बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीहरू एकता गर्ने वा विघटन ?

मङ्गलबार, २५ कात्तिक २०८२, १२ : ०८
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • प्रचण्ड र माधव नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टीहरूबीच एकता भयो।
  • विभिन्न कम्युनिस्ट पार्टीहरूमा फुट र आन्तरिक कलह लोकतन्त्रका लागि शुभ संकेत होइन।
  • कम्युनिस्ट नेताहरूको जीवनशैली र कार्यसम्पादनमाथि प्रश्न उठ्दैछ, जसले उनीहरूको उपादेयतामाथि प्रश्न खडा गरेको छ।

पछिल्ला केही हप्ताको प्रयास स्वरूप पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वका दुई कम्युनिस्ट पार्टीहरूका केही टाउकालगायत फुटकर घटकबिच एकता मञ्चन भयो छ । विकसित घटनाक्रमका कारण अन्य बाम शक्तिहरूमा पनि नयाँ तरङ्ग उत्पन्न भएका समाचार प्रकाशमा आएका छन् । 

कोही पुनर्गठन र कोही घर फिर्ती अभियानमा छन् । केही थान नेतृत्वपंक्तिले बिस्तारै सबै बाम शक्तिहरूबिच एकीकरण हुने पनि बताउँदैछन् । देशमा अपेक्षित समृद्धिसमेत बाम शक्तिहरूको एकताले मात्र सम्भव हुने दलिल राख्नेहरू पनि छन् । 

वर्तमानका मुख्य पार्टीहरू एमाले, माओवादीलगायत अन्य सबै कम्युनिस्ट दलहरू विगतमा धेरै पटक फुटेका अनि कहिले काहीँ नाटकीय रूपमा जुटेका पनि थिए । जेनजी विद्रोहपछि राजनीतिबाट सफाइ लिने सनद जारी भए पनि अनेकन् भुलभुलैया बनाएर पार्टीको हैकम र हाकिमदारी नछाड्ने रवैया लुकाएका छैनन् । 

कसैले महाधिवेशन त कसैले एकता भनेर विद्रोहको विनयशीलतालाई गिज्याई रहेका छन् । राजनीतिबाट बिदाइ लिनुपर्ने पात्रहरू विभिन्न खालका अभियनमार्फत राजनीतिक रङ्गमञ्चलाई झन् अविश्वासिलो बनाउन उद्धृत हुँदैछन् । 

अहिले पनि मसाल, एकीकृत, विकेन्द्रित, ड्यास, नेकपा, बहुमत, एकीकृत समाजवादी जस्ता नाममा लगभग दुई दर्जन कम्युनिस्ट पार्टी नामधारी दोकानहरू सञ्चालनमा छन् । कम्युनिस्ट आन्दोलनलाई कुनै कालखण्ड सशक्त नेतृत्व दिएका बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, सिपी मैनाली, भीम रावल, मोहन विक्रम सिंह जस्ता नेताहरू दूर क्षितिजमा कतै छन् जस्ता मात्रै देखिन्छन् ।

उनीहरू चोइटिएर तितरबितर छन्, कम्युनिस्ट नामका विभिन्न खाले कचहरीमा केन्द्रित छन् । दलहरूमा निरन्तरको फुट र आन्तरिक लफडाबाजी देखिनु आफैँमा लोकतन्त्रका लागि निश्चय नै शुभ समाचार भने होइन । 

तर एकिकरणमार्फत बलियै शक्ति बने पनि नागरिकलाई खासै केही उल्लेख्य हुने देखिँदैन । कुनै पनि दल राजनीतिक शक्तिका रूपमा रहनुपर्छ कि पर्दैन भन्ने कुरा तीन मुख्य सिद्धान्तहरूको कसीमा मापन गरिन्छ । 

ती हुन्: पार्टी सत्ताधारीको सामाजिक जीवन चरित्र । पार्टी राज्यसत्तामा रहँदाको कार्यसम्पादन र दल स्थापनाको औचित्य । यी तीनवटै आधारले अब कम्युनिस्ट नाममा हिजो जस्तै काम गरिरहने हो भने ती दलहरूको उपादेयता लगभग सकिएको आभास हुन्छ । पार्टी सत्ताका अगुवाहरूको चरित्र तथा आचरणमा आएको गम्भीर स्खलन यसको सबै भन्दा प्रमुख जड हो ।

  • पार्टी सत्ताको शर्मनाक चरित्र

अधिकांश वाम नेताहरू पुँजीवादको विरोध त गर्छन् तर जीवन भने उच्च पुँजीवादी शैलीमा बिताउँछन् । सादा जीवन भन्ने कुरा त दस्ताबेजमा लेख्नका लागि मात्र बनाइएको हो भन्ने उनीहरूले आफ्नै जीवनबाट प्रमाणित गरिसकेका छन् । 

नाजायज, अवैधानिक तथा नकमाएको धनदौलत थुपार्नमा अधिक लगाव राख्छन् र अविच्छिन्न उपासना गर्छन् । सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवनमा रमाउँछन् । भरखरै भएको नागरिक विद्रोह विस्फोटनमा पनि नेताहरूको विलासिता र भ्रष्टाचारले ठुलै मलजल गरेकै थियो । 

पुस्तकालय मदिरालयमा फेरिएका छन् । जुवा, तास, रमरमिता र भोगविलास आत्मीय अखडा बन्दैछन् । बुर्जुवा शिक्षा भनेर अरूलाई विद्यालयबाट बाहिर निकालेर आफूचाहिँ निजी शिक्षाको व्यापारमा व्यस्त छन् । अत्तर छर्केर हिँड्ने, उच्च कोटिका विदेशी सोमरसका साथमा राजसी ढाटको चौरासी व्यञ्जन अधिकांशको प्रमुख दिनचर्या बन्दैछ । 

गोडा भएका कम्युनिस्टहरूलाई घोडा चाहिँदैन भन्नेहरू महँगा गाडी र हेलिकप्टरमा तडकभडक साथ सवारी चलाउन व्यस्त छन् । अधिकांश कम्युनिस्ट नेता व्यापारी भन्दा धनी छन् । रवाफिलो र भड्किलो जीवन शैलीमा छन् । आडम्बर र अहङ्कार यस्तो छ, मानौँ उनीहरू सामान्य नागरिक नभई महासामन्त वा सम्भ्रान्त हुन् ।

अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदो छ । नेताहरू ‘लिडर’ बाट ‘डिलर’ मा परिणत भएका छन् । उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लीन छन् । कालोबजारी, भ्रष्टाचार तथा तस्करीलाई दर्शन मान्छन्, कमिसनलाई अमृत ठानी पिउँछन् । कसैले उनीहरूको विरोध गरे विदेशी दलाल र परिचालितको आरोप लाउँछन् । 

उपभोक्तावाद तथा क्रोनी क्यापिटलिजमको विस्तारलाई सहज हुने गरी नियम बनाउँछन्, साम्राज्यवादी आचरण देखाउँछन्, हरेकमा मुनाफा खोज्छन्, सबैको श्रोत र साधन आफ्ना लागि दोहन गर्न चाहन्छन् । उनीहरूको अन्तिम ध्येयमा परिवारवाद छ । 

उनीहरू देश बनाउन होइन, आफू मात्र बन्नमा केन्द्रित छन् । आर्की ब्राउनको पुस्तक ‘द राईज एण्ड फल अफ कम्युनिजम’ ले समेत संसारभर कम्युनिस्टहरूको आचरण पतन उन्मुख भएको देखाउँछ । हामी यसको ज्वलन्त उदाहरण हौँ । 

  • कमजोर कार्यसम्पादन

राजनीतिको पछिल्लो १५ वर्षमा अधिकतम समय यी वा ती नामधारी कम्युनिस्ट पार्टीहरूले नै सरकारको नेतृत्व गरे । अन्य समय महत्त्वपूर्ण साझेदारीमा पनि रहे । तर कार्यसम्पादनसमेत अधिक कमजोर भएकोमा आम नागरिक ज्ञात नै छन् । 

निर्मला बलात्कार काण्ड, सुन काण्ड, गुठी विधेयक काण्ड, रुकुम काण्ड, बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ काण्ड, स्वास्थ्य सामाग्री खरिद काण्ड आदि तरङ्गहरू कम्युनिस्टकै ओतप्रोतमा आए । ‘ओम्नी’ र ‘यति’ले दरैगरी कब्जा जमाएको देशलाई ‘बतास’ले उडाउनु पर्ने अवस्था कम्युनिस्टकै कारण देखियो । अहिले एकीकरणमा गएकाहरूले पनि यी उपद्रवलाई अभिभावकत्व दिएकै हुन् । 

हरेक ठाउँमा सेटिङसहित साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर सार्वजनिक संस्थान, निगम, विश्वविद्यालय, न्यायालयलगायत अन्य संस्थाहरूमा आफ्ना कार्यकर्ता भर्ती गर्ने र अपवाद बाहेक तीनलाई सकेसम्म निकम्मा तथा कवाडी बनाउनेमा उनीहरू नै माहिर देखिए । हरेक ठेक्कापट्टामा कमिसन, हरेक नियुक्तिमा नजराना अनि निर्णयमा सिन्डिकेट लादियो । 

मजदुर, किसान, पिछडिएका वर्ग, श्रमिकहरू भोटका लागि मात्र प्रयोग गरिए । अरू बेला कर छली गर्ने उद्योगी, नजराना चढाउने कमिसनखोर, दलाल तथा समाजलाई तर्साउने डन, देश तथा नागरिकलाई ठग्ने ठेकेदार, सकेसम्म शोषण गर्ने खलनायकहरूसँग नेताहरूले सत्सङ्ग र दिव्य मिलन गरेको देखियो । 

सामन्तको टाउको छिनाउनेदेखि शोषकको सफाया गर्नेहरू आफै नयाँ सामन्त र शोषक बनेका उदाहरण छन् । नागरिकका लागि सार्वजनिक सेवा प्रवाह र विकास खस्कँदो छ । देशको सर्वपक्षीय विकास, आर्थिक उपार्जन, प्रभावकारी सेवा तथा नागरिक जीवनलाई गुणस्तरीय बनाउने कार्ययोजनामा ठोस प्रस्टता छैन । 

लेखक गोवर्द्धन रानाको पुस्तक ‘साम्यवाद’ मा लेखिएको छ, ‘झुट बोलेर नागरिकलाई झुक्क्याउनु नै कम्युनिस्टहरूको दार्शनिक धर्म हो ।’ साँच्चै यस्तै परिदृश्य देखिएको छ राजनीतिक रङ्गमञ्चमा । अब त उनीहरूको स्थापनाकालीन उपादेयता नै अवसान भइसकेको छ ।

  • उपादेयता के त ?

प्रचण्डको उद्देश्य राजतन्त्र फालेर संविधानसभा मार्फत गणतान्त्रिक संविधानको निर्माण थियो । माधव नेपालको उद्देश्य पञ्चायती व्यवस्थाको उन्मुलन थियो । अन्य सबै खालका कम्युनिस्ट पार्टीसमेत यिनै व्यवस्था समाप्तिका लागि स्थापित थिए । ती सबै पार्टीको आधारभूत उद्देश्य समेत पुरा भएकाले अब बाँकी नागरिक अपेक्षा पुरा गर्न नयाँ ढङ्गका दलहरूको आवश्यकता पर्छ । 

तत्कालीन शक्तिको प्रतिस्थापनपछि के गर्ने भन्ने न त स्पष्ट योजना थियो न त्यसको व्यवस्थापन गर्दै नागरिकको आशा अनुसार काम गर्न सके उनीहरूले । त्यही असक्षमताको प्रभाव अहिलेको कम्युनिस्टमा परेको छ । 

त्यसैले अहिलेका कम्युनिस्ट वा वाम पार्टीहरू भविष्यमा विभाजित वा एकीकृत नै रहे पनि नागरिक भलाई तथा देश हितमा भने उनीहरूका गतिविधि केवल कागलाई बेल पाके जस्तो मात्र हुनेछ । तत्कालै केही अनुपम र उदाहरणीय हुने अवस्था छैन । उनीहरूबिचको विवाद अनि नाटकीय शैलीमा हुने मेलमिलाप आदिले कसैको आडम्बरलाई जोगाउँला तर कम्युनिस्ट आचरण, समाजवादी चरित्र तथा नागरिक अपेक्षालाई जोगाउन सक्ने ल्याकत राख्दैन । 

परिवर्तित सन्दर्भमा आफूलाई वाम भन्ने राजनीतिक पार्टीहरूको अभिष्टमाथि निर्मम समीक्षा आवश्यक छ । अहिले चलेको एकताको बहस– एकताको भजन आत्मरतिको फेसन त बन्न सक्ला तर यसले नागरिक अपेक्षाको सम्मान भने गर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप