'सुन छ लिन आउनू' भनी साथीबाटै हत्या !
विराटनगर । आफ्नै साथीलाई लुटपाट गर्न अपहरणपछि क्रूरतापूर्वक हत्या गरेको घटनाले झापा जिल्ला स्तब्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार योजनाबद्ध साथीको हत्या गरेर प्रमाण नष्ट गर्न शवलाई पहिले गाडेको र गाडी जलाइएको खुलेको हो ।
शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको उनकै साथी सोही ठाउँका २७ वर्षीय सुनिल साह र साहका भान्जा पर्ने २३ वर्षीय भाइ राहुल साहले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । दुवैलाई प्रहरीले गत शुक्रबार पक्राउ गरी जिल्ला अदालत झापाबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार मुख्य अभियुक्त सुनिल साहले सरोज शर्मासँग भएको पैसा लुट्न अपहरणको योजना बनाएको देखिएको छ । प्रहरीका अनुसार अभियुक्तहरूसँग सरोज शर्माले सस्तोमा सुन पाए केही आफूले किन्ने र काठमाडौँमा चिनाजान रहेको मानिसलाई पनि किनाइदिने भनेका थिए ।
त्यसपछि शर्माले सुनिललाई सुन खोज्न भनेका थिए । तर सुनिलले भने एक महिना अगाडिदेखि नै सरोजसँग भएको पैसा लुट्ने र निजलाई अपहरण गरी छिमेकी मुलुकमा लगी आफन्तहरूसँग करोडौँ असुल्ने योजना बनाए ।
सोही योजनाअनुसार सुनिलले कात्तिक ९ गते साढे पाँच बजे आफूले सुन ल्याई राखी गाडीको स्थान हेर्न आउन भन्दै सरोजलाई अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा बोलाए । त्यहाँ सुनिलसँग उनका भान्जा पर्ने राहुल साह थिए । शर्मालाई दुवैले आफूसँगै लगेको ह्याम्मर (हथौडा) लगायतले टाउकोमा प्रहार गरी सोही स्थानमै हत्या गरे ।
प्रहरीका अनुसार सोही रात एक सहयोगी भारतीय नागरिकको साथमा तीन जना मिलेर सरोजलाई उनकै गाडीमा हाली झापा–५ स्थित हुलाकी मार्गमा पर्ने विरिङ खोलामा रहेको पुलमुनि गाडे ।

पुनः कात्तिक १३ गते मृतक सरोज चढ्ने बा१३च ३८६४ नम्बरको गाडी भने निचाझोडा जंगलमा जलिरहेको अवस्थामा फेला परेको र सो स्थान नजिकै अभियुक्त सुनिलको चप्पल पनि फेला परेको थियो । सुनिलको खोजी तथा घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी विशेष टोली, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी खटिएको थियो ।
त्यसपछि प्रहरी टोलीले अभियुक्तहरूको मोबाइलको ट्र्याक रेकर्ड हेर्दा सुनिल र राहुलको संलग्नताको शंका गरेको थियो । त्यही शंकाका आधारमा विराटनगरस्थित सीमावर्ती क्षेत्र रानीबाट सुनिललाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो भने राहुललाई शिवसताक्षी नगरपालिका–१० मा रहेको उनकै घरबाट नियन्त्रणमा लियो ।
प्रहरीका अनुसार सोधपुछका क्रममा दुवैले बताएअनुसार १५ गते बिहान झापा गाउपालिका–५ स्थित बिरिङ खोलामा रहेको पुलमुनि जमिनमुनि गाडिएको अवस्थामा सरोजको शव फेला परेको थियो ।
अपहरण गरेका दिन नै हतौडाले टाउकोमा हिर्काएर सरोजको हत्या गरेको पक्राउ परेका शाहले बयान दिएका अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रकुमार खड्काले जानकारी दिए । शर्मालाई अपहरण तथा शरीर बन्धक बनाएर छिमेकी मुलक भारत लगेर परिवारसँग करोडौँ रुपैयाँ माग गर्ने योजना बुनेको देखिएको खड्काले बताए । सरोजले लगाएको लुगा तथा कागजपत्रका आधारमा आफन्तले शव पहिचान गरेका थिए । शव सडिएर नचिनिने अवस्थामा पुगेको थियो ।
सो क्रममा छिमेकीहरूबाटै हत्या भएको र दुई जनालाई पक्राउ गरेको खुलेसँगै आक्रोशितहरूले पक्राउ परेका अभियुक्तहरूको घर तोडफोड गरेका थिए । सरोज काठमाडौँस्थित एक आइटी कम्पनीमा कार्यरत रहेका परिवारले जनाएको छ । तिहार र छठ मनाउन घर आएर फर्किने तयारीमा रहँदै गर्दा अपहरणपछि हत्या भएको उनका आफन्तहरूले जनाएका छन् ।
पक्राउ परेका साहद्वयलाई अपहरण, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव, शरीर बन्धक, कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उपशीर्षक सच्याइएको
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण