उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
सारांश
- फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
- मेक्सिकोका लागि जुलियन क्विनोनेसले ९औँ मिनेटमा र राउल जिमिनेजले ६७औँ मिनेटमा गोल गरे ।
- खेलमा तीन रातो कार्ड देखाइएको थियो, जसमा दक्षिण अफ्रिकाका दुई खेलाडी र मेक्सिकोका कप्तान सेसार मोन्टेस थिए ।
काठमाडौँ। फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टेका रङ्गशालामा शुक्रबार बिहान भएको खेलमा दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले स्पष्ट ३ अङ्क जोडेको हो ।
मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमिनेजले एक–एक गोल गरे। खेलको ९औँ मिनेटमै क्विनोनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६७औँ मिनेटमा स्टार स्ट्राइकर राउल जिमिनेजले गोल गर्दै मेक्सिकोको जित सुनिश्चित ग रे।
गोलका साथै यो खेल ‘रातो कार्ड’ का कारण पनि निकै नाटकीय बन्यो । खेल अवधिभर रेफ्रीले तीनवटा रातो कार्ड देखाए । दक्षिण अफ्रिकाका दुई खेलाडी याया सिथोले (५०औँ मिनेट) र थेम्बा ज्वान (८२औँ मिनेट) रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
खेलको अन्तिम तिर मेक्सिकोका कप्तान सेसार मोन्टेसले पनि अनावश्यक फल गरेपछि सिधै रातो कार्ड पाएर मैदान बाहिरिएका थिए । अन्तिम समयमा मेक्सिको १० खेलाडीमा र दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित भएको थियो ।
यो जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले प्रतियोगितामा उत्साहजनक सुरुवात गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण