‘एमाले कार्यकर्ताले बचाएको पार्टी हो, महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ’
काठमाडौं । २०६८ सालमा ऊर्जामन्त्री भएपछि चर्चामा आएका हुन् एमाले युवा नेता गोकर्ण विष्ट । देशले चरम लोडसेडिङ खेपिरहेको बेला केही भएपनि घटाउने मन्त्रीको रुपमा उनलाई लिइन्छ । २०६४ सालको निर्वाचन बाहेक लगातार सांसद रहेका विष्ट अहिले एमालेको सचिव छन् ।
२०२२ सालमा गुल्मीमा जन्मिएका विष्टले २०३५ सालबाटै विद्यार्थी राजनीति सुरु गरेका हुन् । अनेरास्ववियुको जिल्ला, अञ्चल हुँदै केन्द्रीय नेतृत्वमा पुगेका विष्ट २०५० सालदेखि एमालेको तत्कालीन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघ नेपालको केन्द्रीय कमिटीमा रहेर काम गरेका थिए ।
२०५३ सालमा संघको महासचिव बनेका विष्ट २०५७ सालदेखि दुई कार्यकाल त्यसको अध्यक्ष भए । पार्टीका विभिन्न केन्द्रीय विभागको प्रमुख पद सम्हालेका विष्ट २०७१ सालदेखि एमालेको सचिव छन् । महाधिवेशनमा पदाधिकारीमा सबैभन्दा बढी मत ल्याउने अर्थात् म्यान अफ दी महाधिवेशन बनेका थिए विष्ट ।
लामो राजनीतिक यात्रा अनि राजकीय जिम्मेवारीमा पुग्दा पनि उनको छविमा कुनै प्रश्न उठेको छैन । इमान्दार छवि बनाएका विष्ट काममा भने आक्रामक छन् । व्यवहारमा सरल र मिजासिला विष्टसँग हरेक मुद्दामा एमाले किन एक्लिँदै छ ? एमाले मुलुकलाई किन उल्टो बाटो हिँडाउन खोज्दैछ ? सबैले आत्मसात गरेको नवयुवाको आन्दोलनलाई एमाले किन विस्मृतिमा पुर्याउन चाहन्छ ? एघारौं महाधिवेशनमा केपी ओलीविरुद्ध कस्तो टिम बन्दैछ ? विष्ट स्वयं चाहिँ कुन पदमा प्रतिस्पर्धा गर्दैछन् ? 'वारपार'मा एमाले सचिव विष्टसँग यिनै विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
नेकपा एमाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि किन नचेतेको ? अझै उल्टो बाटो हिँड्न खोज्दैछ किन ?
आन्दोलनका क्रममा देखा पर्ने अनेक प्रवृत्तिहरूलाई गम्भीरताका साथ समीक्षा गर्नुपर्छ । समय–समयमा परिवर्तनका एजेन्डाहरू बाहिर आउने गर्छन् । कहिलेकाहीँ परिवर्तनका एजेन्डाहरू ठीक ढंगले अगाडि नबढ्न पनि सक्छन् । ती सबै कुरालाई हामीले सही ढंगले बुझ्ने, विश्लेषण गर्ने र आफूलाई कहाँनिर परिमार्जन गर्नुपर्छ, कहाँनिर सच्याएर लानुपर्छ भन्ने सन्दर्भमा गम्भीरता साथ ध्यान दिनुपर्छ । नेकपा एमालेको इतिहास हेर्ने हो भने हामीले पटक–पटक कमजोरी पनि गरेका छौँ । र, ती कमजोरीहरूलाई पटक–पटक सच्याएका पनि छौँ । कमजोरीलाई महसुस पनि गरेका छौँ र त्यसलाई सच्याउन हामीले आफूलाई आत्मालोचित हुँदै अगाडि बढ्ने काम पनि गरेका छौँ ।

जहाँसम्म जेनजीको प्रदर्शनपछिका केही परिदृश्यको सन्दर्भ छ, त्यसमा जेनजीका केही जायज मागहरूलाई सम्बोधन गरेर जानुपर्छ भन्ने सन्दर्भमा हामी पनि तयार छौँ । तर भदौ २४ गते जुन प्रकारले घुसपैठ भयो, त्यस्ता घुसपैठहरूको सन्दर्भलाई यथेष्ट विश्लेषण गर्नुपर्छ, छानबिन हुनुपर्छ । त्यो प्रकारको उच्छृङ्खल गतिविधि कहाँबाट भयो, कुन ढंगले हुन पुग्यो भन्ने कुरालाई हेरेर दोषीहरूलाई कारबाही गर्नुपर्छ । कुनै पनि पार्टीले परिस्थिति अनुसार आफूलाई सच्याएर लैजान सकेन भने वा समयको मागलाई बुझ्न सकेन भने अगाडि बढ्न सक्दैन ।
तर तपाईको पार्टी अध्यक्ष केपी ओली त जेनजी र त्यो आन्दोलनबारे त कुरै सुन्न चाहनुहुन्न नि त । त्यत्रो ठुलो घटना हुँदा सरकारको नेतृत्व उहाँले नै गर्नुभएको थियो । तर जिम्मा लिन्न भन्नुहुन्छ । जिम्मा कसले लिने त ?
हामी आफैँ सरकारमा भएको कारणले हामीले जे प्रतिरक्षा गर्छौं त्यो नागरिकहरूलाई विश्वास लाग्ने गरी नै गर्नुपर्छ । नागरिकहरूलाई अहिले विश्वास नलागेको हुनसक्छ । तर सत्यतथ्यले जे बाहिर ल्याउँछ, ती चीजमा हामी अवश्य पनि महसुस गर्ने नै छौँ । यही कारणले हामी भनिरहेका छौँ, घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्छ । निष्पक्ष विश्लेषण, निष्पक्ष मूल्याङ्कनका आधारमा हामीले जे जिम्मेवारी लिनुपर्छ त्यसका लागि हामी तयार छौँ । हामीले गरेको कमजोरी हामी जिम्मेवारी लिन तयार छौँ तर हामीले गरेको कमजोरी होइन र यदि अरू कसैले गरेको छ भने कमी जहाँबाट भएको छ पहिचान हुनुपर्छ । त्यही ढंगले त्यसको उपचार गर्नुपर्छ ।
सबै दलहरू निर्वाचन, निर्वाचन भनिरहेका बेलामा एमाले किन फरक धारमा उभिएको ?
निर्वाचन आयोगमा हामीले दल दर्ता गरिसक्यौं ।
एकातिर संसद पुनर्स्थापनाका लागि अदालतमा, अर्कोतिर दल दर्ता गर्न निर्वाचन आयोगमा । कस्तो दोहोरो चरित्र एमालेको ?
सरकारले निर्वाचनको माहोल तयार गरेको छैन तर निर्वाचनको जलप मात्रै लगाइराको छ । निर्वाचन मात्रै भनिरहेको छ । हाम्रो पार्टी अध्यक्षलाई स्थानहद गरिएको छ । पार्टीका नेता कार्यकर्ताहरूलाई निर्वाध ढंगले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न बन्देज लगाउने, अवरोध पैदा गर्ने र निर्वाचनको वकालत मात्रै गर्ने कुराले निर्वाचन हुन सक्दैन भन्ने हाम्रो विश्लेषण हो ।
तर हामीले निर्वाचनमा भागै लिँदैनौँ त भनेका छैनौँ नि त । जनताको जनादेशबाट एमाले पटक–पटक सरकारमा पुगेको छ । प्रतिस्पर्धामा विश्वास राख्दछ, जनताको जनादेशमा विश्वास राख्दछ, जनताको अभिमतमा विश्वास राख्दछ । यो पार्टीले कहीँ निर्वाचनको विरोध गर्छ र ?
संसद् पुनर्स्थापनाको लागि मुद्दा किन हालेको त ?
प्रतिनिधिसभाको विघटन जुन ढंगले गरियो, त्यो संवैधानिक होइन भन्ने कुरामा त तपाईं पनि सहमत हुनुहुन्छ । जो कोही सहमत छ । परिस्थितिले अदालतले के फैसला गर्छ, त्यो फरक कुरा हो । तर प्रतिनिधिसभा विघटन संवैधानिक होइन । यसकारण न्यायिक निरुपणका लागि, संवैधानिक परीक्षणका लागि नेकपा एमालेले आवाज उठाएको हो, प्रयत्न गरेको हो । तर यसको अर्थ हामी निर्वाचनमा जाँदैनौँ, निर्वाचन बहिष्कार गछौं, जनताबाट भाग्न चाहन्छौँ भनेर हामीलाई जुन ढंगले दोषारोपण गर्न खोजिँदैछ, त्यसमा सत्यता छैन ।
एमाले जेनजीसँग लडिरहेको छ, सरकारसँग लडिरहेको छ, सुरक्षा निकायसँग पनि लडिरहेको देखिन्छ । किन यस्तो एक्लो भयो एमाले ?
संविधानमाथि हस्तक्षेप भएको छ । संविधानलाई कुनै पनि हिसाबले लिकमा फर्काउनुपर्ने छ । जाति, भाषा, धर्म, संस्कृतिका बिचमा अझ साम्प्रदायिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने छ । यसलाई कमजोर पार्न चाहने शक्तिहरू पनि क्रियाशील बनिरहेका छन् । साम्प्रदायिक सद्भावलाई जोगाएर एकताका साथ अगाडि बढ्नुपर्ने बेला छ । यसका लागि मिल्न सकिने पार्टीसँग, मिल्न सकिने मुद्दामा र अझ कतिपय सन्दर्भमा मिल्न सकिने व्यक्तिहरूलाई समेत पनि आह्वान गरेर जानुपर्ने आवश्यकता छ ।
हामी एक्लै जान कोसिस गर्यौं भने कहिलेकाहीँ पवित्र उद्देश्य राख्दा पनि चाहे अनुसारको राष्ट्र र जनताको हितलाई हामीले रक्षा गर्न सक्दैनौँ ।
जेनजी आन्दोलनमा तपाईंको पार्टी अध्यक्षले भनेजस्तै वैदेशिक चलखेल भएको हो ?
मौका पाउँदा अस्थिरता पैदा गर्न चाहने, देशलाई कमजोर पार्न चाहने कतिपय बाह्य शक्तिहरू, शक्ति केन्द्रहरू पनि रहन्छन् । चलखेल गर्छन् । आज मात्र होइन, भोलि पनि यो सम्भावना रहन्छ । तर यी सबै कुराका बाबजुद पनि हामीले हाम्रो देशलाई कसरी जोगाउन सक्छौँ, हामीले हाम्रो लोकतान्त्रिक अभ्यासलाई, संविधानलाई र जनताको समर्थनलाई कसरी जोगाएर अगाडि बढ्न सक्छौँ भन्ने कुरा पार्टीहरूको भूमिकामा निर्भर रहन्छ । सरकारको भूमिकामा निर्भर रहन्छ ।
भदौ २३ र २४ गतेको आन्दोलनबारे तपाईको चाहिँ धारणा के हो ? तपाईंको पनि घर जलाइयो ।
सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल खुला गर्ने मागसहित नवयुवाहरूले उठाएका मुद्दाहरूलाई हामीले समयमै गम्भीरता साथ ध्यान दिनुपर्ने आवश्यकता थियो । जब जब सडकमा मान्छेहरू देखा पर्छन्, निराश, असन्तुष्ट र आक्रोशित मान्छेहरूको जमात थपिने गर्छ । हरेक आन्दोलनमा । कतिपय यो प्रकारको अवस्था, प्रवृत्ति त्यहाँ पनि देखियो होला । यी सबै चीजलाई सुरक्षा संयन्त्रले ठीक ढंगले व्यवस्थापन गर्न सक्नुपर्थ्यो । त्यहाँ पनि कमी रह्यो होला ।

समाजमा एक ढंगले अराजकता पनि बढ्दै गइरहेको छ । असन्तुष्टि, अराजकता तीव्र बनिरहेको छ । कसैले कसैलाई विश्वास नगर्ने, कसैले कसैको भरोसा नगर्ने खालको अवस्था देशमा देखा परेको छ । त्यसपछि सबै मानिसलाई एउटै भाँडोमा राखेर विश्लेषण गर्ने, इमान्दार र बेइमानहरूको बीचमा भिन्नता नदेख्ने खालका प्रवृत्ति देशमा देखा परेका छन् ।
जहाँसम्म मेरो घर जलाइएको प्रसंग छ यसमा म यति मात्रै भन्न चाहन्छु, मेरो घरमा आगो लगाउने साथीहरूलाई कि उहाँहरूलाई बुढेसकालमा हामीले गल्ती गरेछौं भनेर पश्चताप हुनसक्छ । बुढेसकालमा हामीले फलानाको घर जलाएर गल्ती गरेछौं भनेर महसुस हुने दिन आउने छ । म यति मात्र भन्न चाहन्छु ।
समाजमा अराजकता मौलाउँदै गएको, बढ्दै गएको भन्ने संकेत गर्नुभयो । यो काममा पनि एमालेले नै सहयोग गरिरहेको छ नि ? उत्ताउला, भड्किला अभिव्यक्ति दिनेमा त पछिल्लो समय एमाले नै अगाडि देखिन्छ नि ?
राजनीतिक पार्टी भनेको केवल सत्ता प्राप्ति गर्ने मात्र होइन । राजनीतिक पार्टीले जनताको मनोविज्ञानलाई आत्मसात गर्ने, बुझ्ने र जनतामा नकारात्मक भावना पैदा नहोस् भनेर गम्भीरताका साथ ध्यान दिने काम गर्नुपर्छ । अझ नेपाली समाजमा रहेका हरेक उमेर समूहका नागरिकहरू, सबैलाई सकारात्मक ढंगले सोच्ने, सकारात्मक बाटोमा हिँड्ने र एकले अर्कालाई माया गर्ने, एकले अर्कालाई सम्मान गर्ने, शिष्ट र शालीन व्यवहार र अभिव्यक्ति गर्ने तहमा प्रशिक्षित गर्ने, दीक्षित गर्ने बाटो देखाउने काम पनि पार्टीहरुको हो, नेताहरूको हो ।
तर उल्टो छ फेरि ?
एकले अर्कालाई आरोप लगाउने, एकले अर्कालाई सीमाहीन गाली गर्ने, मर्यादाहीन गाली गर्ने कुराले हरेकले चर्चामा आउन आरोप लगाउने, चर्का कुरा गर्ने, अरूलाई नाङ्गो हिसाबले आरोपित गर्ने खालका प्रवृत्तिहरूले बजार पायो भने देश बन्दैन । यसमा अलिकति मिडियाका साथीहरूलाई पनि दोष दिन्छु ।
संविधान संशोधन नगरी यही कानुन, यही व्यवस्था अनुसार गरिएको निर्वाचनले आउने परिणामले अरू बढी अराजकता अथवा अस्थिरता निम्तिन्छ कि भन्ने आँकलन गर्न थालिएको छ । तपाईं के भन्नुहुन्छ ?
कांग्रेस र एमालेको बिचमा गठबन्धन बन्दाखेरि संविधान संशोधन गर्ने उद्देश्य राखिएको थियो । यो गठबन्धन संविधान संशोधन गर्नका लागि हो भन्ने हिसाबले हामीले घोषणा पनि गरेका थियौँ । त्यसको एउटा आधार बनाएका थियौँ । संविधान कार्यान्वयनमा रहेका समस्या के हुन्, के कारणले समस्याहरू रहे, के कुरालाई संशोधन गरेर जान जरुरी छ भन्ने हामीले बाहिर ल्याउन सक्नुपर्थ्यो । यसमा पनि हाम्रा कमी कमजोरीहरू रहे ।
संविधान संशोधनमार्फत परिवर्तित मनोविज्ञानलाई सम्बोधन गर्ने कुरा आफ्नो ठाउँमा छ । तर संविधान संशोधन गर्ने माध्यम भनेको त संसद् नै हो । बाहिरबाट त हामी संविधानको संशोधन गर्न सक्दैनौँ ।
जेनजी आन्दोलनपछि सबैजसो पार्टीमा नेतृत्व परिवर्तन, पार्टीको पुनर्गठन, नेतृत्व रूपान्तरण, हस्तान्तरणको व्यापक बहस भयो, भइरहेको छ । एमाले भित्र त पटक्कै उठ्नै सकेन । के भयो यस्तो ?
हरेक पार्टीले आफूलाई सामूहिक र अझ प्रभावकारी बनाउन, अझ ऊर्जावान बनाउन पार्टीलाई पुनर्गठित गर्दै लैजानुपर्छ । एमाले पार्टी पंक्तिभित्र जुन प्रकारको मनोविज्ञान र कार्यकर्ताको चाहना छ, यसले त पार्टीलाई नयाँ ढंगले लैजाने, पुनर्गठन गरेर लैजाने, हाम्रा कमजोरीहरूलाई सच्याएर नयाँ उचाइबाट पार्टीलाई ऊर्जाका साथ, अझ पार्टाी पंक्तिलाई एकताबद्ध गरेर लैजाने गरी माग गरिरहेको छ । यसकारण पार्टी यो महाधिवेशनले पुनर्गठन गर्छ ।
भनेको आउँदो महाधिवेशनले एमालेको अहिलेको नेतृत्व परिवर्तन गर्छ । नयाँ नेतृत्व आउँछ । अर्थात् केपी ओली हट्नुहुन्छ । पार्टीको अध्यक्ष अर्को आउँछ । यही हो तपाईंको भनाइ ?
हामीले लामो समयदेखि आन्तरिक प्रतिस्पर्धा गर्दै आएका छौँ । आठौँ र नवौँ महाधिवेशन त प्यानल खडा गरेर हामीले अभ्यास गरेका छौँ । यो प्रकारले पार्टीभित्रको आन्तरिक जनवादको हामीले पर्याप्त अभ्यास गरेका छौँ । हाम्रो पार्टीका आदरणीय अध्यक्षले पार्टीभित्रको लोकतान्त्रीकरणको मुद्दालाई सबैभन्दा बढी उठाउनुभएको हो । आन्तरिक प्रतिस्पर्धाको कुरालाई सबैभन्दा बढी उहाँले उठाउनुभएको हो । त्यही अभ्यासलाई हामीले निरन्तर अगाडि बढाएका छौँ । यो आउँदो ११ औँ महाधिवेशनले त्यो अभ्यासलाई अझ समृद्ध बनाउँछ । पार्टीलाई नयाँ उचाइबाट अगाडि बढाउने गरी हामीले प्रतिस्पर्धा गर्छौं, लोकतान्त्रिक अभ्यास गर्छौं ।
आठौँ र नवौँ महाधिवेशन जे भयो, त्यसको पुनरावृत्ति ११ औँमा हुन्छ । प्यानल बनाएर महाधिवेशनमा गइन्छ, चुनाव हुन्छ । हो ?
यो पार्टी नेताहरूले भन्दा कार्यकर्ताहरूले जोगाएको पार्टी हो । कम्युनिस्ट आन्दोलनको इतिहासमा, खासगरी नेकपा एमालेको इतिहासमा धेरै उतारचढाव आए । नेताहरूका बीचमा प्रतिस्पर्धा भयो, कहिले को संस्थापनमा रहने, कहिले को प्रतिपक्षमा रहने पार्टीभित्र, संस्थापनमा रहँदा अनुशासनका कुरा गर्ने, प्रतिपक्षमा रहँदा जनवाद भएन भन्ने, यो विभिन्न कालखण्डमा विभिन्न पात्रहरूले गरिरहनुभएको छ । आज अनुशासनको चर्को कुरा गर्नेहरूले हिजो अत्यन्त धेरै बोलेका घटना पनि छन् । हिजो पार्टीभित्र जनवाद भएन, लोकतान्त्रिक अभ्यास भएन भनेर वकालत गरेका कुराहरू पनि छन् । आज जनवाद भएन भन्नेहरूले हिजो अनुशासनका कुराहरू गरेका इतिहास पनि छन् ।
मैले प्रतिस्पर्धाको प्रश्न सोधेको ।
पार्टीभित्र स्वस्थ लोकतान्त्रिक अभ्यास जरुरी हुन्छ । फरक–फरक कोणबाट आउने विचार प्रतिविम्बित हुन पाउनुपर्छ । संस्थागत ढंगले जे फैसला हुन्छ त्यसलाई बोकेर सबै जानुपर्छ । तर फरक विचारलाई प्रवेश गर्न दिएन, फरक विचारका नाममा हामीले पार्टीभित्र वरपर, तलमाथिको हिसाबले व्यवहार गर्न थाल्यौँ भने पार्टी एकताबद्ध हुन सक्दैन । अर्कोतिर नयाँ विचार नै प्रवेश गर्न पाएन भने समयको माग अनुसार, परिवर्तनको चाहना अनुसार हामीले विचारलाई अझ सुधार्दै लैजाने, परिष्कृत गर्दै लैजाने मौका पनि गुम्न पुग्छ ।
मेरो प्रश्न महाधिवेशनमा प्रतिस्पर्धाको हो ।
कार्यकर्ताले निर्माण गरेको पार्टी हो । म फेरि पनि जोड दिएर भन्न चाहन्छु, आधारभूत तहमा काम गर्ने कार्यकर्ता साथीहरू, कार्यकर्ता पंक्ति, जो २ दशक, ३ दशक, ४ दशक, ५ दशक, कतिपय त ६ दशकभन्दा लामो अवधिदेखि पार्टीमा योगदान गर्नुभएको छ । खाई–नखाई सारा आफ्नो अमूल्य जिन्दगी पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनको लागि, कम्युनिस्ट आन्दोलनको लागि परिवर्तनको लागि दिइरहनुभएको छ । आज त्यो पार्टी निर्माण गर्ने त्यो जगको चाहना पार्टी नयाँ ढंगले पुनर्गठित होस्, पार्टीमा स्वस्थ ढंगले प्रतिस्पर्धा होस् भन्ने छ ।

तपाईंले महाधिवेशनमा नयाँ विचारलाई स्थान दिनुपर्छ, स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ, अझ बढी लोकतान्त्रिक बन्नुपर्छ भनेर भनिरहँदा पार्टी अध्यक्षले भनिसक्नुभयो कि महाधिवेशनमा ट्याक्क म बोल्छु, महत्त्वपूर्ण निर्देशन दिन्छु, बाँकी बहस कुरा केही हुँदैन, महाधिवेशन सकिन्छ भनेर ।
उहाँले कहाँ, कसरी भन्नुभयो त्यो मैले त्यति खोजिरहेको छैन । मैले बुझ्ने कोसिस गरेको पनि छैन । किनकि महाधिवेशन भन्नासाथ संगठित सदस्यबाट निर्वाचित भएर आउने प्रतिनिधि, जो सार्वभौम छन् । महाधिवेशन स्वयं सार्वभौम हुन्छ । चाहे त्यसले भदौ २३ र २४ पछाडिको परिवर्तित सन्दर्भलाई समेत समेटेर विधान महाधिवेशनले पारित गरेका नीतिहरूलाई अझ परिमार्जन र समृद्ध गर्ने सन्दर्भमा होस्, चाहे नयाँ ढंगले नेतृत्व छानेर पार्टीलाई अझ ऊर्जा र गतिशील बनाउने सन्दर्भमा होस् पार्टीले जे विधि पूरा गर्नुपर्छ, महाधिवेशनले त्यो विधि पूरा गर्छ । हामीले जुन प्रकारले विधि स्थापित गर्दै आएका छौँ, विगत महाधिवेशनदेखि यो महाधिवेशनमा पनि ती विधिहरू पूरा हुन्छन् ।
अब यो पार्टी केपी ओली अध्यक्ष भएर अगाडि बढ्न सक्दैन भन्ने सिधा–सिधा बुझाइ हो तपाईंहरुको ?
अध्यक्ष कमरेडलाई तपाईं दुई पटक अध्यक्ष हुनुभयो, चार पटक प्रधानमन्त्री हुनुभयो, तपाईंले लामो समय कम्युनिस्ट आन्दोलनमा नेतृत्व गर्नुभयो, महत्त्वपूर्ण योगदान पनि गर्नुभएको छ । अब पार्टीलाई नयाँ ढंगले जाने गरी तपाईंले सम्मानजनक निकास दिनुस्, पार्टीलाई नयाँ ढंगले लैजाऔँ, अझ एकताबद्ध गरेर लैजाऔँ, तपाईंको योगदानलाई फेरि पनि आन्दोलनले सम्मान गर्छ, सम्झिरहन्छ । तर पार्टीलाई आउँदा दिनहरूमा नयाँ ढंगले लैजाने गरी तपाईंले निकास दिनुपर्छ भन्ने कुरा हामीले बैठकमा राखेकै हो ।
एघारौं महाधिवेशनमा पनि अध्यक्षदेखि तलैसम्मका पदमा दुई समूहबीच प्रतिस्पर्धा हुन्छ, होइन त ?
अध्यक्षमा ईश्वर पोखरेल कमरेडले घोषणा नै गरिसक्नुभयो । अब बाँकी कुन-कुन पदमा को–को कमरेडहरूले उम्मेदवारी दिनुहुन्छ त्यो त त्यतिबेलै थाहा हुन्छ । तर प्रतिस्पर्धा राम्रो गरी हुन्छ ।
प्रतिस्पर्धाले पार्टी कमजोर हुन्छ, प्रतिस्पर्धाले पार्टी आन्दोलन कमजोर हुन्छ भन्ने प्रचार पनि कतै गरिँदैछ । या त प्रतिस्पर्धाले कमजोर हुन्छ भन्ने कुरा नै सत्य हो भने विगतमा प्रतिस्पर्धा ठीक थियो भन्ने कुरा कसरी स्थापित हुन सक्छ ? विगतमा लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धा ठीक थियो भने अहिले प्रतिस्पर्धाले पार्टी कमजोर हुन्छ भनेर भाष्य किन खडा गरिँदैछ ? लोकतान्त्रिक अभ्यास नभएको भए अहिलेको अध्यक्ष, अध्यक्ष बन्ने मौका पाउनुहुन्थ्यो वा पाउनु हुन्थेन म भन्न सक्दिनँ । लोकतान्त्रिक अभ्यासको कारणले नै पार्टीभित्र एउटा मर्यादित प्रतिस्पर्धाको कारण नै उहाँ अध्यक्ष हुनुभएको छ ।
केपी ओलीभन्दा फरक ईश्वर पोखरेलमा के छ ? ओलीजीले गर्न नसकेको काम ईश्वर पोखरेलले गर्नुहोला भनेर कसरी आश गर्ने मानिसहरूले ?
हाम्रो पार्टीमा सबभन्दा ठुलो आवश्यकता भनेको पार्टीलाई सामूहिक ढंगले चलाउने, कमरेड्ली भावनाका साथ चलाउने र पार्टीमा एक ढंगले हार्दिकताको विकास गर्ने, पार्टीभित्रका अधिवेशनहरूमा कसले कहाँ भोट हाल्यो भन्ने कुराको हिसाबकिताबका आधारमा होइन, कसले कुन प्रकारले योगदान गर्यो, कुन प्रकारले आन्दोलनलाई अगाडि बढाउन इमानका साथ अगाडि बढ्छ भन्ने कुरालाई हेक्का राख्ने चीज नै महत्त्वपूर्ण हो ।
पार्टीलाई विधिबाट चलाउने, संस्थागत ढंगले चलाउने, पार्टीलाई कार्यकर्ताको चाहना, सुझावका आधारमा चलाउने अहिलेको आवश्यकता हो । मैले जे जान्दछु, त्यही कुरा सबै हो भन्ने मान्यता भन्दा हामीले जे जान्दछौँ, हामीले जे गर्दछौँ, मेरो ठाउँमा हामी भन्ने चीज आज हाम्रो पार्टीमा आवश्यक छ ।
मानिसहरूले केपी ओली र विद्या भण्डारीबिचको हो यो खास प्रतिस्पर्धा चाहिँ । देखिन चाहिँ ईश्वर पोखरेल देखिनुभो भनेर भन्छन् नि । हुन पनि त्यही हो नि होइन ?
विद्या भण्डारी पार्टीमा आउने कुरालाई हामीले स्वागत गर्नुपर्थ्यो । रोक्ने कुरा सुखद् होइन, शोभनीय कुरा होइन । त्यसले आन्दोलनलाई बलियो बनाउँदैन । यसमा पार्टीले गल्ती गरेको छ । म फेरि पनि भन्न चाहन्छु अझै बाँकी छ समय । सच्याएर जान म जोड दिन चाहन्छु । यसलाई सुधारेरै जानुपर्छ ।
११ औँ महाधिवेशनपछि गोकर्ण बिष्टलाई नेकपा एमालेको कुन पदमा देख्नेछन् जनता, कार्यकर्ताले ?
मलाई सार्वभौम प्रतिनिधि साथीहरूले जुन ढंगले बाँकी जीवन नेपालको राजनीतिमा, कम्युनिस्ट आन्दोलनमा, नेकपा एमालेको विकासमा योगदान गरोस् भन्ने चाहनुहुन्छ, म त्यसै ढंगले प्रस्तुत हुन्छु । म थुप्रै साथीहरूसँग सल्लाहमा छु । म अहिले यसै भनेर घोषणा गर्न चाहन्नँ । तर म महत्त्वपूर्ण जिम्मेवारीका साथ पार्टी निर्माणमा अगाडि बढ्ने गरी साथीहरूले, आदरणीय कमरेडहरूले, प्रतिनिधि कमरेडहरूले माया गर्नुहुनेछ । त्यो प्रकारले मलाई साथ दिनुहुनेछ भन्ने मेरो अपेक्षा हो ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण