शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस बैठकमा धारणा राख्ने क्रम सकियो निर्णयमा सहमति जुटाउन एक दिन

बिहीबार, २७ कात्तिक २०८२, २० : ४१
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी र सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।

गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आज ठ्याक्कै एक महिनामा पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो ।

सदस्य र पदाधिकारीहरूले धारणा राख्ने क्रम सकिए पनि बैठकको निर्णय गरिएको छैन। बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सदस्य र पदाधिकारीहरूले धारणा राख्ने क्रममा विवाद देखिएको छ । 

कात्तिक १९ गते को बैठकमा महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन पुष १६ गतेदेखि १९ गतेसम्म गर्नुपर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरेका थिए । 

त्यसै दिन थापाको महाधिवेशन सम्बन्धी कार्यतालिकामा काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले पार्टीको १५औँ महाधिवेशन वैशाख २७ गतेदेखि ३० गतेसम्म गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

सदस्यहरूले धारणा राख्ने क्रममा यी दुई कार्यतालिकामध्ये एक कार्यतालिकामा महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा राखेका थिए । सहमहामन्त्री यादवको कार्यतालिकालाई संस्थापन पक्षका नेताहरूले समर्थन गरेका थिए भने महामन्त्री थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका सदस्यहरूले समर्थन गरेका थिए । 

यही विवाद नमिल्ने देखिएपछि नेताहरूले मध्यमार्गी प्रस्ताव ल्याएर मिलाउन खोजेका थिए तर अहिलेसम्म महाधिवेशन कहिले गर्ने भन्ने विवाद कांग्रेसमा मिल्न सकेको छैन ।

त्यही विवादमा सहमति जुटाउनका लागि निर्णय सुनाउन बीचमा एक दिनको समय खाली राखिएको नेताहरू बताउँछन्। बैठक शनिबारका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप