहेछन् । म विराटनगर, इटहरी, झापाका जिल्लाहरूमा पुग्दा देखेँ, त्यहाँका पीडितहरूलाई न आधिकारिक टोली बनाइएको छ, न कुनै समूहमा जोडिएको छ । उनीहरूको आवाज कसैले सुनेको छैन । उपचार गराइरहेका सन्तानुक ढकाल भाइको अवस्था हेर्नुस्, उहाँ बोल्न सक्नुहुन्न, कागजमा लेखेर आफ्नो पीडा व्यक्त गर्नुहुन्छ । उहाँहरू जस्ता सयौं पीडितलाई कसले हेर्ने ? सरकारका कर्मचारीहरू छन्, तलब खाएर बसेका छन् । चाहेको भए उनीहरूलाई खटाएर घर–घरमा पुग्न सकिन्थ्यो । तर, आफ्नो परिवारको कोही बिरामी हुँदा हेलिकप्टर आइपुग्छ, जनताको लागि केही छैन । यो विभेद र उपेक्षा तत्काल अन्त्य हुनुपर्छ । 

kishori-photo

यत्रो दौडधुप गरिरहनुभएको छ, काठमाडौं, विराटनगर, देशका विभिन्न ठाउँमा पुग्नुभएको छ । यो सबै खर्चको व्यवस्थापन कसरी गरिरहनुभएको छ ? कतैबाट ‘फन्डिङ’ छ कि भन्ने आरोप पनि लाग्ला नि ?

– यो प्रश्न एकदमै सान्दर्भिक छ । म स्पष्ट पार्न चाहन्छु, मलाई कतैबाट कुनै फन्डिङ छैन । आन्दोलनका क्रममा जलेका बाइकहरू किनिदिन र केही घाइतेलाई सहयोग गर्न देश–विदेशबाट केही रकम उठेको थियो, त्यो पारदर्शी रूपमा खर्च भयो । तर, मेरो व्यक्तिगत खर्च म आफैं धानिरहेकी छु । 

म पहिला काठमाडौंमा एउटा रियल स्टेट कम्पनीमा अकाउन्ट हेर्थें, २२ हजार तलब थियो । जेनजी आन्दोलनमा लागेपछि त्यो जागिर पनि गयो । अहिले म बेरोजगार छु । मेरी आमाले घरबाट खर्च पठाइदिनुहुन्छ । कहिलेकाहीँ भ्वाइस–ओभर वा अन्य सानोतिनो कामबाट केही आम्दानी हुन्छ । कहिलेकाहीँ मलाई सहयोग गर्ने दाइहरू हुनुहुन्छ, जसले आफ्नो गाडीमा निःशुल्क पुर्‍याइदिनुहुन्छ । तर, म प्रष्ट छु, मेरो लडाइँ नितान्त मेरो आत्माको आवाज र पीडितहरूको न्यायका लागि हो । मलाई पैसाले किन्न सकिँदैन । 

अन्त्यमा, तपाईंको भविष्यको योजना के छ ? फागुन २१ गते हुने भनिएको चुनाव लड्ने तयारी हो ?

– मेरो व्यक्तिगत रहर र प्राथमिकता चुनाव लड्ने होइन, मेरो पहिलो र अन्तिम संकल्प भनेकै सहिद र घाइते परिवारलाई न्याय दिलाउनु हो । मेरा बेपत्ता बुबाजस्ता हजारौं बेपत्ताहरूको अवस्था सार्वजनिक गराउनु हो । यदि भोलि उहाँहरूले, पीडित परिवारहरूले नै ‘हाम्रो आवाज बनिदिनुपर्‍यो, तपाईंले नै नेतृत्व लिनुपर्‍यो’ भनेर सर्वसम्मत रूपमा आग्रह गर्नुभयो भने म उहाँहरूको लागि उठ्न तयार छु । तर, पद र कुर्सीका लागि होइन, केवल उहाँहरूको आवाज बन्नका लागि ।  

कहाँबाट चुनाव लड्ने ?

– यदि चुनाव लड्ने अवस्था आयो भने, म ओखलढुंगाबाट लड्न सक्छु, किनकि त्यहाँका बेपत्ता पीडितहरूले मलाई बारम्बार नेतृत्वका लागि आग्रह गरिरहनुभएको छ । तर, कुनै पनि निर्णय सबै पीडित परिवार र जेनजीका साथीहरूसँगको गहिरो सल्लाह र सहमतिमा मात्रै हुनेछ । मलाई ठुलो नेता हुनु छैन, मलाई केवल ती आमाहरूको आँसु पुछ्ने र उनीहरूको पीडाको आवाज बन्ने शक्ति चाहिएको छ । मेरो लागि सबैभन्दा ठुलो खुसीको दिन त्यो हुनेछ, जब ती परिवारले न्याय पाउनेछन् । त्यो दिनसम्म मेरो संघर्ष जारी रहनेछ । कुनै पनि निर्णय सबै पीडित परिवार र जेनजीका साथीहरूसँगको सल्लाह र सहमतिमा मात्रै हुनेछ । एक्लै उफ्रेर केही हुँदैन । 

चुनावचाहिँ पुरानै पार्टीबाट लड्ने कि स्वतन्त्र ? कि नयाँ पार्टीबाट ?

– चुनाव कि स्वतन्त्र लड्छु । नत्र जेनजीहरूले बनाउने उपर्युक्त पार्टी भयो भने त्यहाँबाट लड्छु । पुराना पार्टीहरुको उम्मेदवार बन्दिनँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप