ऊ र हाकिम
सारांश
- एउटा व्यक्तिको कथा जसले परिवार र कामलाई सन्तुलनमा राख्न संघर्ष गर्छ, बिरामी आफन्तहरूको हेरचाह गर्दै।
- नयाँ हाकिमको आगमन र कर्मचारीहरूको प्रशंसाले उसको जीवनमा परिवर्तन ल्याउँछ, तर पारिवारिक स्वास्थ्य समस्याहरूले सधैं चुनौती दिइरहन्छन्।
- अफिसको रजत महोत्सवमा हाकिमको भाषण र उनको व्यक्तिगत जीवन बीचको विरोधाभासलाई चित्रण गरिएको छ।
सानो घर, ठुलो परिवार जसोतसो सुखमा होइन दुःखमा नै चलिरहेको छ । इमानदारिता र सरलताले गर्दा दुःखले साथ छोडेको छैन । घरमा बिरामी बुढा बा आमा, अपाङ्ग बैनी, स–साना छोरा–छोरी र गौप्राणी भन्ने शब्द उनैका लागि बनाए जस्तो उनै श्रीमती छिन् घरमा ।
श्रेणी विहीन जागिर छ । घरको, बिहान बेलुकाको काम र दिउँसोको अफिसको काम त दैनिकी नै हो । जसरी भए पनि गर्नु नै छ ।
नजिकका अस्पतालका सबै डाक्टर र सबै स्टाफले उसलाई राम्ररी चिन्छन् । भिडै भए पनि उसले लाइनमा बस्नु पर्दैन । सिधै डाक्टर भेट्न पाउँछ । हप्तामा पाँच दिन जति त अस्पताल न पुगेको हप्ता नै हुँदैन उसको ।
कहिले बा कहिले आमा कहिले बैनी छोरा–छोरी र कहिलेकाहीँ आफन्त छरछिमेक सबैलाई उसैले अस्पताल लाने गर्छ । धन्न इमानदार, अफिसको काममा समेत दक्ष र लगनशील भएका कारण हाकिमले उसलाई असजिलो बनाइदिएका छैनन् ।
घर र अफिस नजिकै भएकाले पनि उसलाई निक्कै सजिलो भएको छ । अफिसका सहकर्मीले समेत उसलाई सहानुभूति र माया गर्छन् । केही फाट्टफुट्टले उसको कुरा लगाए पनि हाकिमले सुन्ने गरेका छैनन् ।
हाकिमको हस्ताक्षरदेखि बाहेक सबै काम उ एक्लै गर्छ । उसलाई दुःख छ तर ऊ खुसी छ । दिनचर्या यसरी नै चलेको छ उसको । समयले धेरै लामो वर्ष काटी सकेको छ । उसको जीवनमा भने त्यही दैनिकी, अझै ५ दिनबाट सातै दिन अस्पताल धाउने भएको छ ।
विवाह, व्रतबन्ध, भोज–भतेरको निम्तोमा चाहिँ खासै जाँदैन वा जाने समय नै मिल्दैन ।
देशमा राजनीतिक रूपमा उथलपुथल हुन्छ । उसलाई कुनै असर पर्दैन । कहिलेकाहीँ आमसभामा पछाडि बाँसको आडमा उभिएर केही भाषण सुन्नुबाहेक । तर, देशको संरचना बदलिन्छ । देशमा विकासको मुलफुट्ने समाचारहरू प्रशस्त छापिन थाल्छन् ।
टिभी रेडियोमा नेताहरूका लामालामा बहसहरू चल्छन् । यी सब कुराले उसको मनमा किन हो कुन्नि चिसो पसेझैँ हुन्छ ।
दिनको करिब साढे एक जति बजेको हुँदो हो । ऊ अफिसमा काम गर्दै हुन्छ । अरू सहकर्मी कोही खाजा खान क्यान्टिनतिर र कोही घरैबाट ल्याएको खाजा टेबलमै बसेर खाइरहेका हुन्छन् । उसलाई खाजा खान फुर्सद नभएर हो या खाजा नल्याएर काममै व्यस्त हुन्छ ।
गाइँगुइँ–गाइँगुइँ आवाजसँगै सबै कर्मचारीहरू एकै ठाउँमा भेला हुन्छन् । कोही के, कोही के भन्छन् । अन्ततः अफिसका हाकिमको सरुवा भएको रहेछ । केही कर्मचारीको अनुहारमा खुसी देखिन्छ भने अधिकांश निन्याउरो भएर दुःख मनाइरहेका हुन्छन् ।
हुन त हाकिमको सरुवा सामान्य प्रक्रिया हो । तर उसका लागि देशमा भएको परिवर्तनमा पसेको चिसो यहाँ आएर मुटुमै हिउँ बन्छ । जेजस्तो भए पनि बाँच्नु त छँदैछ । चल्छ, चल्दै जान्छ । नयाँ हाकिम आउनु भएकै हप्तामा अफिसको रजत महोत्सव पर्न गएकाले सबै कर्मचारी महोत्सवमा रात दिन खटिन्छन् ।
महोत्सवको प्रमुख अतिथि केन्द्रीय कार्यालयका प्रमुख हुने निश्चित भएकाले पनि सबै कर्मचारीको विशेष खटाइ रहेको हुन्छ । नयाँ ठाउँ, नयाँ हाकिम, कामको चापले कर्मचारी र हाकिमबिच खासै चिना परिचय हुन पाएकै छैन ।
कार्यक्रमको दिन आयो । कार्यक्रम सुरु भयो । आसन ग्रहणको कार्यक्रम, कार्यक्रम उद्घाटन भई नयाँ हाकिमको भाषण सुरु भयो । अतिथिहरूको सम्बोधनसँगै हाकिमले अफिसको कार्य विवरण र कार्यप्रगतिका कुरा सुनाउँछन् र अफिसको चर्चा गर्दै गर्दा कर्मचारीको खुलेर प्रशंसा गर्छन् ।
भन्छन्– यहाँका सहकर्मी मित्रहरूको मिहिनेत अथाह छ । आफ्नो घर परिवार भन्दा पनि उहाँहरू यस कार्यालयको चिन्ता गर्नुहुन्छ । घरका बुढा बा–आमा, छोरा–छोरी, श्रीमती केही नभनी अफिसको काममा खटिनुहुन्छ । साँच्चै भन्नुपर्दा यो कार्यालय नै उहाँहरूको सबैथोक हो भन्न मलाई कुनै सङ्कोच हुँदैन । यस्तो कार्यालयको प्रमुख हुनुमा म गर्व गर्छु ।
उनको मन्तव्य सकिनासाथ कार्यक्रम हलमा तालीको गडगडाहट गुन्जिन्छ । ऊ भने त्यत्तिकै तटस्थ देखिन्छ सबै वक्ताहरूको भाषण सकिएपछि कार्यक्रम समापन हुन्छ ।
भोलिपल्ट अफिसकै टेबलमा काम गर्दैछ ऊ । मोबाइलमा घण्टी बज्छ ।
‘हेलो... अँ, भन । ए... म आउँछु, तिमी चिन्ता नगर, बालाई केही हुन्न ।’
मोबाइलमा लुडो खेलिरहेको छेउको सहकर्मी साथीले उसलाई भन्छ– ‘जानु–जानु तपाईँले सबै काम सक्नु भएकै छ, केही बाँकी रहेछ भने मैले सकिदिउँला ।’
‘हस्, धन्यवाद सर । म सक्दो छिटो आउँछु है’, भन्दै उ निस्कन्छ ।
अफिसको मूल ढोकैमा पुग्नलाग्दा ढोका बाहिर हाकिम र केही कुरौटे कर्मचारीहरू चिया पिउँदै गफ गरिरहेका हुन्छन् ।
हाकिमलाई देख्ने बित्तिकै उ हिजोको भाषण सम्झन पुग्छ ।
‘आफ्नो घर परिवार भन्दा पनि उहाँहरू यस कार्यालयको चिन्ता गर्नुहुन्छ । घरका बुढा बा–आमा, छोरा–छोरी, श्रीमती केही नभनी अफिसको काममा खटिनुहुन्छ ।’
ऊ भित्र हाकिम बाहिर...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण