बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दाङमा बढ्यो धान उत्पादन

मङ्गलबार, ०९ मङ्सिर २०८२, १७ : १४
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • यस वर्ष दाङमा धान उत्पादन बढेर एक लाख ८६ हजार ५३ मेट्रिकटन पुग्यो।
  • उत्पादन बढ्नुको कारण धेरै जमिनमा धानखेती, उन्नत बीउ र समयमै परेको वर्षा हो।
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देउखुरी क्षेत्रका किसानबाट धान खरिद सुरु गर्यो।

दाङ । दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएकाे छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएकाे छ । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लाभर खेतीयोग्य जमिन ३९ हजार ४०० हेक्टर रहेकामा यस वर्ष ३६ हजार ४८१ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकाे छ ।

गत वर्ष जिल्लामा ३६ हजार १०८ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएकामा एक लाख ७८ हजार ५३ मेट्रिकटन धान उत्पादन भएकाे छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएकाे हाे ।

त्यस्तै २०८० सालमा ३५ हजार १८४ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट एक लाख ५८ हजार ३२८ मेट्रिकटन धान उत्पादन भएकाे हाे। सूचना अधिकारी लामिछानेका अनुसार उत्पादन बढ्नुमा धानखेती यस वर्ष धेरै क्षेत्रफल जमिनमा लगाउनु, बीउमा सुधार, ढिलो वर्षा भए पनि लगातार वर्षा हुनु र पछिल्लो समयमा धानबाली स्याहार गर्ने बेला परेको पानीले खासै धानखेतीमा असर नगरेकाले उत्पादन बढेकाे हाे।

त्यस्तै विगतका वर्षको तुलनामा यस वर्ष रासायनिक मलको उपलब्धतामा सहजता, हाइब्रिड र उन्नत जातको बीउको प्रयोग धैरै भएकाले उत्पादन बढेकाे हाे।

कार्यालयले दिएको जानकारीअनुसार यस वर्ष हाइब्रिड बीउ ६५ प्रतिशत, ३५ प्रतिशत उन्नत र पाँच प्रतिशत स्थानीय रैथाने जातको धान रोपिएकाे छ। सबैभन्दा धेरै युएस ३१२, एआरआई ६४४४, एमपी ३०३०, एचजेजी १०, जेके ५०१७, उपज, राजा, क्याम्पियन जातको हाइब्रिड धान रोपिएकाे छ।

त्यस्तै उन्नततर्फ सावाँ मन्सुली, हर्दिनाथ ६, रामधान, राधा–४, सुक्खा–१, २, ३, ४, गङ्गोत्री, सावित्रीलगायतका जातका धान लगाइयो। त्यसैगरी दाङको स्थानीय रैथाने धानमा तिल्की र सिम्ठारो धान पनि खेती गरिएकाे छ।

यसैबिच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष देउखुरी क्षेत्रका लमही, गढवा र राप्ती गाउँपालिकाका किसानहरुले उत्पादन गरेको धान खरिद सुरु गर्यो। कार्यालयका प्रमुख तुलमायाँ लोवाले जिल्लाका स्थानीय तहबाट ५०० क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको जानकारी दिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप