मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
समाचार

जाँचबुझ आयोगमा रवि लामिछानेको ७ घण्टा १५ मिनेट बयान

बुधबार, १९ कात्तिक २०८२, २० : ३३
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • रास्वपा सभापति रवि लामिछानेले सहकारी रकम हिनामिना मुद्दामा जाँचबुझ आयोगमा ७ घण्टा बयान दिए।
  • उनलाई नख्खु कारागारबाट सिंहदरबारमा उपस्थित गराइएको थियो र बयानपछि फर्काइएको छ।
  • आयोगले जेलर र रविसँग जेलबाट निस्कँदाको घटना र पत्रबारे सोधपुछ गरेको थियो।

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष करिब ७ घण्टा १५ मिनेट  बयान दिएका छन् । 

बयान सकेर उनलाई कारागार फर्काइएको छ । बुधबार मध्यान्ह १ बजे उनलाई  नख्खु कारागारबाट सिंहदरबार स्थित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको थियो ।

जेनजी प्रदर्शनमा भएको प्रहरी दमन र देशभरको उच्छृङ्खल गतविधिबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले छानबिन गरिरहेको छ । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र अधिवक्ता विन्देश्वरी भण्डारी सदस्य छन् ।

भदौ २४ मा लामिछाने नख्खु कारागारबाट निस्केका थिए । त्यसपछि देशभर कारागारको गेट तोडेर कैदीबन्दी निस्कने र कारागार भित्र आगजनी गर्ने लहर चलेको थियो । आयोगका पदाधिकारीहरूले लामिछानेसँग त्यसबारे बयान लिएका छन् ।

लामिछाने जेलबाट निस्केपछि आफूलाई रिहा गरिएको पत्र सार्वजनिक गरे । पत्रबारे प्रश्न उठेपछि उनी फेरी कारागार फर्केका थिए । आयोगका पदाधिकारीले त्यसबारे प्रश्न गरेका छन् । त्यसबेला सार्वजनिक गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो । 

पत्रमा भनिएको थियो, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो । 

गत भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले डेढ घण्टापछि आएर आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप