१३ वर्षीय अंशु गौतम हत्या प्रकरण : २७ दिनसम्म पनि परिवारले शव बुझेनन्
विराटनगर । मोरङको लेटाङमा १३ वर्षीय बालिका अंशु गौतमको हत्यामा संलग्नलाई पक्राउ नगरिएको भन्दै पीडित परिवारले घटनाको २७ दिन बित्दासमेत शव बुझ्न मानेका छैनन् ।
‘पिङ खेल्न जान्छु’ भन्दै गत असोज २१ गते घरबाट निस्किएकी अंशुको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला परेको थियो । प्रहरीले भने उनको बलात्कारपछि हत्या भएको र प्रमाण नष्ट गर्न शवलाई टुक्रा–टुक्रा पारेको हुनसक्ने आशङ्का गर्दै अनुसन्धान भइरहेको जनाएको छ ।
अंशु बेपत्ता भएको १८ दिनपछि लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा कात्तिक ७ गते उनको शव फेला परेको थियो । शवको पहिचान गर्नसमेत मुस्किल थियो ।
उनी अन्तिम पटक देखिएको बुधबारे चौरबाट करिब साढे चार किलोमिटर टाढा जङ्गलमा शव भेटिनुले अंशुको अपहरण गरी योजनाबद्ध रूपमा बलात्कारपछि हत्या भएको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।
घटनामा संलग्न अपराधी पक्राउ नपर्नु र अनुसन्धानको ठोस नतिजा नआउनुले गौतम परिवारको पीडामाथि पीडा थपिएको छ । यही कारण उनीहरूले छोरीको शव बुझ्न अस्वीकार गरेका छन् । हत्यामा संलग्न पक्राउ गरी सार्वजनिक नगरेसम्म दाहसंस्कार नगर्ने उनीहरूको अडान छ ।
अंशुका ठुलाबुवा दामोदर गौतम प्रहरीले अनुसन्धान पूरा गरेर छोरीको हत्यामा संलग्न दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने बताउँछन् । ‘डीएनए रिपोर्ट पनि आउनुप¥यो र दोषीलाई पक्राउ गरेपछि मात्र परिवारले शव बुझ्ने मनस्थिति बनाएको छ,’ उनले भने ।
मोरङ प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानलाई तीव्र पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एवं एसपी कवित कटुवालले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताए । उनका अनुसार घटनास्थलबाट संकलन गरिएका सबुत प्रमाणहरूलाई फरेन्सिक परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
‘यो घटनालाई हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धानका लागि समिति नै गठन गरिएको छ,’ एसपी कटुवालले भने, ‘अनुसन्धानमा जिल्ला प्रहरीमात्र नभई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली र संघीय प्रहरी इकाई कार्यालयका विज्ञहरूको समेत सहयोग लिइएको छ ।’
प्रहरीले संयुक्त र सुक्ष्म तरिकाले अनुसन्धान अगाडि बढाइरहेको भन्दै चाँडै नै नतिजामा पुग्ने जनाएको छ ।
प्रहरीले अनुसन्धान साँघुरिँदै गएको बताएको छ । ‘हामीलाई विश्वास छ, छिटै नै अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनेछौँ,’ कटुवालले भने ।
हाल प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको दक्ष टोलीले घटनास्थल र सम्भावित क्षेत्रमा अनुसन्धान गरिरहेको छ ।
२७ दिनदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अंशुको शवले न्याय मागिरहेको छ । परिवारको अडानले प्रहरीमाथि थप दबाब सिर्जना गरेको छ । यो अपराधको सफल अनुसन्धान गरी दोषीलाई कारबाही गर्नु प्रहरीका लागि चुनौती बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण