संकट छाडेर गुट भेलामा कार्यवाहक सभापति
सारांश
- शेरबहादुर देउवाले दोस्रो पटक सभापति भएपछि गुटको बैठक नराखेकोमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुट बैठक राखे।
- खड्काले विशेष महाधिवेशनको माग र नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने विषयमा छलफल गरे।
- डा. शेखर कोइराला समूहले मंसिरभित्रै नियमित महाधिवेशनको माग गरेको छ, भने कार्यवाहक सभापति खड्काले समय अभाव देखाएका छन्।
काठमाडौँ । २०७८ पुस ६ गते सम्पन्न भएको पार्टीको १४ औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले आफ्नो गुटको बैठक राखेनन् ।
२०८१ फागुन २ गते भने उनलाई १४औँ महाधिवेशनमा आफूलाई सहयोग गरेका ११ नेता भेट्न गएर १५ औँ महाधिवेशनमा समूहबाट सभापतिको उम्मेदवार को हो भन्दै सोधे । त्यसमा देउवाको घुमाउरो जवाफ थियो – बेला भएको छैन, भएपछि सल्लाह गरौँला ।
देउवाले प्रायः पदाधिकारी बैठकबाट निर्णय लिन्थे । १४ सदस्यीय पदाधिकारीमा देउवा गुट बाहेकका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार थिए । त्यसमा कहिलेकाहीँ पूर्वपदाधिकारीलाई पनि बोलाउँथे ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आफ्नै निवासमा (बूढानीलकण्ठ) मरणासन्न हुनेगरी श्रीमतीसँगै कुटिएपछि देउवाले लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराए । र असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भए । बैठकलाई लिखित रूपमा सम्बोधन गरेका देउवाले स्वास्थ्यको कारण देखाएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको घोषणा गरे ।
देउवा दम्पती कात्तिक १० गते राति थप उपचारका लागि सिंगापुर उडेका छन् ।
देउवाले दोस्रो पटक नेतृत्व सम्हालेको करिब चार वर्षसम्म गुटगत बैठक राखेर धारणा बनाएनन् । तर, उनले कार्यवाहक दिएका खड्का भने सबैलाई मिलाएर अघि बढ्नुको सट्टा गुटमा रमाउन थालिसकेका छन् ।
खड्काले आफूले कार्यवाहक पाएको १५ औँ दिनमै चार पटक संस्थापन गुटको बैठक राखिसके । असोज २८ गतेबाट जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत एजेन्डाका विषयमा गुटगत धारणा बनाउन भन्दै खड्काले पटक–पटक गुटको बैठक बसाले ।
खड्काले असोज २९ र ३० गते तथा कात्तिक ८ गते ललितपुरको घोबीघाटस्थित सिद्धार्थ कटेजमा गुटगत बैठक राखेका थिए । बुधबार पनि सोही स्थानमा खड्काले आफ्नो समूहको भेला राखे । जारी केन्द्रीय समितिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको निर्देशन र युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाइएको छ ।
घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भएको थियो, जसले विशेष महाधिवेशन माग गरेको छ । यो संख्या २०७८ मंसिरमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा रहेका महाधिवेशन प्रतिनिधिको संख्याको ५० प्रतिशत बढी हो । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाई लिखित माग गरे त्यसको तीन महिनामित्र विशेष महाधिवेशन गर्नैपर्ने बाध्यकारी व्यवस्था छ ।
अर्कोतर्फ पार्टीभित्र डा. शेखर कोइरालाले नेतृत्व गरिरहेको इतर समूहले वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल सकिने मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताइरहेको छ । समूहका नेता डा. कोइरालाले एक वर्ष अगाडिदेखि नै २०८२ मंसिरमै पार्टीको १५औँ महाधिवेशन हुनुपर्ने सर्वजनिक रूपमा बताउँदै आएका छन् ।
केन्द्रीय समितिमा सुविधाजनक बहुमत रहेका खड्काले पार्टीभित्रका सस्थापनबाहेक दुई समूहले राख्दै आएका विषयलाई कसरी सहमतिमा समाधान गर्ने भन्नेबारे सर्वसम्मत धारणा बनाउन बैठक गरिरहेको तर्क दिने गरेका छन् ।
खड्कानिकट केन्द्रीय सदस्य रामहरि खतिवडाले जारी केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गर्ने वातावरण निर्माण गर्न कार्यवाहक सभापति खड्काले पहिलो चरणमा संस्थापनका नेताहरूसँग छलफल गरिरहेको बताए ।
‘जारी केन्द्रीय समिति बैठकबाट पार्टीको महाधिवेशन, निर्वाचन र जेनजी आन्दोलनले उठाएका एजेन्डाबारे सर्वसम्मत धारणा बनाउन पहिलो चरणमा संस्थापनका प्रभावशाली नेताहरूसँग कार्यवाहक सभापतिज्यूले छलफल गरिहरनुभएको छ,’ केन्द्रीय सदस्य खतिवडाले रातोपाटीसँग भने, ‘अनौपचारिक छलफलको क्रम अन्य नेता तथा पदाधिकारीहरूसँग पनि चलिरहेको छ । अझै पनि गर्नुहुन्छ ।’
खतिवडाले गुटगत बैठक नभई सर्वसम्मत निर्णय गर्ने प्रयासस्वरूप गरिएको छलफल भएको दाबी गरे ।
पार्टीभित्रको इतर समूहतर्फका केन्द्रीय सदस्य सञ्जय गौतमले खड्काले ठुलो अवसर पाएको बेलामा सर्वसम्मतिमा संकट समाधानको प्रयास गर्नुपर्नेमा गुटगत भेला गरेको आरोप लगाए । ‘यो गुटगत भेला गर्ने समय होइन, यत्रो अवसर पाएको बेलामा पूर्णबहादुरजीले समग्र कांग्रेस निर्माण गर्ने प्रयास गर्नुपर्ने हो,’ केन्द्रीय सदस्य गौतमले रातोपाटीसँग भने, ‘गुटको बैठकले कांग्रेसको र मुलुकको समस्या समाधान गर्न सक्दैन । नियमित महाधिवेशनले मात्रै समस्याको समाधान हुन्छ । त्यसतर्फ ध्यान दिनुहोस् भन्ने कार्यवाहक सभापतिजीलाई मेरो सुझाव छ ।’
गौतमले कांग्रेसको चालु केन्द्रीय समिति बैठकले सही निर्णय लिन नसके पार्टी र मुलुक दुवै संकटमा जाने भएकाले सोचविचार गरेर अगाडि बढ्नुपर्ने बताए । महामन्त्री थापाले त केन्द्रीय समिति बैठकमै मंसिरभित्र नियमित महाधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताएका थिए । उनको सचिवालयले सामाजिक सञ्जालमा मंसिर २७ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक नै गरेको थियो । तर, संस्थापन भने त्यो समयमा महाधिवेशन गर्न कार्यतालिका ल्याउन तयार छैन, संस्थापनले फागुन या वैशाखमा नियमित महाधिवेशन गर्ने बताइरहेको छ ।
जारी केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत निर्णय गर्ने भन्दै कार्यवाहक सभापति खड्काले इतर समूहका नेता डा. कोइरालाई कात्तिक ७ गते शुक्रबार उनकै सम्पर्क कार्यालयमा गएर भेटेका थिए । भेटमा कोइरालाले मंसिरमै नियमित महाधिवेशन आफ्नो बटमलाइन भएको बताएका थिए । खड्काले भने समयको पावन्दीले मंसिरमा नियमित महाधिवेशन सम्भव नभएको भन्दै केही समय पर सारेर महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय केन्द्रीय समितिबाट गर्न सघाउन आग्रह गरेका थिए ।
डा. कोइरालापक्षीय केन्द्रीय सदस्य गौतमले मंसिरमा महाधिवेशन सुरु गरेर पुस मसान्तसम्म सक्न लचिलो भए पनि त्योभन्दा पछि लैजानलाई सहमति जनाउन नसकिने बताउँछन् । त्यसबाहेक महामन्त्रीद्वय थापा र शर्मासँग पनि खड्काले भेटिरहेका छन् । तर दुवै पक्ष आ–आफ्ना अडानमा कायम रहेकाले मिलनविन्दु भेटिन नसकेको नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण