चाकपा (बिजुली वाहिनी)
सारांश
- लेखकले ०४६ सालको जनआन्दोलनपछि छोटो बाटोबाट नाम र दाम कमाउने होडबाजीको व्यंग्य गरेका छन्।
- लेखकले 'चाकपा (बिजुली वाहिनी)' जस्ता पार्टी खोल्ने प्रवृत्ति र त्यसपछिका स्वार्थमाथि प्रकाश पारेका छन्।
- लेखकले मार्क्सवादको नाममा सुनको माछो बल्झाउने र जनताको दुःखको व्यापार गर्ने प्रवृत्तिलाई आलोचना गरेका छन्।
(छयालीस सालको जनआन्दोलनको धक्काले बहुदलको द्वार खोलेपछि छोटो बाटोबाट छिटो नाम र दाम कमाउने दाउले पार्टी खोल्ने होड चल्यो । अहिले जेन्जी आन्दोलनको हलचलपछि फेरि उही दाउले पार्टी खोल्ने उस्तै होड चलेको छ । यो होडले मलाई कल्पनालोकमा सुषुप्त रहेको आफ्नो पार्टीको याद दिलायो । र, मलाई लाग्यो— आफ्नो अजात पार्टीको रचनागर्भको कथा लोकलाई म किन नसुनाऊँँ ? तसर्थ ०४८ सालमा लेखिएको यो मुलायम हास्य यहाँ प्रस्तुत छ ।)
यो शीर्षक देख्दैमा मेरा प्रिय पाठकहरूका मनमा चस्को पस्ला— कतै अर्को झुत्रे पार्टी खुलेको त होइन ? पार्टी खुलेको होस् वा नहोस्, यसको एउटा झुत्रे कथा भने अवश्य छ । जनआन्दोलन टुङ्गिदा नटुङ्गिदै सहिदका रगतको पोखरीमा सुनको माछो बल्झाउने दाउको होड सुरु भयो ।
हिजो जनताका छाती र शिर ताकी–ताकी गोली हान्नेहरूले रातारात नयाँ औतार धारण गरे । तिनमा कोही भए प्रजातन्त्रवादी, कोही भए जनवादी । तिनमध्ये ज–जसका पार्टी नाउँका पुड्का चौतारी थिए, ती आ–आफ्ना झुत्रे झण्डा बोकेर चौतारीमा उभिए ।
ज–जसका थिएनन्, तिनले पार्टी नाउँका बल्छी बनाए । सके तिनको तर्क यस्तो होला— कत्रो दुःख गरेर सहिद बनाउने म, भाग खाने अर्को ? र, आफ्ना कर्मको फल आफैँ भोग गर्न होडबाजीमा ती अगुवा भए । सहिदका रगतको पोखरीमा सुनका माछा बल्झाउन तिनले वाक्छलका बल्छी थापे ।
तिनका बल्छीको नाउँ प्रजातन्त्र पार्टी, जनता दल आदि हुन् । यी त एकाध नमुना मात्र हुन् । यस्ता बल्छी भनिनसक्नु र गनिनसक्नु छन् ।
तपाईं भन्नु होला, शीर्षक चाकपा (बिजुली वाहिनी) राखेर यी बेप्रसङ्गका कुरा किन ? किनभने यो ‘बिजुली वाहिनी’ आफैँ एउटा बेप्रसङ्गको बिठ्याइँ हो । जनआन्दोलन सम्झौतामा टुङ्गिएपछि एक दिन एक जना बूढा मित्रसँग भेट भयो । उनी परे जमानाका कम्निस्ट नेता ।
मनमा एउटा कम्निस्ट पार्टी खोल्ने रहर छ, तर जनताका नाउँमा आफ्नो भन्नु जगत्मा कोही बाँकी छैन ।
पञ्चायतको खाँडो जागेपछि उनको राजनीति आफ्नै मनको अँध्यारो कुनामा कतै बास बस्यो । अनि निजी स्वार्थको थैलोमा लुकेर उनी झण्डै पच्चीस–तीस वर्ष सार्वजनिक जीवनबाट अलप भए । जनआन्दोलन भयो । अनि टुँडिखेलको खुला डबलीमा आफ्ना बूढा दौंतरीहरु गर्जेको सुन्दा उनमा पनि एक बारको जुनीमा अमर बन्ने रहर लागेछ ।
धेरैले बिना जनबलका कम्निस्ट दल खोलेका देख्दा उनलाई पनि लाग्यो क्यार— अरे, म पनि त जमानामा केही थिएँ । मौका पाउँदा म फेरि यसो केही किन नबनूँ ? उजाड मनमा रहर त जाग्यो तर रहर पोख्ने कसका अगाडि ? हेर्नोस्त मान्छे मुलाको दुःख !
मनमा एउटा कम्निस्ट पार्टी खोल्ने रहर छ, तर जनताका नाउँमा आफ्नो भन्नु जगत्मा कोही बाँकी छैन । सन्तापले सताइरहेको घडीमा म उनकहाँ पुगेंछु । भेट हुनासाथ हौसिँदै भन्न थाले— ‘हेर्नोस्त ! त्यो फलानो पार्टीमा म कहाँ माथि पुग्दा त्यो कहाँ तल थियो । अहिले त्यै नेता भइसक्यो । अनि त्यो फलानो... । त्यो उमेरले म भन्दा कान्छो, बुद्धिले मभन्दा सानो । को–को, के–के भइसके । आफूमात्र न यता, न उता ।’
बूढालाई नियालेर हेरेँ— गाला सात मुजा परेका छन्, जीवनप्रतिको आस्था मरिसकेका आँखा फुस्रा छन् । हिजोसम्म जे जसरी हुन्छ जगत्लाई दाबेर दौलत थुपार्ने धामा थियो । आज सहिदले भाषणका डबली उघारिदिएपछि पार्टी खोल्ने तृष्णा जाग्यो ।
चित्तको सातपत्रे विकार पोखिसकेपछि बूढा मित्रले भने— ‘कि खोल्ने हो केही ?’
कमलपित्ते मुस्कानसाथ मैले सोधेँ— ‘के ?’
‘हँ ?’ एक्कासि उनी झस्के । मानौँ अरू कसैले केही खोल्नु भनेको उनका घरघडेरीमै हात हाल्नु हो ।
‘त्यस्तै पार्टीजस्तै, यसो त्यस्तै–उस्तै सानोतिनो केही... ।’
सुनेर मलाई हाँस उठ्यो । छातीमाथि सुनको असर्फी राखेर आर्यघाटतिर लाग्ने बेलामा पार्टी खोल्नाको त्यत्रो हुट्हुटी ! अझ त्यसमाथि कम्निस्ट पार्टी नै चाहिने ।
प्रसङ्ग तुर्न मलाई हतार लाग्यो ।
हिँड्न पाइला चाल्दै मैले भनेँ— ‘त्यो त खुलिसक्यो ।’
‘हँ ?’ एक्कासि उनी झस्के । मानौँ अरू कसैले केही खोल्नु भनेको उनका घरघडेरीमै हात हाल्नु हो । उनका अनुहारमा एक तमासको भाव झल्क्यो, मानौँ जसले त्यो खोल्यो जगत् उसले जित्यो, त्यो खोल्न नपाउँदा जगत् उनले हारे ।
‘उसो भए त्यो खोलियो ?’ विस्मयको स्वरमा उनले सोधे— ‘नाउँ के नि ?’
‘चाकपा (बिजुली वाहिनी ।’
‘अनि यसको पूरा माने ?’
‘चा’ माने चाकरी । ‘क’ माने ठाउँ र दाउ हेरिकन कम्निस्ट, कांग्रेस वा कमाण्डो । ‘पा’ माने पार्टी । ‘बिजुली वाहिनी’ माने जगत्का आँखा छक्याउने शब्दको तिरिमिरी ।
थोतो मुखभित्र उनले यो नाउँ खेलाए । उनका अनुहारको भावले भनिरहेथ्यो— ‘वाह, चाकपा (बिजुली वाहिनी) ! क्या गजपको नाउँ ! तर अपसोच, त्यो नाउँ अब फुत्किसक्यो ।’
टोलछिमेकका मित्रहरुमाझ हल्का गफको लहर चल्दा एक दिन मैले माथिको घटनाको चर्चा गरें । त्यहाँ हाँसोको होडबाजी देख्दा मलाई लाग्यो, यस अशिष्ट व्यङ्ग्यमार्फत् सबैका चित्तको पित्त पोखिएछ । अनि के चाहियो र ? उच्च आदर्श र जनबलबिनाका गनिनसक्नु बतासे पार्टी सरह चाकपा (बिजुली वाहिनी) चर्चामा आउन थाल्यो ।
हेर्नोस्त, सबभन्दा तुच्छ स्वार्थ साध्नका निम्ति सबभन्दा उच्च विचारको यो खुला बेपार । यसलाई सहिदका रगतको पोखरीमा सुनको माछो बल्झाउने दाउ नभनेर के भन्ने ?
माटामा बीउ कतै रोपेको छैन, कतै शून्यमा यसको अदृश्य अस्तित्वबिनाको अस्तित्व तुन्द्रुङ्ग झुण्डिसक्यो । मलाई लाग्छ, यस्ता हवाई दल आज अस्तित्व बिनाको अस्तित्वमा भकाभक आइरहेछन् । कसैलाई टोले दादा हुन रहर लाग्यो, एउटा कम्निस्ट पार्टी खोल्यो । आफू महासचिव, स्वास्नी कोषाध्यक्ष, छन् भने छोराछोरी र नोकरचाकर सदस्य । बेलाबखत एकाध व्यक्तव्य जारी गर्यो, कसैले जन बटुलिदिए भाषणका पर्रा छुटायो, पाए भोज खायो, आफ्नो प्रस्तावमा आफैँ समर्थनको सही छाप लगायो । बस्, त्यत्तिको नाउँ कम्निस्ट पार्टी ।
के यो सहिदका रगतको पोखरीमा सुनको माछो बल्झाउने कमाण्डो दाउकै अर्को रुप होइन ? अनि तिनका गुलिया वचनभित्रको त्यो स्वार्थलिप्सा, कस्तो भयङ्कर छ त्यो ! दैव दाहिना भएर टालटोले सरकार बन्ने जोगमेसो मिलेमा सके एक थान फुल मन्त्री हात लाग्ला । त्यो नभए राज्यमन्त्री त कसो आइ नलाग्ला ? त्यो पनि नभए एक थान सहायक मन्त्री त कहाँ जाला ? ल त्यो पनि भएनछ भने मलमूत्र व्यवस्थापनतर्पmको टुकुचा मन्त्री त कहाँ जाला ?
हेर्नोस्त, सबभन्दा तुच्छ स्वार्थ साध्नका निम्ति सबभन्दा उच्च विचारको यो खुला बेपार । यसलाई सहिदका रगतको पोखरीमा सुनको माछो बल्झाउने दाउ नभनेर के भन्ने ?
उच्च विचारको तुच्छ बेपारको यो कथा यत्तिकैमा टुङ्गिदैन । खण्डित समाजलाई पूर्ण समाज र खण्डित मानवलाई पूर्ण मानव बनाउने दार्शनिक आदर्शको नाउँ हो माक्र्सवाद । तर सोही माक्र्सवादको माला जप्दै जीवनको थप खण्डीकरणको रेस धुँधडाकासाथ चल्दो छ ।
आफू एकाध लगौंटिया यार मदिरापानको मुद्रामा कतै जुट्यो, खोटो स्वार्थको झण्डामुन्तिर एउटा कम्निस्ट पार्टी खोल्यो, र जगत्मा म एक जना पनि छु र म भनेको मै हुँ भन्ने जनाउन पार्टीको नाउँमुनि दम्भको एउटा लिँडे पुच्छर गाँस्यो— फलानाको फलानो समूह । मानौँ कम्निस्ट पार्टी भनेको त्यस फलानाको एकलौटी घरघडेरी हो, जसको मूल ढोकामा लेख्ने गरिन्छ— श्री हनुमान निवास, श्री कुवेर कुटी आदि ।
मेरा प्रिय पाठकहरुलाई लाग्ला, कतै म कम्निस्ट पार्टी विरोधी नै त होइन ? कुरो त्यसो होइन । श्रमिक जनगणले आफ्नो मुक्तिका आशा टेकाउने एक मात्र सहारा त्यै छ भने त्यसैको विरोध कसरी गर्ने ?
हेर्नोस्त जीवनको यो उग्र खण्डीकरण र उच्च विचारको यो चरम विकृतिकरण !
जनजीवनमा चर्को शोषण छ । त्यसैले सुनको माछो बल्झाउन शोषणविरोधी एकाध कुरा गर्नैपर्छ । जनजीवनमा ठुलो दुःख छ । त्यसैले सुनको माछो बल्झाउन जनताको दुःखप्रति गोहीका आँसु झार्नैपर्छ । जनजीवन आँसुको दहमा डुबेको छ । त्यसैले सुनको माछो बल्झाउन जनताका आँसु पुछिदिने केही न केही वाचा गर्नैपर्छ ।
हेर्नोस्त जनकल्याणका नाउँमा जनताका दुःख र आँसुको यो सस्तो बेपार !
मेरा प्रिय पाठकहरुलाई लाग्ला, कतै म कम्निस्ट पार्टी विरोधी नै त होइन ? कुरो त्यसो होइन । श्रमिक जनगणले आफ्नो मुक्तिका आशा टेकाउने एक मात्र सहारा त्यै छ भने त्यसैको विरोध कसरी गर्ने ? तर कम्निस्ट पार्टी भनेको त सारा श्रमिक जनगणका क्रियाशील सपनाको एकमुष्ट अभिव्यक्ति हो, नेतैपिच्छेको पुच्छर गाँसिएको कुनै खण्डे थाल होइन ।
कालचक्रको परिबन्दले खण्डे थालको सीमाभित्र निसासिनु परेका त्यस्ता थुप्रै जनवीरहरु मेरा आँखा सामु छन्, जो सुन्दर समाज र पूर्ण मानवको रचना गर्ने धावामा चोखो मनले जुटेका छन् । तिनका सुन्दर सपना, तिनका सद्विवेक, आफ्नो वर्गीय आदर्शका निम्ति ज्युज्यान अर्पण गर्ने तत्परता, जनजागरणका निम्ति जाँगर, खण्डे थालका बारबन्देज तोडी, गरिखाने जनताको फराकिला एकताका निम्ति तिनले गरिरहेका सत्प्रयास, जसको चित्तमा लेसमात्र पनि मानव मङ्गलको कामना छ, उसले यी कुराको विरोध किन गर्छ ?
तर एकताको नाउँमा निरन्तर फाटोको खेती, मार्क्सवादका नाउँमा सुनको माछो बल्झाउने धपेटी, जनमुक्तिका नाउँमा जहानको फरिया फेर्ने दाउ— खै यस मनोवृत्तिलाई पो के भन्ने ?
‘हँ बाबु !’ बूढाले घरिघरि उही कुरा सोधे— ‘के हुँदैछ त्यो बिजुली वाहिनी ?’
हिजो छाडी अस्ति ती बूढा मित्रसँग मेरो फेरि भेट भयो । उनी उस्तै उदास मुद्रामा थिए । यो पाँच हप्ताको छोटो अन्तरालमा उनी अर्को पाँच वर्षले बूढा भएछन् । मलाई लाग्यो, पार्टी खोल्न नपाउँदाको पीडाले बूढालाई गर्नु ग्रास गरेछ । भेट हुनासाथ सोधिहाले— ‘हँ बाबु, के हुँदैछ त्यो चाकपा (बिजुली वाहिनी) ?’
हेर्नोस्त जे छँदैछैन त्यसैको यत्रो चर्चा ? हुँदै नभएका यस्ता पार्टीको चर्चा बेची खाने मानवद्वेषीहरु यस समाजमा कति होलान् ?
‘हँ बाबु !’ बूढाले घरिघरि उही कुरा सोधे— ‘के हुँदैछ त्यो बिजुली वाहिनी ?’
मान्छे मुलाको दुःख पनि कस्तो–कस्तो हकि ! बूढाको अमर बन्ने त्यो निस्सार चाहनाप्रति मलाई दया लाग्यो । र, मनमनै भनेँ— ‘भाँडमा जाओस् झिल्को बिनाको बिजुली वाहिनी !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण