हाम्रा बौद्धिकहरू कुनै उपन्यासका मुर्छित पात्र जस्ता छन् : खगेन्द्र गिरी
सारांश
- पत्रकारिताबाट लेखनमा आएका खगेन्द्र गिरीको कथा सङ्ग्रह ‘भग्न प्रेमशाला’ प्रकाशित भएको छ।
- गिरी पत्रकारितामा आउनुअघि नै कथा लेख्ने गर्थे, तर उनले प्रकाशन गर्ने इच्छा राखेनन्।
- गिरीको विचारमा, नेपाली साहित्यमा विषयको अभाव छैन, तर कथा भन्ने शैलीमा सुधार आवश्यक छ।
झण्डै एक दशकअघि पत्रकारितामा कलम चलाउन आइपुगेका खगेन्द्र गिरी त्यस अगावै कथारूपी ढड्डा कोरिरहन्थे । कोरिएका कथाहरू प्रकाशन गर्नुपर्ने लोभसमेत उनमा थिएन । किनभने त्यसले कुनै सान्दर्भिकता र कालजायिता बोक्दैन भन्ने लाग्थ्यो उनलाई ।
तर, सोलुबाट काठमाडौँका लागि पाइला चालेको झण्डै डेढ दशकमा उनै गिरीको कथा सङ्ग्रह ‘भग्न प्रेमशाला’ प्रकाशित भएको छ । रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलामा उनै गिरीसँग नरेश ज्ञवालीले गरेको कुराकानी ।
- तपाईं पत्रकारिता हुँदै लेखनको दुनियाँमा कसरी आइपुग्नु भयो ?
खासमा म पत्रकारिताको दुनियाँमा पछि आएको हुँ । पत्रकारितामा प्रवेश गर्दा लेखन मेरा लागि नौलो थिएन । किनकि एघार कक्षा पढ्दैदेखि नै मैले आख्यानको कखरा कोर्न सुरु गरिसकेको थिएँ । त्यो क्रम सल्लेरीमा बाह्र कक्षा पास गरुन्जेल र काठमाडौँ आएर बीए र मास्टर्स गर्दासम्म जारी रह्यो ।
त्यसैले एक दशकअघि पत्रकारिता पेसामा प्रवेश गर्दा मसँग तीन वटा उपन्यास र केही दर्जन कथा जम्मा भइसकेका थिए । तर, ती कथा/उपन्यास मैले कसैलाई देखाएको थिइनँ, प्रकाशन गर्ने त परको कुरा । पत्रकारितामा आएपछि लेखनका अरू विविध शैलीसँग म परिचित भएँ । धेरै थरीका मान्छे, धेरै थरीका विचारसँग सङ्गत भयो । यसले मलाई आफ्नो लेखाइको कमजोरी खुट्ट्याउन पनि सघायो ।
_UDaRxkDiME.jpg)
जटिल भाषा, लामालामा वाक्य संरचनामा लेख्ने मलाई पत्रकारिताले सिकायो– लेखनको पहिलो सर्त सम्प्रेषणीयता हो । त्यसपछि म छोटा, सरल वाक्य लेख्न थालेँ । दुरूह विचारलाई पनि सजिलो शब्दमा भन्न/लेख्न मलाई पत्रकारिताले सिकायो । र, झुर लेखन कस्तो हुन्छ, त्यो पनि पत्रकारितामा आएपछि नै पत्तो पाएँ ।
- तपाईंको जीवनमा किताबको के अर्थ छ र तपाईं आख्यान ज्यादा पढ्नुहुन्छ वा गैरआख्यान ?
मेरो रोजाइमा सधैँ आख्यान नै पर्छ । गैरआख्यान सीमित मात्रामा पढेको छु । त्यो पनि एकदमै राम्रोसँग लेखिएको छ भने मात्रै । आख्यान भने भेटेजति, भ्याएजति सुरु गर्ने बानी छ । तर, थुप्रै पूरा नगरी छाडिन्छन् । आजभोलि ज्ञान र मनोरञ्जनका भड्किला माध्यमहरूको जगजगी छ । पुस्तक निम्छरो बनेको देखिन्छ । म पनि पुस्तकको पानामा जति समय बिताउँछु, त्यसको कयौँ गुणा ज्यादा समय स्क्रिनमा खर्चिन्छु । अत्यधिक सिनेमा/सिरिज हेर्छु । त्यसैले लाग्न थालेको छ, किताबको अस्तित्व नै नभए पनि मान्छेको जिन्दगीमा खासै ठुलो फरक के पर्ला र !
तर, किताब नभएको भए मेरो बाल्यकाल, खास गरी किशोरावस्था निकै भयङ्कर हुने थियो । मैले युद्धको छायामा बाँचेको बाल्यकाल त्रासदीयुक्त थियो । त्यो डरलाग्दो समयमा किताब मेरो लागि एक मात्र मनोरञ्जनको माध्यम त थियो नै, त्यो वास्तविक त्रासदीबाट भाग्ने–लुक्ने ठाउँ पनि थियो । अर्कोतिर, आफू बाँचिरहेको समय र दुनियाँभन्दा बाहिर अर्को पनि दुनियाँ छ भनेर चिहाउने आँखीझ्याल किताब थियो । त्यसैले ममा आशा, आकाङ्क्षा र जिजीविषा बचाउने काम गर्यो । त्यस हिसाबले हेर्दा आज मेरो जुन ढाँचाको सोच र व्यक्तित्व छ, त्यसको खाका कोर्नमा कुनै एक व्यक्तिको भन्दा ज्यादा देन पुस्तकको छ ।
- सिनेमाको कुरा गर्नुभयो । सिनेमा वा नाटक हेर्नु, पुस्तक पढ्नु र लेखन/चिन्तन गर्नुको बिचमा के भिन्नता वा समानता छ ?
सिनेमा/नाटक हेर्नु र पुस्तक पढ्नुमा मधुरो रेखा कोरिएको छ भन्ने लाग्छ । कुनै दर्शकले सिनेमा लगभग निष्क्रिय बसेर पनि हेर्न सक्छ । किनकि यो सबभन्दा ‘रेडिमेड’ उत्पादन हो । स्क्रिन वा रङ्गमञ्चमा प्रस्तुत गरिएको दृश्य र आवाजका माध्यमबाट हामीले कथा पक्रिन्छौँ । हामीले आफ्नो तर्फबाट बल लगाउनु पर्दैन । तर, पढ्दा निष्क्रिय बसेर पुग्दैन । हाम्रो सहभागिताको स्तर बढ्नुपर्छ । उदाहरणका लागि, उपन्यासमा कुनै पात्रको चित्रण गरिएको छ भने त्यस पात्रको एउटा छविचित्र पाठक आफैँले परिकल्पना गर्नुपर्ने हुन्छ । किताबका शब्दहरुलाई पाठकको मस्तिष्कले आकार दिनुपर्ने हुन्छ ।
यी दुईको तुलनामा लेखन/चिन्तन भनेको अलिकति भिन्न र कठिन काम हो । हुन त हामी बिना कुनै प्रयास सोच्न अभ्यस्त हुन्छौँ । तर, चिन्तनलाई अर्थपूर्ण रूपमा संगठित गर्नु वा झिलिक्क सोचका रूपमा मनमा आएका कुरालाई व्यवस्थित रूपमा पानामा उतार्न निकै मेहनत र अलिकति सीप पनि चाहिन्छ । त्यसैले यो सिर्जनाको काम हो ।
- नेपाली साहित्यको जुन स्थिति देख्नुहुन्छ, त्यसबाट सन्तुष्ट हुनुहुन्छ ?
अहँ, बिलकुल सन्तुष्ट छैन ।
_N9F086aAjo.jpg)
- साहित्य लेखन कहाँ अल्झिए जस्तो लाग्छ ? नेपाली लेखकलाई विषयको अभाव भएको हो ?
विषयको अभाव त छैन । हाम्रो कठिन जनजीवन, विविधतायुक्त, घालमेल सामाजिक–सांस्कृतिक संरचना, लथालिङ्ग अर्थतन्त्र अनि ‘एब्सर्ड’ राजनीति साहित्यको अनन्त स्रोत बन्न सक्छ । लेखकहरूले पनि विविध र नौलो विषय समात्ने कोसिस गरिरहेको पछिल्ला पुस्तकहरूलाई हेर्दा थाहा हुन्छ । स्थानीय, रैथाने कथादेखि युद्ध, आप्रवासनजस्ता ग्लोबल थिममा कथा–उपन्यास प्रकाशन भइरहेका छन् । म यसमा समस्या देख्दिनँ ।
समस्या चाहिँ म ‘क्राफ्ट’मा देख्छु । जति नौलो विषयवस्तु भए पनि कथा भन्ने शैली थोत्रो र फितलो भएपछि कृति निरस बन्न पुग्छ । उदाहरणका लागि, बुकर पुरस्कार जितेका पुस्तक पल्टाउँदा हरेक पटक शिल्पमा केही न केही नयाँ खोज गरेको देखिन्छ । तर, हामीकहाँ खुब नाम चलेका पुस्तकहरूमा पनि कथा भन्ने शैलीमा केही नयाँ गर्ने प्रयास गरिएको पाइँदैन ।
त्यसो त यसको अर्को पाटो पनि छ । छोटै कथा किन नहोस्, नयाँ तरिकाले भन्न, अझ आफ्नै शिल्पशैली खोज्न ज्यादा मेहनत पर्छ । समय खर्च हुन्छ । अब त्यस्तो मेहनत गर्न लेखकहरूलाई उसको अर्थतन्त्रले पनि सघाउनु पर्यो । दोस्रो पेसा नअँगाली लेखेरै जीविका चलाउन कति लेखकले सक्छन् ? नेपालको सबभन्दा ठुलो पुरस्कार जितेको लेखकको गुजारा त्यो रकमले कति समय चल्छ ? र, हाम्रा ‘बेस्टसेलर’ कृतिहरू कस्ता छन् ? यस्ता प्रश्नमा घोत्लिने हो भने चित्र झन् धमिलो हुन पुग्छ ।
परिणाम के हुन्छ भने लेखकहरू मेहनतको क्षतिपूर्ति हल्लाखल्लाले गर्न खोज्छन् । प्रकाशकहरू पनि स्तरीय कन्टेन्ट होइन, सेलेब्रिटी खोज्न थाल्छन् । अनि ‘इको–सिस्टम’ नै त्यसै अनुसारको बन्छ । यति भन्दाभन्दै पनि आफ्नो ‘क्राफ्ट’ सुधार्ने जिम्मा लेखक आफ्नै हो । अरू कसैले आएर सुधारिदिँदैन । यो मलाई लागेको कुरा भयो । नेपाली लेखन ठ्याक्कै कहाँ अल्झिएको छ भन्ने प्रश्नको सटीक जवाफ चाहिँ समीक्षकहरूले नै दिनु पर्ला ।
- यत्तिका ठुल्ठूला आन्दोलनहरू भए । नेपाली साहित्यमा भने त्यसको प्रतिबिम्बन ज्यादै न्यून देखिन्छ नि !
विषयवस्तुका हिसाबले भन्ने हो भने ‘कन्टेम्पोररी हिस्ट्री’ लाई आख्यानमा उतार्न सजिलो छैन । मानिलिऊँ, कसैले जेनजी आन्दोलनबारे उपन्यास लेख्न खोज्यो– यो आन्दोलनमा पीडित छन्, पीडक छन्, गोली छ, रगत छ, आगजनी छ, अन्याय छ, चोट छ । ती कुराहरूको सही–सही प्रतिनिधित्व आख्यानमा गर्न, अनि उनीहरूलाई न्याय हुने गरी लेख्न निकै संवेदनशीलता चाहिन्छ । त्यसमाथि, कुन पात्र नायकको कित्तामा हो, कुन खलनायक हो, छुट्याउन कठिन छ ।
यो आन्दोलनको के कुरा, जनयुद्ध सकिएको यत्रो वर्ष भयो, ती युद्धका पात्रहरूकै छिनोफानो अझै भइसकेको छैन । अर्को पक्ष, ठुल्ठूला राजनीतिक परिवर्तनको प्रभाव साहित्यमा त्यतिधेरै किन परेन भन्ने सवालमा विचार गर्ने हो भने नेपालमा समाजको अन्य कुनै पनि पक्षले राजनीतिक बदलावलाई उही गतिमा पछ्याउन सकेको छैन । आर्थिक, सामाजिक हिसाबले, चेतनाको हिसाबले हामी पछाडि नै छौँ भन्ने लाग्छ ।
- तपाईं अनुवाद कर्ममा पनि हुनुहुन्छ एन फ्र्याङ्कको ‘डायरी अफ अ योङ गर्ल’लाई ‘एक किशोरीको डायरी’ नाममा अनुवाद गर्नु भएको छ । अनुवाद आफैँमा साहित्यिक कर्म हो वा होइन ?
दुईखाले तर्क छन् । अनुवादक मूल लेखनको भरपर्दो सेवक मात्र हो भन्ने एकथरी अनि ऊ आफैँमा सर्जक पनि हो भन्ने अर्कोथरी । आजभोलि त अनुवादकलाई ‘सह–लेखक’ को मान्यता पनि दिन थालिएको छ । अनेक सीमितताका बाबजुद अनुवाद सृजनशील कर्म हो । दुई भाषाबिचको पुल बन्ने यो काम साँच्चै कठिन र अपजसे छ ।
- भर्खरै मात्र तपाईंको नयाँ कथा सङ्ग्रह ‘भग्न प्रेमशाला’ प्रकाशित भएको छ, त्यसमा कस्ता कथाहरू समेटिएका छन् ?
आफैँले लेखेको कथा यस्तो छ भनेर व्याख्या गर्नु मुस्किल मात्र होइन, असम्भव कुरा हो । यत्ति भन्छु, यसमा मैले पढ्न चाहेजस्ता कथा लेख्ने प्रयत्न गरेको छु । कति सफल भइयो– त्यो बेग्लै कुरा हो ।
- नेपाली पाठकले पढ्नै पर्ने विदेशी लेखकका आख्यान र गैरआख्यान पुस्तकहरु कुन–कुन हुन सक्छन् ?
म आख्यानको मात्रै कुरा गर्छु । कुनै पनि पुस्तक वा लेखक पढ्नै पर्छ, नपढे सर्वस्व छुट्छ भन्ने मत म राख्दिनँ । केही वर्षयता पढेकामध्ये मलाई मन परेको कृति जर्ज सन्डर्सको ‘टेन्थ अफ डिसेम्बर’ कथा सङ्ग्रह हो । मैले बेलाबखत पाना पल्टाइरहने अर्को पुस्तक भनेको अरुन्धती रायको ‘द गड अफ स्मल थिङ्स’ हो । म उनको लेखनीको प्रशंसक हुँ ।
मैले सबैभन्दा धेरै पटक दोहोर्याएर पढेका दुई उपन्यासचाहिँ युद्ध साहित्यसँग सम्बन्धित छन् र दुवै मैले हिन्दी अनुवाद पढेको हुँ । टोल्स्टोयको ‘युद्ध और शान्ति’ र मिखाइल शोलोखोवको ‘धीरे बहे दोन रे’ । यी दुई मोटा उपन्यासले रुसको दुई अलग समयको युद्धको कथा विस्तृत रूपमा भन्छन् । युद्ध साहित्यमा रुचि हुनाले यी उपन्यासप्रति मेरो अतिरिक्त लगाव छ । म हरेक केही वर्षमा यी उपन्यास दोहोर्याउँछु र हरेक पटकमा केही न केही नयाँ कुरा पाएजस्तो अनुभूति गर्छु ।
- तपाईंको नजरमा नेपाली साहित्यप्रेमीले छुटाउनै नहुने स्वदेशी लेखक वा पुस्तक कुन हुन सक्छन् ?
नेपाली साहित्यप्रेमीले नेपालका सकेसम्म धेरै लेखकलाई मसिनो गरी पढ्नु राम्रो । पारिजात, बीपी कोइराला, धच गोतामे, इबरादेखि मञ्जुश्री थापा, श्याम साह, सुरेश प्राञ्जली र विवेक ओझासम्म नछुटाउँदा हुन्छ ।
_ryZ6lBAIRY.jpg)
- असाध्यै उम्दा काम गरेर पनि देशभित्र अन्डररेटेड कुनै लेखकसँग तपाईंको जम्का भेट हुन सक्यो वा छैन ?
ठ्याक्कै यो अन्डररेटेड त भन्न मिलेन । तर, मलाई के लाग्छ भने आफ्नो समयमा अत्यधिक चर्चाका बाबजुद नयाँ पुस्तामा ध्रुवचन्द्र गौतम अपरिचितजस्ता छन् । उनका आख्यानमाथि, खास गरी उनले गरेको प्रयोग र साधनाका आधारमा, जति विमर्श र छलफल हुनुपर्थ्यो , त्यो पटक्कै भएको छैन । नेपाली आख्यानलाई स्थापित गर्न उनले जति खाँबा गाडेका छन्, त्यो अतुलनीय छ ।
- हाम्रो ‘विगत जाज्वल्यमान’ थियो, भविष्य ‘चमचमाउँदो’ हुनेछ तर वर्तमानलाई एउटा कथाकारले कसरी हेरिरहेको छ ?
यो प्रश्नको दुवै पूर्वसर्तसँग मेरो असहमति छ । न हाम्रो विगत जाज्वल्यमान थियो, न यही पाराले भविष्य नै चमचमाउँदो हुने विश्वास छ । भर्खर अप्रत्याशित रूपमा जेनजी आन्दोलनले उथलपुथल ल्याइदियो । त्यो घडीमा लेखक, चिन्तक, बौद्धिकहरू अघि सरेर विमर्श गर्लान्, नयाँ बाटो देखाउलान्, राजनीतिक शक्तिहरू त्यो बाटोमा हिँड्लान् भन्ने झिनो आशा थियो । तर, मैले त्यस्तो पाइनँ ।
हाम्रा बौद्धिकहरू कुनै उपन्यासका मुर्छित पात्र जस्ता देखिन्छन् । अनि, समाजको ठुलो हिस्सा, अझ स्थापित राजनीतिक समूहहरू अचानक ‘प्रतिक्रियावादी डफ्फा’ बन्न पुगेको महसुस भयो । यो राम्रो लक्षण होइन । अनिश्चय, भद्रगोलको यो वर्तमानप्रति म बहुत चिन्तित छु । अरू, अधिकांशजस्तै अत्यन्त असन्तुष्ट छु । सँगसँगै हरेक विघटनपछि केही न केही नयाँ उम्रेला नि त भन्ने सदाबहार धिपधिपे आशा राख्नै पर्यो ।
कथाकारको रूपमा एउटै खुसीको कुरा– भारी भरकम सर्रियल कन्टेन्टको कमी हुने छैन, विचित्र पात्रहरूको अभाव हुने छैन । यो भन्दा बढी के भन्न सकिएला र !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण