शंकर, प्रदीप र पृथ्वी महासचिवका आकांक्षी, कसले मार्ला बाजी ?
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकैदिन २ हजार १ सयभन्दा बढी प्रतिनिधिहरु छनोट गर्दैछ । प्रतिनिधि छनोटको काम सकिएपछि नेतृत्वका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
केपी शर्मा ओलीले तेस्रो कार्यकाल पनि आफैं अध्यक्ष बन्ने चाहना राखेका छन् । तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहाना भने पूरा नहुने देखिएको छ ।
ओलीको सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने घोषणा गरेसँगै अध्यक्षमा ओली र पोखरेलको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
अध्यक्ष बाहेक एमालेमा यो पटक महासचिव पदका लागि पनि रोचक प्रतिस्पर्धा हुने एमाले नेताहरुबिच चर्चा चल्न थालेको छ । दशौं महाधिवेशनबाट महासचिव निर्वाचित भएका शंकर पोखरेल अध्यक्ष पदमा ओलीले नै तेहेयाउने बताएकाले महासचिव पदमै दोहोरिन चाहन्छन् ।
उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा (पीएस) गुरुङ एक कार्यकाल उपमहासचिवको जिम्मेवारी पूरा गरिसकेकाले अबको कार्यकालका लागि महासचिवमा स्वत: दाबेदारका रुपमा उभिने प्रयासमा छन् ।
गुरुङ दशौं महाधिवेशनमै महासचिवका आकांक्षी थिए । तर नेतृत्वलाई समीकरण मिलाउन अप्ठेरो पर्ने देखिएपछि पछि हटेर उपमहासचिवमा चित्त बुझाएका थिए ।
११ औं महाधिवेशन र आफ्नो उम्मेदवारीबारे पोखरेल, ज्ञवाली र गुरुङले औपचारिक रुपमा केही बोलिनसकेपनि आफू महासचिवमा उठ्ने भन्दै निकटस्थहरुलाई तयारी समेत गर्न भनिसकेका छन् ।
ओलीलाई व्यवस्थापन गर्न सकस
एमालेको हालको १९ सदस्यीय पदाधिकारीमध्ये ओलीका विश्वासिला पात्र मानिन्छन् महासचिव शंकर पोखरेल । पोखरेल अध्यक्ष ओलीले पुन: नेतृत्व (अध्यक्ष) मा आकांक्षा नराख्दा स्वत: अध्यक्ष दाबी गर्ने पक्षमा थिए । तर ओलीले अध्यक्षमा आफैं अघि सर्ने संकेत गरिसकेपछि उनी महासचिव पद सुरक्षित गर्न चाहन्छन् । एमालेभित्र वैचारिक, सैद्धान्तिक नेताहरुमध्येमा पर्ने पोखरेल संगठकका हिसाबले हेर्दा भने कमजोर मानिन्छन् । किनभने बितेको चार वर्षमा महासचिव पोखरेलले संगठन निर्माण र पार्टीलाई मजबुत बनाउने भूमिका खेल्न नसकेको आरोप पार्टीभित्रै लाग्ने गरेको छ । बरु पोखरेलले पार्टीभित्र गुटबन्दी बढाउन प्रश्रय दिएको कतिपय नेता कार्यकर्ताबिच चर्चा हुने गरेको छ ।
‘शंकर पोखरेलले महासचिवको कार्यकालमा रहँदा एउटा देखिने राम्रो काम गरेको पाइँदैन’, एकजना एमाले केन्द्रीय सदस्य भन्छन्, ‘गुटबन्दी सिर्जना गर्ने र नातावाद कृपावादलाई महत्व दिँदा तलदेखि माथिसम्म पार्टी तहसनसह मात्र भयो ।’

महासचिवको दाबेदारी प्रस्तुत गर्न लागेका उपमहासचिव ज्ञवाली पनि पार्टीमा बौद्धिक नेतामध्येमै पर्छन् । हाल स्कुल विभाग प्रमुख रहेका ज्ञवालीले पछिल्लो समय देश दौडाहालाई समेत प्राथमिकतामा राखे । ज्ञवालीको देश दौडाहा अध्यक्ष ओलीको सल्लाहअनुसार नै महासचिवमा अघि सार्ने तयारीस्वरुप भएको हुनसक्ने कतिपय एमाले नेता कार्यकर्ताको बुझाइ छ । तर अध्यक्ष ओलीले भने ज्ञवालीलाई आफूले कतै जान नभनेको महासचिव पोखरेल र उनी निकटका नेताहरुलाई जवाफ दिने गरेका छन् ।
‘मैले प्रदीपजीलाई कतै जान भनेको छैन, उहाँ आफैं गइरहनुभएको छ’, ओलीले भन्ने गरेका छन् । यता हक्की स्वभाव र सिधासाधी बोल्ने गुरुङ उपमहासचिव भइसकेको र जनजाति समेत भएकाले आफूलाई महासचिवको बलियो प्रतिस्पर्धीका रुपमा अघि सार्ने तयारीमा छन् । पोखरेल र गुरुङ दुवै पूर्व मुख्यमन्त्री हुन् । पोखरेल लुम्बिनी र गुरुङ गण्डकीका मुख्यमन्त्री बनेर काम गरिसकेका छन् । ज्ञवाली भने पर्यटन र परराष्ट्रमन्त्री भएर काम गरिसकेका नेता हु्न् ।
गण्डकी एमालेको संगठनभित्र पकड बनाएका गुरुङ, पोखरेल र ज्ञवाली तीनजना महासचिवमा आकांक्षीका रुपमा देखिएपछि अध्यक्ष ओलीलाई समीकरण मिलाउन सकस पर्ने देखिएको छ । महाधिवेशनमा ईश्वर पोखरेलले समेत समूहगत उम्मेदवारी दिने तयारी गरेपछि अध्यक्ष ओली गुरुङलाई आफ्नै कित्तामा ल्याउने प्रयासमा छन् । त्यस्तो अवस्थामा गुरुङलाई चित्त बुझाउन ओलीले शंकर र प्रदीपलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहन्छ ।
शंकरलाई उपाध्यक्ष र प्रदीपलाई उपमहासचिवमै दोहोर्याउने वा उपाध्यक्षमा व्यवस्थापन गरेर गुरुङलाई महासचिवको उम्मेदवार समेत बनाउनुपर्ने अवस्था ओलीलाई आउनसक्ने बताइएको छ । यद्यपि ओली निकट स्रोतहरुका अनुसार महासचिवमा ओलीको पहिलो रोजाइ पोखरेल, दोस्रो ज्ञवाली र तेस्रोमा गुरुङ रहेको बताइन्छ । यी तीनैजना नेता एमालेको छैठौं महाधिवेशनदेखि नै ओली कित्ताबाट यहाँसम्म आइपुगेका हुन् । गुरुङलाई कतिपयले ओलीको आलोचक भन्ने गरेपनि उनी अप्ठ्यारोमा ओलीलाई साथ दिने नेतामा पर्छन् ।
यस्ता छन् तीनै जनाका समानता र भिन्नता
एमालेको सातौं महाधिवेशनमा जम्मा ६ जना मानिस निर्वाचित हुँदा यी तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । एमालेको छैठौं महाधिवेशन (२०५४) मा एकैपटक केन्द्रीय कमिटीमा पुगेका तीनै जना नेता त्यसबेला शंकर पोखरेल पूर्ण र प्रदीप र पीएस वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् ।
‘तीनजना नै तत्कालीन अवस्थामा माधव नेपालले बचाइदिएको, एकै पटक केन्द्रीय कमिटीमा आएको र तीनजना नै केपी ओलीका बफादार भनेर चिनिन्छन्’, एमालेका एक पदाधिकारी भन्छन्, ‘यी तीनैजना नेकपा वा एमालेभित्रको विवादमा पनि सधैं केपी ओलीसँगै उभिँदै आएका छन् ।’
पोखरेल आफूलाई सैद्धान्तिक, वैचारिक नेताका रुपमा चिनाउन चाहन्छन्, तर उनमा कुनै नवीनता नभएको भनेर आलोचना हुने गरेको छ । ‘उहाँ सैद्धान्तिक वैचारिक नेता हो । जबजको प्रवर्तक मदन भण्डारी हो भने प्रवचक शंकर पोखरेल हो’, पोखरेल निकटहरु भन्छन्, ‘दीनबन्धु पोखेरलले पुराण भनेजस्तो कला छ ।’

पोखरेलका कतिपय विचार संकीर्ण र केपी ओलीको भन्दा पनि ‘रिजेक्ट’ हुने खालका रहँदै आएका छन् । उदाहरणका लागि पोखरेलले केही समयअघि कर्णालीमा पुगेर त्यहाँका जनताले बहुदल आएपछि मात्र भात खान पाएको कुरा होस् वा मधेसी मानिसलाई काला भनेर भन्ने गर्दा उनी विवादित बन्ने गरेका छन् । आफू महासचिव भएका बेला समानुपातिकमा आफ्नै बहिनी मेनका पोखरेललाई एक नम्बर सूचीमा राखेका पोखरेल आफन्त र नजिककालाई अवसर दिनेमा चिनिन्छन् ।
पछिल्लो पटक पोखरेलले तीनजना भीसी एमालेले पाउँदा दुई जना दाङकै बनाएको भनेर आलोचना खेप्नुपरेको थियो । जानकारहरुका अनुसार एमालेमा संस्थागत नै भएर गुटको राजनीति गर्नेमा पोखरेल चिनिन्छन् । तर विद्यार्थीकालदेखि नै समूहमा रहेर काम गर्नसक्ने क्षमताका नेताका रुपमा चिनिन्छन् । पोखरेल एमालेको केन्द्रीय कमिटीमा नआउँदै प्रचार विभाग प्रमुख बन्ने अवसर पाएका नेतामा पर्छन् । त्यही कारण एमालेमा कतिपयले पोखरेललाई गमलामा हुर्काइएको फूलको संज्ञा दिने गर्छन् । पोखरेल केपी ओलीको कुनैपनि कुरामा राय बझाउन चाहँदैनन्, बरु ओलीलाई खुसी पारेर पद हत्याउने उनको प्रयास देखिन्छ ।
नमिठो कुरालाई पनि सरल रुपमा प्रस्तुत गर्ने क्षमताले लोकप्रिय मानिन्छन् प्रदीप ज्ञवाली । सरल र मिठासपूर्ण शब्दमा अभिव्यक्ति दिने ज्ञवाली कूटनीतिक हिसाबले पनि सन्तुलित ढंगले अघि बढ्न खोज्ने नेताका रुपमा चिनिन्छन् । बाहिर नबोलेपनि पार्टीभित्र फरक मत राख्नसक्ने नेताका रुपमा ज्ञवाली चिनिन्छन् । उदाहरणका लागि ओलीले नेकपाकालमा संसद् विघटन गर्ने कुरा गर्दा ज्ञवालीले प्रतिवाद गरेका थिए ।

त्यसयता ज्ञवाली ओलीका भित्री काममा सहभागी हुन छाडेका छन् । अध्यनशील, पब्लिक डिस्कोर्समा भाग लिने भएकाले ओलीले ज्ञवालीलाई कहिलेकाहीँ कविको समेत संज्ञा दिने गर्छन् । जनाधारका हिसाबले पोखरेल र ज्ञवालीको समानता छ ।
यी दुवैभन्दा फरक पृथ्वी सुब्बा हक्की र सिधासाधा बोल्ने नेतामा पर्छन् । उनलाई जातिगत रुपमा पक्षधरता देखाउने नेताको रुपमा समेत कतिपयले बुझ्ने गर्छन् । केपी ओलीलाई संकटमा साथ दिने तर मन नपरेका कुरा ‘ड्याङड्याङ’ भन्ने नेता भनेर गुरुङ एमालेभित्र चिनिन्छन् ।
उदाहरणका लागि नेकपा विवादका बेला गुरुङ गण्डकीका मुख्यमन्त्री थिए, तर अरु कोही नबोलेका बेला काठमाडौं आएर पार्टी एकताको पक्षमा बोलेका थिए । संगठनात्मक हिसाबले पोखरेल र ज्ञवाली भन्दा गुरुङ अगाडि रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

पार्टीका असहमत पक्षलाई पनि संवादमा ल्याएर समाधान खोज्न सक्ने क्षमता गुरुङमा रहेपनि टेबलमा बसेर मसिनो काममा उनको त्यति ध्यान गएको देखिँदैन । यद्यपि उनी पार्टीको केन्द्रीय कार्यालय सचिव समेत भएर भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् । लेखनका सवालमा पोखरेल, ज्ञवाली र गुरुङ तीनैजना अब्बल मानिन्छन् ।
बाहिरन सक्छन् धेरै केन्द्रीय नेता
एमालेमा हाल ३५५ जना केन्द्रीय सदस्य छन् । तर गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या घटाएको छ । विधानमै केन्द्रीय कमिटी र पदाधिकारी संख्या घटेकाले अहिलेका केही नेताहरुले केन्द्रीय कमिटीमै स्थान नपाउने सम्भावना हुन्छ । विधान महाधिवेशनले केन्द्रीय कमिटी २५१ र १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३, सचिव ७ समेत गरी २५१ सदस्यीय केन्द्रीय कमिटी निर्माण हुनेछ ।
केन्द्रीय सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटीमा परिणत गरेको एमालेले २५१ को एक तिहाइ ८४ सदस्यीय पोलिटब्युरो गठन गर्नेछ । अहिलेसम्म स्थायी कमिटी रहेको एमालेमा अब भने उक्त कमिटी पनि हट्नेछ ।
स्थायी कमिटी हटेसँगै अहिले स्थायी कमिटीमा रहेका कतिपय नेताहरु पोलिटब्युरोमा चित्त बुझाउन बाध्य हुनेछन् । जेनजी आन्दोलनको प्रभावका कारण एमालेलाई युवापुस्ताका नेताहरु समेत केन्द्रीय कमिटी र पदाधिकारीमा समेट्नुपर्ने दबाब छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण