कांग्रेस विधानमा ‘विशेष महाधिवेशन’सम्बन्धी के-के छन् व्यवस्था ?
सारांश
- नेपाली कांग्रेसका २,४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्।
- कांग्रेस विधानमा विशेष महाधिवेशन बोलाउने व्यवस्था भए पनि प्रक्रिया भने स्पष्ट छैन।
- नियमित महाधिवेशन मंसिर मसान्तभित्र नभए विशेष महाधिवेशन गर्नुपर्ने माग छ।
काठमाडौँ । नेपाली कांग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् । गत असोज २९ गते बुझाइएको हस्ताक्षरसहितको पत्रमा मंसिर मसान्तभित्र नियमित महाधिवेशन हुनुपर्ने नभएमा विशेष महाधिवेशन गर्नुपर्ने उल्लेख छ ।
असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशन कहिले गर्ने भन्ने विवाद भइरहेको छ । यदी नियमित महाधिवेशन तत्काल नहुने भयो भने विशेष महाधिवेशनका लागि कांग्रेस विधानमा केही व्यवस्थाहरू राखिएको छ ।
२०१७ सालमा निर्माण भएको र विभिन्न समयमा संशोधन गरिएको कांग्रेसको विधानमा तीन अवस्थामा विशेष महाधिवेशन हुन सक्छ । विधानको धारा १७ (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यकता महसुस गरे विशेष महाधिवेशन बोलाउन सक्छ ।
त्यही धारा अनुसार केन्द्रीय कार्यसमितिले बाहेक ४० प्रतिशत केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाई केन्द्र समक्ष विशेष महाधिवेशनका लागि लिखित अनुरोध गर्न सक्छन् । अहिले केन्द्रमा पेस भएको हस्ताक्षर यही व्यवस्थाअन्तर्गत हो ।
विधानको धारा १७ (२) मा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ भन्ने लेखिएको छ ।
कांग्रेस विधानमा पार्टी सभापतिले पदबाट राजीनामा दिएमा वा कुनै कारणले पद रिक्त भएमा पनि विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व छनौट गर्न सक्ने व्यवस्था छ ।
विधानको धारा २६ केन्द्रीय सभापतिको राजीनामा सम्बन्धी व्यवस्था छ । त्यो व्यवस्थामा विशेष महाधिवेशनबारे ३ विषय लेखिएको छ । ती विषय यस्ता छन् :
१) केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उप–सभापतिमार्फत् केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने छ ।
२) केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उप–सभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछ र ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
३) अन्य कुनै कारणबाट केन्द्रीय सभापतिको पद रिक्त हुन आएमा उपधारा (२) बमोजिम गरिने छ ।
विशेष महाधिवेशन गर्ने व्यवस्था विधानमा राखिए पनि कसरी गर्ने ? प्रक्रिया के हुने भन्ने विधान, नियमावली कतै पनि उल्लेख छैन । विधानमा उल्लेख नभएकाले नेताहरूले आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् । विशेष महाधिवेशन माग्ने र गर्न हुन्न भन्ने पक्षका नेताहरूले यही क्लजलाई देखाएर आ–आफ्नो तरिकाले व्याख्या गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण