मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दुबईले भिसा रोक्यो, अन्य खाडी देशले सुरक्षामा चासो बढाए

तीन महिनामा २ लाख १० हजार नेपाली युवाले श्रम स्वीकृति लिए
सोमबार, १७ कात्तिक २०८२, १३ : ३२
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा २ लाख १० हजारभन्दा बढी नेपाली युवाले श्रम स्वीकृति लिएर विदेश गएका छन्।
  • गत वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या झण्डै ४० हजारले बढी हो, वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ।
  • जेनजी आन्दोलनपछि युएई, साउदी, कतार लगायतका देशमा नेपाली श्रमिक जान रोकिएको हल्ला चले पनि तथ्याङ्कले संख्यामा कमी नआएको देखाएको छ।

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा २ लाख १० हजार ५ सय १६ जना नेपाली युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा १ लाख ७० हजार ६ सय ३ जनाले श्रम स्वीकृति लिएका थिए। यसरी हेर्दा चालू आवमा बिदेसिनेको सङ्ख्या ३९ हजार ९ सय १३ जनाले बढी रहेको विभागको तथ्याङ्कले देखाएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि संयुक्त अरब इमिरेट्स (युएई), साउदी, कतार, ओमान, बहराइन, कुवेत लगायतका देशमा नेपाली श्रमिक जान रोकिएको भनिए पनि तथ्याङ्कले ती देशमा जानेको सङ्ख्यामा कमी नआएको देखाएको छ।

असोज महिनामा मात्रै युएईका लागि साढे १८ हजार, कतारका लागि ११ हजारभन्दा बढीले, साउदीका लागि ८ हजार ७ सय ९१ जना र कुवेत का लागि ४ हजार ५ सय २३ जनाले श्रम स्वीकृति लिएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार, जेनजी आन्दोलनको पूर्ण असर वैदेशिक रोजगारीमा तत्कालै नदेखिए पनि आगामी दिनमा समस्या आउन सक्छ।

अध्यक्ष गुरुङले भने, ‘दुबई इमिरेट्सले भिसा रोकेको छ। कामदारको मात्रै होइन, विद्यार्थी भिसा पनि रोकेको अवस्था छ। अन्य देशको सन्दर्भमा नेपालका जेलबाट कैदीहरू भागेका कारण 'कतै अपराधी त आएको छैन' भनेर बुझाइका कारण ती देशहरूले सुरक्षामा चासो देखाइरहेका छन्।’

उनका अनुसार दुबईबाहेक अन्य देशले धेरै कडाइ भने गरेका छैनन्। पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएकाले श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको उनको भनाइ छ।

विभागले पनि श्रम गन्तव्यमा गरिएको श्रमिकमैत्री कानुन परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन बनाइएको र गन्तव्यमा श्रमिक अभावका कारण माग बढेको अनुमान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप