शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वरिष्ठ अधिवक्ताहरूले भने– कांग्रेसका लागि अहिले विशेष महाधिवेशन बाध्यकारी

सोमबार, २४ कात्तिक २०८२, २० : १८
सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ताहरूले कांग्रेसका लागि अहिले विशेष महाधिवेशन बाध्यकारी भएको प्रष्ट परेका छन् । 

समय अवधिभित्र नियमित महाधिवेशन नगरेमा विशेष महाधिवेशन बाध्यकारी भएको उनीहरूको भनाइ छ । विशेष महाधिवेशन माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले आयोजना गरेको परामर्श कार्यक्रममा उनीहरुले विशेष महाधिवेशनका बारेमा आलटाल गर्ने छुट नभएको स्पष्ट पारेका हुन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट संसदीय दलका पूर्व नेता राधेश्याम अधिकारीले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागेकाले दायाँबायाँ गर्न नमिल्ने बताए । 

उनले कांग्रेसको विधानको मर्म भावना र भाषाले अहिलेको अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको जानकारी दिए ।

कानुनी दृष्टिकोणले हेर्दा विशेष महाधिवेशन गर्नु नै पर्ने अवस्था रहेको तर्क गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूको माग र मर्मलाई राजनीतिक रूपमै सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

प्रतिनिधिसभा बिउँताउन एमालेसँग मिलेर कांग्रेसका निवर्तमान सांसदहरूले हस्ताक्षर सङ्कलन गर्न लागेको सुन्दा आफूलाई अत्यन्त पीडा भएको उनले अनुभव सुनाए ।

अर्का वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष हरिहर दाहालले कांग्रेसभित्रको सकस देखेर आफू मौन बस्न नसकेकाले सकारात्मक प्रयास गर्नेहरूलाई साथ दिन आएको बताए । 

आफू १५ वर्षदेखि कांग्रेसका कुनै पनि कार्यक्रममा सहभागी नभएको स्मरण गर्दै उनले अहिले भने पार्टी शुद्धीकरण र सुदृढीकरणको प्रयासलाई सबैले साथ दिनुपर्ने उल्लेख गरे । 

बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने लगायतले पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई बेवास्ता  गर्नै नमिल्ने दाबी गरे ।

कार्यक्रममा डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीले ४० देखि ४५ दिनभित्रमा कांग्रेसको महाधिवेशन सम्पन्न गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा अधिवक्ता तथा नीति विज्ञ प्रताप पौडेलले विशेष परिस्थितिका कारणले विशेष महाधिवेशनको आवश्यकता सिर्जना भएको तर्क गरेका थिए । 

विशेष महाधिवेशनको माग गर्दै सञ्चालन गरिएको हस्ताक्षर अभियानका अगुवा नारायण भट्टराईले विशेष महाधिवेशन गर्न आफूहरूले गरेको मागलाई पार्टीकै केन्द्रीय नेताहरूले अपव्याख्या गरेको देख्दा दुःख लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप