मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

वैकल्पिक शक्तिबिच सके एकता नसके बृहत् 'एलाइन्स' बनाउने तयारीमा रास्वपा

‘बृहत् राजनीतिक संवाद’मा कसले के भने ?
शुक्रबार, १४ कात्तिक २०८२, १९ : ५५
शुक्रबार, १४ कात्तिक २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी विद्रोहपछि प्राप्त उपलब्धिको संरक्षण गर्ने उद्देश्यले ‘बृहत् राजनीतिक संवाद’ थालेको छ । शुक्रबार काठमाडौँमा आयोजित संवाद कार्यक्रममा नयाँ र वैकल्पिक शक्ति निर्माण पक्षधर सहभागी थिए ।

कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै रास्वपाका उपसभापति तथा उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेपपछिको प्राप्त उपलब्धिको दिगो संरक्षण र नयाँ वैकल्पिक शक्तिहरूबिच बृहत् राजनीतिक एलाइन्स निर्माण गर्नु रहेको बताए । पुराना दलहरूको दमनविरुद्ध रास्वपाले स्थापनाकालदेखि नै आवाज बुलन्द गरेपनि संख्याका कारण हस्तक्षेप नपुगेको उनले स्पष्ट पारे ।

‘रास्वपाले स्थापनाकालदेखि नै सुशासनको पक्ष र पुराना दलहरूको दमन विरुद्ध लगातार आवाज बुलन्द गर्‍यौं, तर संख्या कम भएकाले हस्तक्षेप पुगेन’, वाग्लेले भने, ‘जेनजी विद्रोहले सुशासनको पक्षमा जुन निर्णायक हस्तक्षेप गरेको छ, त्यसले अन्य दलहरूमा पनि रुपान्तरणका लागि दबाब सिर्जना भएको छ । विद्रोहबाट प्राप्त उपलब्धिलाई वैधानिक तवरले संस्थागत गर्न जेनजी, नयाँ वैकल्पिक सबै शक्ति एकजुट हुन आवश्यक छ ।’

Raswapa1

रास्वपाको कात्तिक ९ र ११ गते बसेको सचिवालय बैठकले प्रवास र स्वदेशका आम नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबिच विभिन्न विकल्पबारे ‘बृहत् राजनीतिक संवाद’ गर्ने निर्णय गरेको थियो । वाग्लेले सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि राजनीतिक संवाद गर्ने बैठकले निर्णय गरेको सुनाए ।

बृहत् राजनीतिक संवाद गर्नुको तीनवटा उद्देश्य उनले कार्यक्रममा प्रस्तुत गरे ।

१. आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ ।
२. लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि बृहत् एकता र सहकार्यको रेखांकन ।
३. उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहका कारण लामो समय सत्तामा रहेका कांग्रेस र कम्युनिस्टहरूको जरा हल्लिएपनि पूर्ण रूपमा विच्छेद नभई सकेकाले ढुक्क हुने अवस्था नभएकोतर्फ सचेत गराए । राज्य सञ्चालमा असफल भइसकेका पुराना दलहरूको जरै उखेल्नका लागि जेनजी समूह, नयाँ र वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

‘जेनजी विद्रोहले लामो समय सत्तामा बसेका कांग्रेस र कम्युनिस्ट नामको ब्रान्डको जरो हल्लिएको छ । तर पूर्ण रुपमा उखेल्लिएको छैन । उनीहरूको संगठन तलैसम्म भएकाले साम, दाम, दण्ड, भेद प्रयोग गरेर निर्वाचन मार्फत फेरि फर्किन सक्छन् । राज्य सञ्चालन गर्न असफल भइसकेका पुराना दलहरूलाई जरैदेखि उखेल्नका लागि जेनजी समूह, नयाँ र वैकल्पिक शक्तिहरू एकठाउँमा आउनुपर्छ । मेरो तर्फबाट सबै सहयोग रहनेछ’, उनले भने ।

Raswapa3

भट्टराईले संवेदनशील भू–राजनीति भएको नेपालमा राष्ट्रिय स्वाधीनता, उत्तर (चीन), दक्षिण (भारत) र पश्चिम (युरोप–अमेरिका)को शक्ति सन्तुलनलाई ख्याल गरी आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्ने स्पष्ट पारे ।

जेनजी विद्रोह सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध ठुलो क्रान्ति भएको देशभित्रका बहुभाषिक, बहुजातीय सामाजिक संरचना नखलबलिने गरी अगाडि बढ्न उनले नयाँ पुस्ताहरूलाई आग्रह गरे । रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध र पूर्वाग्रही व्यवहार गरेकाले थुनामुक्त गर्न पहल गर्नुपर्ने भनाइ राखे ।
कार्यक्रममा थारु आन्दोलनका अभियन्ता रेशम चौधरीले राज्यले विभिन्न मुद्दा लगाएर जेनजी विद्रोहका उपलब्धिलाई पनि समाप्त पार्न सक्नेतर्फ सचेत गराए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु विद्रोहको स्मरण गर्दै उनले जेनजी विद्रोहका अभियान्ताहरूलाई पनि विभिन्न मुद्दा लगाएर फसाउन सक्ने भएकाले सतर्क रहन आग्रह गरे । थारु नेताहरूले चुनाव लड्ने वातावरण नभए निर्वाचन नै हुन नदिने चौधरीले चेतावनी दिए । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै शक्तिसँग हातेमालो गर्न आफू तयार भएको चौधरीले बताए ।

‘संविधान जारी भएपछि आफ्ना हक र अधिकारका लागि थारुहरूको विद्रोह थियो, घटना नियोजित थियो । राज्यले हामीलाई नेता नै बन्न दिएका छैनन्’, उनले त्यतिबेलाको घटना स्मरण गर्दै चौधरीले भने, ‘जेनजी विद्रोहका युवाहरूलाई पनि विभिन्न मुद्दा लगाएर फसाउन सक्छन् । त्यसमा सतर्क रहनुहोला । प्राप्त उपलब्धिलाई रक्षा गर्न भित्र एउटा बाहिर अर्को कुरा गरेर अलमलाउने होइन । हामी सबैले जेनजीको आन्दोलनलाई समर्थन गरौँ ।’

कार्यक्रममा जेनजी आन्दोलनका संस्थापक पुरुषोत्तम यादवले आफूहरूको आन्दोलन चुनावका लागि नभई परिवर्तनका लागि भएको स्पष्ट पारे । जेनजीको आन्दोलन संस्थागत नभएसम्म निर्वाचनमा भाग नलिने उनले बताए ।

‘हाम्रो आन्दोलन चुनावका लागि होइन । सुशासन र परिवर्तनको पक्षमा हो । जबसम्म जेनजीका माग संस्थागत हुँदैन, तबसम्म हामी निर्वाचनमा सहभागी हुँदैनौँ’, उनले भने ।
भदौ २३ गते भएको विद्रोहलाई संविधानमै लिपिवद्ध गर्नुपर्नेमा यादवले जोड दिए । ‘जेनजीले उठाएका माग पूरा गर्नेबारे अहिलेसम्म कसैले बोलेका छैनन् । राष्ट्रपतिको समेत हस्ताक्षर रहनेगरी जेनजी र सरकारबिच सम्झौता हुनुपर्छ,’ यादवले भने, ‘संविधान संशोधन गरेर अनुसूची–१० जेनजी आन्दोलनलाई लिपिबद्ध गरिनुपर्छ । अहिले संसद नभएकाले अब आउने संसदले संशोधन गर्नुपर्छ ।’

प्राथमिकतामा एकता नभए बृहत् गठबन्धन

परम्परागत राजनीतिक दलहरूको विकल्पमा २०७९ साल असारमा पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो । दल दर्ता भएको पाँच महिनामै निर्वाचनमा होमिएको रास्वपाले समानुपातिकतर्फ ११ लाख ३५ हजार मत प्राप्त गर्‍यो । प्रत्यक्षतर्फ २१ सिट जितेर राजनीतिक दलहरूलाई काउन्टर दिएको थियो ।

निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री भएर सहभागी भए । महत्वपूर्ण हिस्सा लिएर सरकारमा सहभागी हुँदै गर्दा उनीमाथि नागरिकता काण्ड, राहदानी काण्ड, सहकारी ठगी जस्ता गम्भीर आरोप लाग्यो । सहकारी ठगी आरोपमा रवि अहिले पुर्पक्षका लागि जेलमा छन् । पार्टी नेतृत्व नै विभिन्न काण्डैकाण्डमा मुछिएपछि रक्षात्मक देखिएको रास्वपा जेनजी विद्रोहका क्रममा जेल तोडेर बाहिरिएपछि पार्टीलाई क्षति पुगेको विश्लेषण भइरहेको छ ।

Raswapa2

रास्वपाकी पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि देखाउँदै पार्टी परित्याग गरिन् । पछिल्लो समय गणेश कार्की, डा. तोसिमा कार्की, पुकार बम लगायत नेताहरू पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका छन् । पार्टीले बनाएको वार्ता टोलीका संयोजक बमले जेनजी समूहका विभिन्न समूह, सामाजिक अभियन्ता कुलमान घिसिङ, हर्क साम्पाङ लगायत समूहलाई समेट्न रविले उदारता देखाउनुपर्ने प्रस्ताव राखेपछि पार्टी विभाजन उन्मुख भएको विश्लेषण भइरहेको छ । 

तर रास्वपा नेता शिशिर खनालले नेतृत्व परिवर्तन नभई नयाँ र वैकल्पिक शक्तिहरूसँग एकता गर्नेगरी सबै पक्षसँग छलफल भइरहेको स्पष्ट पारे । रास्वपा राष्ट्रिय राजनीतिक दलको रुपमा स्थापित भइसकेकाले सबै शक्तिलाई मिलाएर एकता गर्ने पहिलो प्राथमिका रहेको उनले बताए । त्यो सम्भव नभएमा जेनजी विद्रोहबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न बृहत् एलाइन्स बनाएर निर्वाचनमा जाने पार्टीको योजना रहेको खनालले सुनाए ।

‘रविको विकल्प पार्टीले सोच्न पनि सक्दैन । रास्वपाले प्राप्त गरेको १२ लाख भोट उहाँकै कारणले प्राप्त भएको हो । उहाँको विकल्प सोच्दै गर्दा ती मतलाई कस्तो प्रभाव पार्ला भन्नेतिर पनि सोच्नुपर्छ’, उनले भने, ‘भुईंको टिप्न खोज्दा पोल्टाको के हुन्छ ? हामीले यी सबै कुरालाई गम्भीर रुपमा लिएका छन् । पहिलो प्राथमिकता रास्वपाकै नेतृत्वमा एकता गर्ने हो । त्यो सम्भव भएन भने नयाँ र वैकल्पिक निर्माण गर्न एलाइन्स बनाएर जान्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप