सोल्टी होटेलबाट बाहिरिएको साढे ४ वर्षपछि नेपाल फर्कियो ‘क्राउन प्लाजा’
सारांश
- क्राउन प्लाजा साढे ४ वर्षपछि नेपाल फर्किएको छ र लुम्बिनी हेरिटेज होटलमा उपस्थिति जनाएको छ।
- आईएचजी होटल्स एण्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच सहकार्य सम्झौता सम्पन्न भयो, जसले गर्दा होटलको नाम क्राउन प्लाजा लुम्बिनी हुनेछ।
- होटलमा १४७ कोठा, विभिन्न सुविधाहरू, र आठ महिनाभित्र क्यासिनो सेवा सुरु गर्ने योजना रहेको छ।
काठमाडौँ । सोल्टी होटेलबाट बाहिरिएको साढे ४ वर्षपछि अन्तर्राष्ट्रिय चेन होटल क्राउन प्लाजा नेपाल फर्किएको छ । क्राउन प्लाजाले लुम्बिनीमा रहेको पाँचतारे लुम्बिनी हेरिटेज होटलमा उपस्थिति जनाएको हो ।
यसअघि सन् २०२१ मे १४ मा सम्झौता सकिएपछि क्राउन प्लाजा सोल्टी होटेलबाट बाहिरिएको थियो ।
हस्पिटालिटीसम्बन्धी अन्तर्राष्ट्रिय समूह आईएचजी होटल्स एण्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज होटलका सञ्चालक लुम्बिनी हेरिटेज लिमिटेडबीच भारतको राजधानीमा नयाँ दिल्लीमा एक विशेष समारोहमा सहकार्य सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आइएचजी होटल्स एण्ड रिसोर्टस्का दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतासँगै लुम्बिनी हेरिटेज होटलको नाम परिवर्तन भई क्राउन प्लाजा लुम्बिनी नामबाट सञ्चालन हुनेछ ।
‘पवन प्यालेस लुम्बिनी’का नाममा सञ्चालनमा रहेको यो होटललाई स्तरोन्नतिपछि लुम्बिनी हेरिटेज होटलमा रूपान्तरण गरिएको हो।
होटलमा कुल १४७ कोठा, जसमा ७ स्वीट रुमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेस्टुराँ, फिटनेस सेन्टर, स्वीमिङ पूल र अन्य प्रिमियम सुविधा रहनेछन् । साथै, आगामी आठ महिनाभित्र क्यासिनो सेवा सुरु गर्ने योजना समेत कम्पनीले जनाएको छ।
लुम्बिनी हेरिटेज लिमिटेडको होटल भगवान गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा अवस्थित छ । कम्पनीले सन् २०२६ भित्र सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने योजना पनि अघि सारेको छ।
लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष अमात्यले भने, ‘आइएचजीसँगको सहकार्यले लुम्बिनीको आतिथ्य सेवा नयाँ स्तरमा पुग्नेछ र यस क्षेत्रको पर्यटन सम्भावनामा थप ऊर्जा भर्नेछ ।’
त्यसैगरी, आइएचजीका प्रबन्ध निर्देशक सुदीप जैनले भने, ‘क्राउन प्लाजा लुम्बिनीसँगै नेपालमा हाम्रो उपस्थितिलाई पुनः सुदृढ गर्न पाउँदा हामी खुशी छौं। आधुनिक डिजाइन र उत्कृष्ट सेवासहित, यो होटल स्वदेशी तथा विदेशी पाहुनाहरूका लागि उत्कृष्ट गन्तव्य बन्नेछ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण