मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रुसमा श्रम स्वीकृति रोकिँदा बिचौलियाको चङ्गुलमा नेपाली श्रमिक, एनआरएन रुसको तत्काल हस्तक्षेप माग

बिहीबार, ०४ मङ्सिर २०८२, २३ : ४२
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • नेपाल सरकारले रुसका लागि श्रम स्वीकृति बन्द गरेपछि नेपालीहरू जोखिमपूर्ण बाटो रोज्न बाध्य भएका छन्।
  • एनआरएन रसियाका अनुसार बिचौलियाहरूले 'एयरपोर्ट सेटिङ' का नाममा लाखौं रुपैयाँ असुलिरहेका छन्।
  • एनआरएनले श्रमिकको हकहित र सुरक्षाका लागि नेपाल-रुस श्रम संवाद सुरु गर्न आग्रह गरेको छ।

काठमाडौँ। नेपाल सरकारले रुसका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेपछि वास्तविक रोजगारीका लागि रुस आउन चाहने नेपालीहरूले जोखिमपूर्ण बाटो रोज्न बाध्य हुने अवस्था तीव्र रूपमा बढेको गैर आवासीय नेपाली संघ रसियाले जनाएको छ।

एनआरएन रसियाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै श्रम स्वीकृति रोकिएसँगै बिचौलियाहरू सक्रिय बन्दै ‘एयरपोर्टसम्म सेटिङ’ को नाममा लाखौँ रकम असुल गर्दै आएको बताएको छ । संघका अनुसार केही श्रमिकले करिब १ लाख ८० हजार रुपैयाँ बुझाएर यस्तो अवैध प्रक्रिया अपनाउन बाध्य भएको तथ्य खुलेको छ।

विज्ञप्तिमा भनिएको छ, इमिग्रेसनमा टिकट, भिसा शुल्क र वकिल खर्च तिरेर पुगेका नेपालीलाई फर्काउने तर बिचौलियामार्फत सेटिङ गरेर पठाउने अभ्यास अत्यन्त गम्भीर अनियमितता र दुरुपयोग हो।’

एनआरएन रसियाले छिमेकी मुलुक भारतले श्रमिकको सुरक्षालाई कूटनीतिक प्राथमिकतामा राखेको उदाहरण पनि स्मरण गराएको छ। डिसेम्बरमा हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा दुई मुलुकबिच श्रमसम्बन्धी महत्त्वपूर्ण छलफल हुने समाचारले श्रमिक हितमा भारतको सक्रियता देखिएको संघको टिप्पणी छ।

संघले नेपालका श्रमिकका हकहित र सुरक्षालाई प्राथमिकता दिँदै नेपाल–रुस श्रम संवाद तुरुन्त पुनः सुरु गर्न सरकारलाई आग्रह गरेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप