बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो

बिहीबार, २० कात्तिक २०८२, ०१ : ३९
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • शुक्लाफाँटा नगरपालिकाले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि उत्पादनमा सुधार आएको छ।
  • पशुचौपाया व्यवस्थापन केन्द्रले सहुलियत दरमा मल उपलब्ध गराउँदा माटोको उर्वरा शक्तिमा वृद्धि भएको छ।
  • प्राङ्गारिक मलको प्रयोगले माटोको गुणस्तरमा सुधार गर्नुका साथै वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहन गरेको छ।

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ ।

व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन थालेपछि माटोको उर्वराशक्ति र उत्पादनमा वृद्धि शुन थालेको हो ।

शुक्लाफाँटा–९ का वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार किसानलाई अहिले प्रतिट्याक्टर रु चार हजार ५०० मा प्राङ्गारिक मल उपलब्ध गराउने व्यवस्था गरिएको छ । “किसानलाई रासायनिक मलको असर र प्राङ्गारिक मलका फाइदाबारे निरन्तर सचेतना दिइरहेका छौँ”, उनले भने, “रासायनिक मलले माटोको गुणस्तर घटाउँछ भने प्राङ्गारिक मलले दीर्घकालीन रूपमा उर्वर बनाउँछ ।”

पछिल्लो समय सचेतना फैलाउन थालेपछि प्राङ्गारिक मलको माग पनि बढिरहेको बताउँदै ऐरले अहिले १५ देखि २० ट्याक्टर मल मौज्दात रहेको जानकारी दिए । उनका अनुसार पराल दिने किसानलाई निःशुल्क मल वितरणको व्यवस्था गरिएको छ । 

“एक ट्याक्टर पराल ल्याउने किसानलाई सोही परिणाममा निःशुल्क मल दिन्छौँ”, वडाध्यक्ष ऐरले भने, “यसले पशुचौपायाका लागि परालको आपूर्ति सहज बनाएको छ भने केन्द्रलाई पराल खरिदमा लाग्ने खर्च पनि घटाएको छ ।” मल बिक्रीबाट प्राप्त रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्ने जनाउँदै उनले उक्त रकम वडाको पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने उल्लेख गरे।

नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको उक्त केन्द्रमा हाल करिब चार सयभन्दा बढी पशुचौपाया राखिएका छन् । चौपायाको चारो, घाँस, औषधोपचार, हेरचाह र हेरालाका लागि नगरपालिकाले खर्च व्यवस्थापन गर्दै आएको छ । 

पछिल्लो समय उत्पादनमा सुधार हुन थालेपछि किसानले पनि प्राङ्गारिक मलको फाइदा अनुभव गर्न थालेका आलुखेतीमा संलग्न लालबहादुर ऐरले बताए । प्राङ्गारिक मलको प्रयोगपछि माटोको गुणस्तरमा सुधार आउनुका साथै विगतका वर्षको तुलनामा उत्पादन पनि बढेको उनको भनाइ छ । “पाँच बिघामा आलुखेती गरेको बताउँदै उनले केन्द्रबाट ल्याइएको मल प्रभावकारी देखिएको महसुस भइरहेको धारणा राखे ।

“पहिले रासायनिक मल प्रयोग गर्दा बाली राम्रो लाग्थ्यो, तर वर्षौँपछि माटोको गुणस्तरमा नकारात्मक असर पर्दै गयो”, किसान भागिराम चौधरीले भने, “जबदेखि प्राङ्गारिक मलको प्रयोग गर्न थाल्यौँ, माटो फेरि जीवित जस्तो भएको अनुभूति गरेका छौँ ।”

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्नुका साथै मानव स्वास्थ्य र वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढा ऐरले बताए । उनका अनुसार नगरपालिकाले दीर्घकालीन योजना बनाएर अभियानका रूपमा रासायनिक मलको प्रयोग घटाउने र वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप