शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकीमा थपिए ६७ हजार नयाँ मतदाता

सोमबार, ०८ मङ्सिर २०८२, १७ : २९
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • गण्डकी प्रदेशमा ६७ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन्।
  • नयाँ मतदाता थपिनेमा युवा पुस्ताको संख्या उल्लेख्य रहेको छ।
  • कास्कीमा सबैभन्दा धेरै मतदाता थपिएका छन् भने विभिन्न जिल्लामा निर्वाचन क्षेत्रको संख्या उल्लेख छ।

पोखरा । गण्डकी प्रदेशमा ६७ हजार भन्दा बढी मतदाता नयाँ थप भएका छन् । जिल्ला स्थित निर्वाचन कार्यालयहरूको विवरण हिसाब गर्दा प्रदेशभर लगभग ६७ हजार ४ सय जना मतदाता थप भएका हुन् । 

नवलपुर जिल्लाको एकिन तथ्याङ्क नआएका कारण प्रस्ट अङ्क निकालिएको छैन । जिल्ला निर्वाचन अधिकारीहरू यस वर्ष सबैभन्दा धेरै युवा पुस्ताका मतदाता थप भएको बताउँछन् । 

उनीहरूका अनुसार अनलाइन मार्फत आवेदन दिनेमा झन् धेरै युवा छन् । ‘कार्यालयमा आएर आवेदन दिने पनि युवा नै धेरै देखिन्छन् । अनलाइनबाट त झन् युवाहरूलाई सहज भयो,’ उनीहरू भन्छन्, ‘यसपालि धेरै युवा पुस्ताको आकर्षण देखियो ।’

असोज १० देखि मङ्सिर ५ गतेसम्म सरकारले नयाँ आवेदनको लागि समय दिएको थियो । तर, उमेरगत विवरण भने अझै सार्वजनिक भैसकेको छैन ।

गण्डकीका जिल्लामध्ये सबैभन्दा धेरै कास्कीमा थपिएका छन् । ३ निर्वाचन क्षेत्र रहेको यहाँ १७ हजार ८ सय ९४ मतदाता थप भएका छन् ।

नियमित प्रक्रियाबाट ९ हजार ६ सय ९७ जनाले नामावली दर्ता गरेका छन् । राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ८ हजार १ सय ९७ जना मतदाता थप भएका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । ७ सय ५ जनाले ठाउँसारी गर्न आवेदन दिएका छन् भने ३ सय ५२ जनाले विवरणमा भएको त्रुटि सच्याएका छन् । योसँगै जिल्लामा ३ लाख ११ हजार ७ सय ५६ मतदाता कायम भएका छन् ।

स्याङ्जामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार, ८ हजार २ सय २५ नयाँ मतदाता थप भएका हुन् ।

कार्यालयमै पुगेर १ हजार ८ सय ४१ जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत ६ हजार ३ सय ८४ जनाले दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

यसअघि स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता थिए । तर, निर्वाचन आयोगले पछिल्लो पटक कार्तिक १६ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार केही घटेर २ लाख ४१ हजार ६ सय ९९ कायम गरिएको थियो ।

नवलपुरमा करिब ८ हजार नयाँ मतदाता थप भएका कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रबाट नामावली दर्ता गराउनेको टुङ्गो नलागेका कारण पूरा विवरण अझै नआएको कार्यालय प्रमुख लालप्रसाद भुसालले जानकारी दिए । 

उनका अनुसार कार्यालयमै पुगेर नाम दर्ता गर्नेहरू ३ हजार १ सय ५३ जना छन् भने राष्ट्रिय परिचयपत्रबाट नाम दर्ता गराउनेहरू करिब ५ हजार जना छन् । बाह्य जिल्लाका १ सय ४० जनाको मतदाता नामावली दर्ता भएको छ । त्रुटि सच्याउने र ठाउँसारी अझै नटुङ्गिएको भुसालले बताए । नवलपुरमा यसअघि २ लाख ३३ हजार ९५ जना मतदाता थिए ।

तनहुँ जिल्लामा ८ हजार भन्दा बढी मतदाता थप भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले तोकेको अवधिभित्र जिल्लाभर ८ हजार ३ सय ६६ मतदाता थप भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयमै पुगेर ३ हजार २ सय जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत ५ हजार १ सय ६६ जनाले नाम दर्ता गराएका छन् । यसैगरी ९ सय ६ जनाले ठाउँसारी र २ सय ९७ जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएका जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । तनहुँमा २ लाख ४७ हजार ४ जना मतदाता छन् ।

गोरखा जिल्लामा झण्डै पौने ८ हजार नयाँ मतदाता थप भएका छन् । सरकारले तोकेको समयावधिभित्र ७ हजार ७ सय ८५ जनाले नामावलीमा नाम दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउने १ हजार ५ सय ५० जना छन् भने ६ हजार २ सय ३५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराएका निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । 

नयाँ जोड्दा गोरखामा २ लाख २९ हजार ७ सय ६६ मतदाता कायम भएका छन् । गोरखामा समेत अधिकांश युवा पुस्ताका मतदाता थप भएका छन् ।

बागलुङ जिल्लामा ५ हजार ३ सय ९३ जना नयाँ मतदाता थपिएका छन् । असोज १० देखि मङ्सिर ५ सम्म मतदाता नामावली सङ्कलन गरिएको थियो ।

यसअघि बागलुङमा १ लाख ८९ हजार १ सय ७३ मतदाता थिए । बायोमेट्रिक विधिबाट कार्यालयमै आएर १ हजार ४ सय ६४ र राष्ट्रिय परिचयपत्रका आधारमा ३ हजार ९ सय २९ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए । तिसबाहेक १ सय जनाको बाह्य दर्ता भएको छ ।

लमजुङमा साढे ४ हजार मतदाता थप भएका छन् । यो अवधिमा ४ हजार ५ सय ३१ जना नयाँ मतदाताले नाम दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ ।

सूचना अधिकारी भूमीनारायण पौडेलका अनुसार १ हजार ४ सय ५७ जनाले कार्यालयमै पुगेर फोटोसहितको मतदाता नामावली दर्ता गरेका छन् भने ३ हजार ७४ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा नाम दर्ता गराएका छन् । लमजुङमा यसअघि एक लाख ३३ हजार ७ सय १७ जना मतदाता थिए ।

म्याग्दीमा २ हजारभन्दा बढी मतदाता थपिएका छन् । अन्तिम दिनसम्म २ हजार २ सय ३७ जनाको नाम दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

तीमध्ये, कार्यालयमै पुगेर ८ सय १९ जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचयपत्र मार्फत १ हजार ४ सय १८ जनाले नाम दर्ता गराएका छन् । ८२ मतदाताको गल्ती सच्याइएको छ भने १ सय ९० जनाको ठाउँसारी गरिएको जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिए ।

म्याग्दीमा यसअघि ८६ हजार १ सय २० जना मतदाता थिए । १ हजार ६ सय मतदाता घटेर ८४ हजार ५ सय २० कायम भएका थिए ।

पर्वतमा ४ हजार ६ सय १२ जना नयाँ मतदाता थप भएका छन् । कार्यालय प्रमुख बुद्धिराम उपाध्यायका अनुसार राष्ट्रिय परिचयपत्रबाट ३ हजार ३ सय ८७ जना र कार्यालयमै पुगेर नाम दर्ता गराउनेहरू १ हजार २ सय २५ जना छन् । अन्य काम प्रक्रियामै रहेको उनले जानकारी दिए । बाह्य जिल्लाका मतदाता, त्रुटि सच्याउने र ठाउँसारी गर्नेहरूको विवरण सङ्कलन भइरहेको र १० गतेसम्म टुङ्गिने उनले बताए ।

मुस्ताङमा यही अवधिमा २ सय ६६ मतदाता नयाँ थपिएका छन् । कार्यालयमै आएर १ सय ४३ जना र राष्ट्रिय परिचयपत्रका आधारमा १ सय २३ जनाले नामावली दर्ता गरेका निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

मुस्ताङमा थपिएका मतदातामध्ये अधिकांश युवापुस्ताका छन् । जिल्ला बाहिरका ४१ जना मतदाताले कार्यालयबाट मतदाता नामावली दर्ता गराएका उनले जानकारी दिए । यसअघि मुस्ताङमा १० हजार ४ सय ८५ जना मतदाता थिए ।

मनाङमा १ सय ३५ जना नयाँ मतदाता थप भएका छन् । ७७ जना राष्ट्रिय परिचयपत्रबाट नामावली दर्ता गरेका छन् भने ५८ जना कार्यालयमै पुगेर नाम दर्ता गराएका हुन् । जिल्लाका निमित्त प्रमुख गोविन्दप्रसाद अर्यालका अनुसार ८ जना जिल्ला बाहिरका मतदाताले पनि नाम दर्ता गराएका छन् । ६३ जनाले ठाउँसारीको निवेदन दिएका छन् भने १० जनाले त्रुटि सच्याएका छन् । यसअघि मनाङमा ६ हजार ८ सय ९३ मतदाता थिए ।

प्रतिनिधि सभा अन्तर्गत गण्डकी प्रदेशबाट १८ वटा निर्वाचन क्षेत्रमा चुनाव हुन्छ । कास्कीमा सबैभन्दा धेरै ३ वटा निर्वाचन क्षेत्र छ भने ५ वटा जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । बाँकी ५ जिल्लामा २ निर्वाचन क्षेत्र छन् ।

पर्वत, मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दीमा एउटा मात्रै निर्वाचन क्षेत्र छन् भने गोरखा, तनहुँ, नवलपुर, स्याङ्जा र बागलुङमा २ वटाका दरले निर्वाचन क्षेत्र छन् । अघिल्लो निर्वाचनमा माओवादी र एकीकृत समाजवादीसँग तालमेल गरेको काँग्रेसले सबैभन्दा धेरै काँग्रेसका उम्मेदवार विजयी भएका थिए । काँग्रेसले ९ सिट जितेको थियो ।

तनहुँ १ का विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि गरिएको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भए ।

एमाले ४ सिट, माओवादी २ सिट र जनमोर्चा १ सिटमा विजयी भएको थियो । कांग्रेसले गोरखा १, मनाङ, नवलपुर १ र २, स्याङ्जा १ र २, म्याग्दी र मुस्ताङमा जितेको हो ।

एमालेले कास्कीका तीन वटै क्षेत्र र पर्वतमा जित्दा माओवादी गोरखा २ र बागलुङ २ मा विजयी भयो । तनहुँ १ को उपनिर्वाचन रास्वपाले जित्यो भने बागलुङ १ मा राष्ट्रिय जनमोर्चा विजयी भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप