कात्तिक १५ देखि १७ गतेसम्मको वर्षाको प्रभाव : कोशीमा २ अर्ब ५ करोड बराबरको कृषि बालीमा क्षति
सारांश
- कोशी प्रदेशमा अविरल वर्षाका कारण कृषि बालीमा २ अर्बभन्दा बढीको क्षति पुगेको छ।
- झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ, जसले गर्दा ठूलो मात्रामा धानबालीमा नोक्सान भएको छ।
- तराई, पहाड र हिमाली जिल्लाहरूमा धानबालीमा भएको क्षतिको विवरण पनि उल्लेख गरिएको छ।
विराटनगर । कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाका कारण कोशी प्रदेशमा कृषि बालीमा २ अर्ब बढीको क्षति पुगेको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार यस क्षेत्रमा १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको हो ।
निर्देशनालयका अनुसार ५८ हजार २६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ । यसमध्ये २ हजार मेट्रिकटन तरकारी बालीमा क्षति पुगेको छ । तरकारीको मूल्य ४ करोड रुपैयाँ बराबर छ भने धानको मूल्य २ अर्ब १ करोडभन्दा बढी देखिएको छ । जम्मा क्षति भने २ अर्ब ५ करोड ५४ लाख ३६ हजार ७ सय ९० रुपैयाँ रहेको निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिइन् ।
तथ्याङ्कअनुसार झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । झापामा ४ हजार ३६४ हेक्टरमा लगाएको धान बालीमा क्षति पुगेको छ, जसबाट २१ हजार ८२० मेट्रिक टन धानमा नोक्सान हुँदा अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ नोक्सान भएको छ ।
त्यसैगरी मोरङमा ३ हजार ४२१ हेक्टरमा १६ हजार ४२० दशमलव ८ मेट्रिक टन धानमा क्षति भएको छ, जसको मूल्य ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ । सुनसरीमा २ हजार ८५१ हेक्टरमा १२ हजार ६५८ दशमलव ४४ मेट्रिक टन धानमा क्षति पुगेको छ, जसको मूल्य ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ छ ।
सुनसरीमै २ सय हेक्टरमा लगाएको तरकारी बालीमा पनि क्षति पुगेको छ, जसको मूल्य ४ करोड रुपैयाँ बराबर छ । पहाडी जिल्लामध्ये उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २ सय हेक्टर, ओखलढुंगामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र संखुवासभामा १२५ हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पुगेको छ । यी सबै धान बालीमा बीमा नभएको निर्देशनालयले जनाएको छ ।
यस्तै तराईका जिल्लामा २० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५–३० प्रतिशत क्षति भएको हो । पहाडी जिल्लामा ८–१० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति पुगेको निर्देशनालयको तथ्याङ्क छ । तराई र पहाडको तुलनामा हिमाली जिल्लामा कम क्षति भएको छ । हिमाली जिल्लामा ५–६ प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति भएको तथ्याङ्क छ ।
हेर्नुहोस् विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण