मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

भिसा बन्द भएको बेला कसरी यूएई गइरहेका छन् नेपाली कामदार ?

चार महिनामा दुई लाख रोजगारी खोज्दै बिदेसिए, यूएईमा मात्रै ८० हजार
शुक्रबार, ०५ मङ्सिर २०८२, ०९ : ४४
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ, जसमा आर्थिक वर्षको पहिलो चौमासिकमा २ लाख ७३ हजारभन्दा बढीले श्रम स्वीकृति लिए।
  • विभागका अनुसार, यूएईले नयाँ भिसा जारी गर्न रोकेको भए पनि पहिले नै भिसा पाइसकेकाहरू गइरहेका छन्।
  • कात्तिक महिनामा श्रम स्वीकृति लिनेको संख्या बढेको छ, तर नयाँ श्रम स्वीकृति लिनेको संख्या घटेको छ।

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीका सिलसिलामा बिदेसिनेको संख्या बढ्दो छ । वार्षिक लाखौँ युवा वैदेशिक रोजगारीका लागि साउदी अरेबिया, कतार, यूएई, ओमान, बहराइनलगायत मुलुकमा जाने गरेका छन् । 

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म (पहिलो चौमासिक) २ लाख ७३ हजार ८१० जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । जसमध्ये २ लाख ३९ हजार ९८६ जना पुरुष छन् भने ३३ हजार ८२४ जना महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

चार महिनामा श्रम स्वीकृति लिन कुल संख्यामध्ये १ लाख २७ हजार ८३७ जनाले पुनः प्रवेशका लागि श्रम स्वीकृति लिएका छन् भने १ लाख ४५ हजार ९७३ जनाले नयाँ श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । पुनः श्रम स्वीकृति लिनेमध्येमा १ लाख १४ हजार २२७ जना पुरुष छन् भने १३ हजार ६१० जना महिला छन् । नयाँ श्रम स्वीकृति लिनेमध्ये १ लाख २५ हजार ७५९ जना पुरुष छन् भने २० हजार २१४ जना महिला छन् । 

कात्तिकमा मात्रै ७३ हजार ९४ जनाले वैदेशिक रोजगारीमा जानका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् । कुल श्रम स्वीकृति लिनेमध्ये ६४ हजार ४९० पुरुष छन् भने ८ हजार ६०४ जना महिला छन् । 

यसैगरी कुल श्रम स्वीकृति लिनेमध्येमा ४५ हजार ९३१ जना पुरुष र ४ हजार ६४९ जना महिला गरी ५० हजार ५८० जनाले पुनः प्रवेशका लागि श्रम स्वीकृति लिएका छन् । यस्तै २२ हजार ५१४  जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । यसमध्ये नयाँ श्रम स्वीकृति लिनेमा १८ हजार ५५९ जना पुरुष र ३ हजार ९५५ जना महिला रहेको विभागले जनाएको छ । 

कुन महिनामा कतिले लिए श्रम स्वीकृति ?

विभागका अनुसार २०८२ साउनमा ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका थिए । यसमध्ये पुनः प्रवेशका लागि २३ हजार ६४४ जना र नयाँ श्रम स्वीकृति ४४ हजार ४६६ जनाले लिएका थिए । यसैगरी भदौमा ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए । यसमध्ये पुनः प्रवेशका लागि २२ हजार २४० र नयाँ ४५ हजार ७३२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका छन् । यसमध्ये ३१ हजार ३७३ जनाले पुनः प्रवेशका लागि ३३ हजार २६१ जना नयाँ श्रम स्वीकृति लिएका छन् ।

साउन र भदौमा पुनः प्रवेशका लागि श्रम स्वीकृति लिनेको संख्या २२/२३ हजारको हाराहारीमा थियो । असोजमा यो बढेर ३१ हजार पुग्यो भने कात्तिकमा यो संख्या दोब्बरभन्दा बढी भएर ५० हजार ५८० पुगेको छ ।

कात्तिकमा २७३ हजार ८१० जनाले श्रम स्वीकृति लिएका छन् । यसमध्ये पुनः प्रवेशका लागि ५० हजार ५८० जना र २२ हजार ५१४ जनाले नयाँ श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

विभागको तथ्यांकअनुसार साउन र भदौमा श्रम स्वीकृति लिनेको संख्या स्थिर देखिन्छ । असोजमा यो संख्या केही घटेको (६४ हजार) थियो भने कात्तिकमा फेरि बढेर ७३ हजार नाघेको देखिन्छ । साउन र भदौमा ४४/४५ हजारको हाराहारीमा नयाँ श्रम स्वीकृति जारी भएकोमा, असोजमा घटेर ३३ हजार र कात्तिकमा आइपुग्दा अझ घटेर २२ हजार ५१४ मा झरेको छ । यसले कात्तिक महिनामा नयाँ कामदार जाने क्रम घटेको देखाउँछ ।

साउन र भदौमा पुनः प्रवेशका लागि श्रम स्वीकृति लिनेको संख्या २२/२३ हजारको हाराहारीमा थियो । असोजमा यो बढेर ३१ हजार पुग्यो भने कात्तिकमा यो संख्या दोब्बरभन्दा बढी भएर ५० हजार ५८० पुगेको छ ।

पछिल्लो समय जेनजी आन्दोलनपछि नेपालबाट वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीका लागि नयाँ कामदार भिसा जारी गर्न रोक लगाएको थियो । यसकारण पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको बताइन्छ । तर यूएईले नेपालीका लागि नयाँ कामदार भिसा जारी गर्न बन्द गरेपनि वैदेशिक रोजगार विभागको तथ्याङ्कमा नयाँ श्रम स्वीकृति लिएको उल्लेख छ । 

नेपालीका लागि नयाँ कामदार भिसा जारी गर्न बन्द गरेपछि पनि विभागको तथ्याङ्कमा देखिनुमा हाल यूएईका लागि जारी भइरहेका श्रम स्वीकृतिहरू नयाँ भिसाका लागि नभई पहिले नै भिसा पाइसकेकाहरुका लागि रहेको विभागले जनाएको छ । 

साउनमा २३ हजार ८३८ जनाले श्रम स्वीकृति लिएका थिए । यसमध्ये ६ हजार ५९ जनाले पुनः प्रवेशका लागि र १७ हजार ७७९ जनाले  नयाँ श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । भदौमा २५ हजार २१८ जनाले  श्रम स्वीकृति लिएका थिए । यसमध्ये ५ हजार ६१६ जनाले पुनः प्रवेशका लागि र १९ हजार ६०२ जनाले  नयाँ श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

असोजमा १९ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका थिए । यसमध्ये ८ हजार ५४८ जनाले पुनः प्रवेशका लागि र १०६९ जनाले नयाँ श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । कात्तिकमा १३ हजार ३९९ जनाले श्रम स्वीकृति लिएका थिए । यसमध्ये १० हजार ८६१ जनाले पुनः प्रवेशका लागि र २ हजार ५३८ जनाले नयाँ श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

कसरी गइरहेका छन् ? 

नेपालीका लागि नयाँ कामदार भिसा जारी गर्न बन्द गरेपछि पनि विभागको तथ्याङ्कमा देखिनुमा हाल यूएईका लागि जारी भइरहेका श्रम स्वीकृतिहरू नयाँ भिसाका लागि नभई पहिले नै भिसा पाइसकेकाहरुका लागि रहेको विभागले जनाएको छ । 

विभागका प्रवक्ता चन्द्र सिवाकोटीले रातोपाटीसँग भने, ‘यूएईले नयाँ भिसा जारी गर्न मात्र रोकेको हो, तर पहिले नै भिसा प्राप्त गरिसकेका व्यक्तिहरूलाई यूएई जानबाट रोकिएको छैन ।’

उनका अनुसार कामदार भिसाको अवधि सामान्यतया तीन महिनासम्मको हुन्छ । यूएईले नयाँ भिसामा प्रतिबन्ध लगाउनुअघि नै भिसा पाएका व्यक्तिहरूले सोही भिसाको आधारमा अहिले श्रम स्वीकृति लिइरहेका छन् । 

‘पहिले नै भिसा आएका तर दसैं–तिहारजस्ता चाडपर्व सकेर जाने योजना बनाएका व्यक्तिहरूले अहिले विभागबाट अन्तिम श्रम स्वीकृति लिइरहेका छन्,’ प्रवक्ता सिवाकोटीले भने, ‘असोज, कात्तिक महिनाको तथ्याङ्कमा देखिएको संख्या उहाँहरूकै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप