शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीमा कार्की नियुक्त विरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकियो

बुधबार, १९ कात्तिक २०८२, ११ : ३७
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरिएको छ।
  • रिटमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लंघन गरेको र सेनासमेत जिम्मेवार रहेको आरोप लगाइएको छ।
  • निवेदनमा संविधानको धारा ७६ र १३२(२) को उल्लङ्घन भएको र बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्न नमिल्ने जिकिर गरिएको छ।

काठमाडौँ । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीसहितको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएकाले नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता डा.पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए ।

खतिवडाले रिटमा पूर्व प्रधानन्यायाधीश भएको व्यक्ति अहिलेको संविधानले प्रधानमन्त्री बन्न नमिल्ने उल्लेख गरेका छन् । साथै राष्ट्रपतिले संविधानको पालना नगरेको र अहिलेको यो अवस्थामा नेपाली सेना पनि जिम्मेवार रहेको र राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई समेत विपक्षी बनाइएको छ ।

राष्ट्रपतिबाट २०८२ भदौ २७ मा प्रधानमन्त्रीमा नियुक्त भई धारा ८० बमोजिम शपथ लिएकी सुशीला कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६ र १३२ (२) को समेत ठाडो उल्लङ्घन भएकाले बदरभागी भएको रिट निवेदनमा उल्लेख छ । 

त्यस्तै, उनले रिट निवेदनमा राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउ गर्ने कुनै अधिकार नभएको जिकिर गरेका छन् । नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउने अधिकार नदिएको र संविधानले राष्ट्रपतिलाई संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउने वा संविधानको कुनै धारालाई निष्क्रिय वा उल्लङ्घन गर्ने छुट अधिकार वा विशेषाधिकार समेत प्रदान नगरेको रिटमा उल्लेख छ । 

धारा ३०५ मा गरिएको बाधा अड्काउ फुकाउने अधिकारको प्रयोग गर्ने समयावधि पहिल्यै समाप्त भइसकेको अवस्था छ ।  ‘यस्तो अवस्थामा आवश्यकताको सिद्धान्तको सहारा लिन मिल्दैन,’ रिटमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप