बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको १५औँ महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्ने संस्थापन पक्षको निर्णय

सोमबार, १७ कात्तिक २०८२, २० : २०
सोमबार, १७ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेका छन्।

सोमबार नयाँ बानेश्वरस्थित आनन्द भूमि रेस्टुरेन्टमा बसेको बैठकबाट संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको यस्तो निर्णय आएको हो। बैठकले विभिन्न सात बुँदे निर्णय गरेको छ। 

केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशनको मितिबारे विवाद भइरहेको बेला संस्थापन पक्ष केन्द्रीय सदस्यहरूको यस्तो निर्णय आएको हो।

कार्यसम्पादन समितिमा संस्थापन इतर समूहले आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने र संस्थापनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

दुई पक्षबिच मिलन बिन्दु नभेटिएपछि बैठक अनिर्णीत बन्दै आएको छ। 

जसका कारण शुक्रबार आइतबारका लागि बोलाइएका केन्द्रीय कार्यसमितिका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो यही अवस्थामा बसेको संस्थापन पक्ष केन्द्रीय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्यहरू वीरबहादुर बलायर सीता गुरुङ शंकर भण्डारी मिन विश्वकर्मा सहितका केन्द्रीय सदस्यहरू गुरु बराल नयनसिंह महर लगायतका नेताहरू उपस्थित थिए।

यस्ता छन् ७ प्रस्ताव 

  • घोषणा भएको फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण पार्टी तहलाई सक्रिय रहन आह्वान गर्ने
  • पुस १५ भित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरिसक्नुपर्ने। सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनको लागि जागरण अभियान सञ्चालन गर्दै सङ्गठनलाई तयार पार्ने। साथै प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकको उम्मेदवारी सिफारिस गर्ने र राष्ट्रिय सभाको उम्मेदवार पनि सिफारिस गर्ने।
  • प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको १५ औँ केन्द्रीय महाधिवेशन २५, २६, २७ र २८ गते वैशाखमा गर्ने ।
  • समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरू बाहेक हालसम्म कुनै अवसर नपाएकाहरू मध्ये बाट बनाइनुपर्ने पर्ने।
  • केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिमा अवसर नपाएका युवाहरू मध्येबाट उचित प्रतिनिधित्व गराउने
  • क्रियाशील सदस्यता छानबिन समिति तुरुन्त बनाउने ।
  • विधान संशोधन समिति बनाउने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप