बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि अमेरिकी आक्रमणको सम्भावना अस्वीकार

शनिबार, १५ कात्तिक २०८२, १३ : ४३
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य आक्रमण गर्ने योजनालाई अस्वीकार गरेका छन्।
  • अमेरिकी नौसेनालाई क्यारिबियन क्षेत्रतर्फ सर्न आदेश दिइएपछि सैन्य गतिविधिबारे अड्कलबाजी बढेको थियो।
  • संयुक्त राष्ट्रसंघले हवाई आक्रमण रोक्न आग्रह गर्दै ६० जनाभन्दा बढीको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेको छ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र लागुऔषध तस्करी नियन्त्रण गर्न अमेरिकी सैन्य आक्रमण गर्ने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । उनको यो अभिव्यक्ति भेनेजुएलामा कोकेन उत्पादन केन्द्र र तस्करी मार्गहरूलाई लक्षित गर्ने अमेरिकी योजना तयार भइरहेको भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि आएको हो ।

उक्त रिपोर्टहरू सत्य हुन् कि होइनन् भनी पत्रकारहरूले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले संक्षेपमा उत्तर दिए, ‘होइन, यो सत्य होइन ।’ गतहप्ता अमेरिकी युद्धमन्त्री पिट हेगसेथले अमेरिकी नौसेनाको अत्याधुनिक विमानवाहक समूह युएसएस जेराल्ड आर फोर्डलाई युरोपबाट क्यारिबियन क्षेत्रतर्फ सर्न आदेश दिएका थिए । यो कदमपछि अमेरिकी सैन्य गतिविधि भेनेजुएलासँग सम्बन्धित हुनसक्ने अड्कलहरू बढेका थिए ।

यसअघि अमेरिकी सिनेटर लिन्डसे ग्राहमले पनि भेनेजुएलामाथि सम्भावित भूमि आक्रमणलाई ‘वास्तविक विकल्प’ भन्दै चेतावनी दिएका थिए । उनका अनुसार वासिङ्टनले ल्याटिन अमेरिकामा फैलिएका नार्को–तस्करी सञ्जालहरू विरुद्धको अभियानलाई अझ सशक्त बनाउन खोजिरहेको छ ।

सिबिएस न्युजसँग कुरा गर्दै सिनेटर ग्राहमले भनेका थिए- ‘राष्ट्रपति ट्रम्पले मलाई हिजो नै भन्नुभयो कि उहाँ एसियाबाट फर्किएपछि कङ्ग्रेसका सदस्यहरूलाई भेनेजुएला र कोलम्बियासँग सम्बन्धित सम्भावित सैन्य योजनाबारे जानकारी दिने सोचमा हुनुहुन्छ ।’

यसबिच, अमेरिकाले पछिल्ला हप्ताहरूमा क्यारिबियन र प्रशान्त क्षेत्रका समुद्री मार्गहरूमा लागु औषध तस्करीमा संलग्न भनिएका डुङ्गाहरूमा हवाई आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

बुधबार युद्धमन्त्री हेगसेथले पूर्वी प्रशान्त क्षेत्रमा भएको पछिल्लो हवाई आक्रमणबारे जानकारी दिँदै उक्त आक्रमणमा लागु औषध बोकिरहेको एउटा डुङ्गा लक्षित गरिएको, जसमा चार व्यक्तिको मृत्यु भएको बताए । सेप्टेम्बरको सुरुदेखि यो १४ औँ हवाई प्रहार हो र यस क्रममा १५ औँ डुङ्गा नष्ट गरिएको बताइएको छ । यी अपरेसनहरूबाट अहिलेसम्म कम्तीमा ६१ जनाको मृत्यु भइसकेको छ ।

यस घटनाक्रमप्रति संयुक्त राष्ट्रसङ्घले गम्भीर चासो व्यक्त गर्दै अमेरिकालाई तत्काल यस्ता हवाई आक्रमण रोक्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका लागि उच्चायुक्त भोल्कर टर्कले भने, ‘सेप्टेम्बरको सुरुदेखि क्यारिबियन र प्रशान्त क्षेत्रमा अमेरिकी सशस्त्र बलले गरेको निरन्तर हवाई आक्रमणमा ६० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसका लागि अन्तर्राष्ट्रिय कानुनमा कुनै स्पष्ट औचित्य देखिँदैन ।’

उनले भने- ‘यी आक्रमणहरू र तिनको बढ्दो मानवीय मूल्य अस्वीकार्य छन् । अमेरिकाले तुरुन्तै यी आक्रमणहरू रोक्नुपर्छ र ती डुङ्गाहरूमा रहेका मानिसहरूको गैरन्यायिक हत्या रोक्नका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्नुपर्छ- उनीहरूविरुद्ध आपराधिक आचरणको आरोप जेसुकै किन नहोस् ।’

राष्ट्रपति ट्रम्पको भेनेजुएला आक्रमण अस्वीकार सम्बन्धी अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले अमेरिकाको क्षेत्रीय रणनीतिमा सावधानीपूर्वक सन्तुलन कायम गर्न खोजेको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप