बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाललाई युवा प्रतिभा र नवप्रवर्तनको केन्द्रको रूपमा हेर्न नेताहरूलाई आग्रह

सोमबार, २४ कात्तिक २०८२, २२ : ५३
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • जेनेस सलुशनका सीईओले नेपाललाई नयाँ रूपमा हेर्न आग्रह गर्दै डिजिटल नवप्रवर्तन केन्द्र बनाउन जोड दिए।
  • उनले कृषि, उत्पादन, व्यापार लगायतका क्षेत्रलाई डिजिटाइज गरेर सन् २०३० सम्ममा लाभ लिन सकिने बताए।
  • कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षले प्रविधिले रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे।

काठमाडौँ। बेलायतमा मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालका नेताहरूलाई मुलुकलाई नयाँ दृष्टिले हेर्न आग्रह गरेका छन्।

आइतबार ललितपुरमा आयोजित ‘लिडर्स डायलग अन डिजिटल कमोडिटी ग्रोथ’ कार्यक्रमलाई  सम्बोधन गर्दै फुयाँलले  फुयाँलले भने, ‘नेपाललाई एक गरीब र अविकसित मुलुकको रूपमा हैन, सफा जलविद्युत् ऊर्जाले सञ्चालित देश, प्रविधि मैत्री युवा जनशक्तिले चलाएको देश, विश्वव्यापी प्रवासी सञ्जालले सुदृढ बनाएको समाज, र  क्षेत्रीय डिजिटल नवप्रवर्तन केन्द्र बन्न तयार मुलुकको रूपमा हेरिनु पर्छ।  हामीसँग नवीकरणीय ऊर्जा, युवा प्रतिभा, र विश्वव्यापी पहुँचजस्ता श्रोतहरू छन् र यी श्रोतलाई डेटाको माध्यमबाट जोड्न आवश्यक छ।’

‘डिजिटल रूपान्तरण केवल प्रविधिको कुरा मात्रै होइन, यो राष्ट्रिय उत्थानशीलता  निर्माण गर्ने र आगामी दशकमा नेपालको प्रतिस्पर्धात्मक स्वरूपलाई नयाँ परिभाषा दिने विषय पनि  हो,’ उनले भने।

अमेजन वेब सर्भिसेज (एडब्लुएस) को बेलायत तथा आयरल्यान्डका लागि राजदूत रही सकेका फुयाँलले नेपालका  १२० भन्दा बढी वस्तु तथा उद्योग सङ्घ–संस्थालाई एउटै ‘डिजिटल कमोडिटी इकोसिस्टम’ अन्तर्गत जोड्ने राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरे।  

कृषि, उत्पादन, व्यापार, शिक्षा, स्वास्थ्य र सिर्जनात्मक उद्योगजस्ता प्रमुख क्षेत्रहरूलाई डिजिटाइज गरेर नेपालले सन् २०३० सम्ममा दक्षता वृद्धि र निर्यात आम्दानीका माध्यमबाट अरबौं  रुपैयाँको लाभ लिन सकिने उनले बताए ।

नेपाल अहिले एक निर्णायक मोडमा उभिएको र डिजिटल आधुनिकीकरणले पूरै निजी क्षेत्रलाई रूपान्तरण गर्न सक्ने उनले बताए । ‘नेपाल उद्योग वाणिज्य महासंघ अब ‘आवाजहरूको महासंघ’ बाट ‘डेटाको महासंघ’ बन्नु पर्छ,’ फुयाँलले भने।  

फुयाँलले आगामी छ महिनाको पाइलट पहल अन्तर्गत उक्त परियोजनाको  पहिलो चरण सुरु हुने जानकारी पनि दिए। सो चरणमा पाँच सङ्घसंस्थाहरू हस्तकला, कफी, फार्मा, सिमेन्ट र कुरियरलाई जोडिनेछ। यस प्रक्रियामा तिनका डेटा एकीकृत गरी एफएनसीसीआइ कनेक्ट मार्फत स्वचालित गरिनेछ, र एडब्लुएस क्लाउडको सुरक्षित पूर्वाधारमा ‘एनलिटिक्स ड्यासबोर्ड’ निर्माण गरिनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघसँगका उपाध्यक्ष हेम राज ढकालले प्रविधिले नेपालको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।  उनले आफू पुरानो पुस्ताको भए पनि प्रविधिमा पोख्त नयाँ पुस्तालाई मुलुकको नव निर्माणमा सँगै लिएर हिँड्नु पर्ने बताए।  उनले स्टार्टअपहरुलाई सरकार तथा निजी क्षेत्रले मदत गरेमा रोजगारी सिर्जना गर्न मदत पुग्ने बताए।

‘डिजिटल सिनर्जी: ट्रांस्फर्मिंग नेपाल्स कमोडिटी सेक्टर्स फर अ स्मार्टर फ्युच’ शीर्षकमा आयोजित सो कार्यक्रम जेनेस सलुशनले नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा आयोजना गरेको हो ।

जेनेस सलुशनका प्रमुख परामर्शदाता भीम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जेनेस सलुशनको नेपाल कार्यालयका निर्देशक  शरद बन्जाराले सबैलाई स्वागत गरेका थिए ।  ।

नेपाल, बङ्गलादेश, नाइजेरिया, फिनल्याण्डसहित १० भन्दा बढी देशहरूमा जेनेस सलुशनका कार्यालयहरु रहेका छन्। कम्पनीले विभिन्न देशका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनलिटिक्स, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप