मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिभरपुल विजय परेडमा भिडमाथि कार चलाउने आरोपीले स्वीकारे अपराध

बिहीबार, ११ मङ्सिर २०८२, १४ : ४७
बिहीबार, ११ मङ्सिर २०८२

लन्डन । लिभरपुलको प्रिमियर लिग जितको खुसियालीमा निस्किएको भिडमाथि कार चलाउने आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । भिडमा आफूले जानाजानी कार घुसाएको उनले बताएका छन् ।

महिनौंसम्म अपराध स्वीकार नगरेपछि उनले अन्ततः ३१ गम्भीर अपराधका धेरैजसो आरोपमा आफैँलाई दोषी भन्दै सबैलाई चकित पारेका हुन् । 

लिभरपुल फुटबल क्लबको प्रिमियर लिग विजय परेडका क्रममा भिडमाथि कार चलाउने आरोपी पल डोहलले महिनौंसम्म ३१ वटा आपराधिक आरोप अस्वीकार गर्दै आएका थिए । पल डोहलमाथि लिभरपुल सहरको केन्द्रमा भएको घटनाका क्रममा गम्भीर शारीरिक क्षति पुर्‍याएको, घाइते बनाएको, झगडा गर्ने र खतरनाक ड्राइभिङ गर्ने लगायतका कसुर लागेका थिए । 

अदालतमा बयान फेरेका थिए 

ब्रिटिश युवकले महिनौंसम्म अपराध स्वीकार नगरेपछि बुधबार अदालतमा नाटकीय ढंगले आफ्नो बयान फेरेर स्वीकार गरेका हुन् । अदालतमा सुनुवाइका क्रममा अभियोजकले उनीविरुद्ध प्रमाण पेस गर्ने तयारी गरिरहेका बेला ५४ वर्षीय ती व्यक्तिले सनसनीपूर्ण ढंगले आफ्नो बयान परिवर्तन गरे । आरोपी पल डोहल, सुट र चस्मा लगाएका, रोइरहेका थिए र भुइँमा हेरिरहेका थिए र प्रत्येक पटक लर्बराउँदो आवाजमा आफैँलाई 'दोषी' भनिरहेका थिए । 

न्यायाधीश एन्ड्रयु मेनरीले डिसेम्बर १५ बाट सुरु भई दुई दिनमा सजाय सुनाउने बताए । उनले आरोपी डोहललाई 'केही अवधिको हिरासतको सजाय'का लागि तयार रहन भनेका छन् । सबैभन्दा गम्भीर अपराधका लागि त्यहाँ अधिकतम सजाय आजीवन कारावास हो । तीन सन्तानका पिता डोहल अहिले हिरासतमा छन्, सजाय सुनाउन्जेलसम्म उनी जेलमै रहनेछन् । 

मे २६ मा लिभरपुल फुटबल क्लबको प्रिमियर लिग विजय परेडका क्रममा ठुलो संख्यामा समर्थकहरू लिभरपुलको सिटी सेन्टरमा भेला भएका थिए । परेडका लागि सडकहरू बन्द थिए । यसै क्रममा डोहलले जानाजानी आफ्नो गाडीलाई हतियारको रूपमा प्रयोग गरे र भिडमा कार चलाएका थिए । मर्सीसाइड पुलिसका अनुसार उनले १३४ जनालाई घाइते बनाएका थिए, जसमा शिशुहरू, अन्य बालबालिकाहरू र वयस्कहरू सामेल थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप