जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छ : गभर्नर पौडेल
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नरले जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताए ।
- उद्योग वाणिज्य महासंघका अध्यक्षले जेनजी आन्दोलनमा घुसपैठ भएको र हिंसात्मक भएको दाबी गरे ।
- विभिन्न राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनको कारण र समाधानबारे आ-आफ्ना धारणा राखे ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् । नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उहाँले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताए ।
उनले भने, ‘विगत एक दुई वर्षदेखि नै पैसा भए पनि लगानी विस्तार नभएको अवस्था थियो, हामीले ठूलो लगानी ल्याउन सकेका थिएनौँ, यस्तो अवस्थामा जेनजी आन्दोलन भएपछि यसले थप समस्यामा पारेको छ ।’
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठ भएकाले निजी र सरकारी संरचनामा आक्रमण भएको धारणा राखे । उनले जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघि बढे पनि घुसपैठ भएकाले आन्दोलन हिंसात्मक भएको दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूले व्यक्तिमुखीभन्दा पनि प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘जेनजी आन्दोलनले देखाएको असन्तुष्टिलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिनुपर्छ, हामीले व्यक्तिमा होइन, प्रणालीमा सुधार ल्याउन जरुरी छ ।’
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलन कांग्रेसप्रति पनि लक्षित भएको बताए । आन्दोलन हुने समयमा कांग्रेस सरकारमा रहेकाले त्यसको जिम्मेवारी पार्टीले लिनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘सरकारमा भएको हिसाबले जेनजीको खबरदारी कांग्रेस लक्षित पनि हो । सधैँ क्रान्तिको नेतृत्व गरेको पार्टी हो कांग्रेस तर त्यो दुई दिन कांग्रेसको विरुद्धमा पनि जनता आएका थिए । कम्तीमा हाम्रो पार्टीको नेतृत्वले यति कुरा पार्टी बचाउनको लागि पनि ख्याल गर्नुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीले वर्तमान राजनीतिक अवस्था जटिल र अविश्वासपूर्ण बनेको टिप्पणी गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले जेनजी आन्दोलन लामो समयदेखिको असन्तुष्टिका कारण भएको बताए ।
जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जेनजी आन्दोलनका भाग नलिएकाहरुले आन्दोलनको जस लिन अग्रसर भएको जिकिर गरे । महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोहपछिको राजनीतिक अवस्थालाई सरकारका लागि अवसर र चुनौती दुवै भएको बताइन् ।
उनले भनिन्– ‘सरकार गठन हुँदा सुशासनका विषयमा ध्यान दिनुपर्छ भनेर भनिएको थियो, अभियोजन र सजायका कुरा आफ्ना ठाउँमा छन्, तर त्यससँगै विभिन्न आवाजहरू उठिरहेका छन् । तर कसैलाई दोषी ठहर गर्न प्रमाण आवश्यक हुन्छ ।’
उनले प्रहरी प्रशासन अनुसन्धानमा सक्रिय रहेको र मिडियामा नदेखिए पनि आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको बताइन् । कार्यक्रम संयोजक सन्तोष गिरीले जेनजी विद्रोह असन्तुष्टिको नतिजा भएको बताए ।
‘हामीले आजको संवाद नीति परिवर्तनमा, त्यसलाई कार्यान्वयनमा र त्यसलाई मुलुक निर्माणमा रुपान्तरण गर्न चाहन्छौँ, मुलुक त्यति बेला मात्रै बन्द जतिबेला नागरिकहरु पनि उत्तिकै जिम्मेवार हुन्छन्’, उनले भने, ‘यो कार्यक्रम नागरिक चेतनाको पुनःजागरणका लागि पनि हो, हामीलाई विश्वास छ, जब नागरिक उठ्छन्, तब मुलुकको दिशा र दशा बदलिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण