'पार्टीको दृष्टिकोण सार्वजनिक गर्न डेढ दुई महिनामा राष्ट्रिय सम्मेलन हुन्छ'
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले डेढ/दुई महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने बताए ।
- शर्माले आगामी निर्वाचनको अवस्था हेरेर राष्ट्रिय सम्मेलन गर्ने र पार्टीका समिति स्वायत्त हुने बताए ।
- उनले पार्टी नयाँ सोच र विचारका साथ अगाडि बढ्ने र जनताबाट नियन्त्रित पार्टी बनाउने कुरामा जोड दिए ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक जनार्दन शर्माले डेढ दुई महिनाभित्र पार्टीको राष्ट्रिय सम्मेलन गर्ने बताएका छन् ।
प्रलोपाले काठमाडौँमा आइतबार गरेको भेलालाई सम्बोधन गर्दै शर्माले आगामी निर्वाचनको अवस्था हेरेर राष्ट्रिय सम्मेलन गर्ने बताएका हुन् ।
‘हामीले प्रलोपाको राष्ट्रिय सम्मेलन डेढ दुई महिनाभित्र गर्ने छौँ । पार्टीको दृष्टिकोण जनताले प्रस्ट बुझ्ने भाषमा सार्वजनिक गर्नुपर्छ,' उनले भने, 'सकभर निर्वाचन नसरोस यदि सरिहाल्यो भने माघमा गर्छौं । फागुनमै निर्वाचन भयो भने हामी वैशाखमा गर्छौं ।'
शर्माले पार्टीको सबै समिति स्वायत्तता हुने बताए । प्रत्यक निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्य प्रतिनिधित्व गर्ने र त्यसले जनताको मत ल्याएर केन्द्रमा बहस गर्नुपर्ने पद्धति बनाउन लागिएको जानकारी दिए ।
‘हामीले पार्टीका सबै समितिलाई स्वायत्तता दिनेछौँ । अब नेताको वरिपरि घुमेर होइन । जनताको मत ल्याएर यहाँ बहस गर्नुपर्छ । केन्द्रले प्रदेशलाई, प्रदेशले पालिकालाई हस्तक्षप गर्ने होइन,' उनले भने, ‘पालिकाको निर्णय उनीहरूले नै गर्नेछ । केन्द्रले हस्तक्षेप गर्दैन । जनताबाट नियन्त्रित पार्टी बन्छ । समुदायमा आधारित नयाँ पार्टी बन्छ ।’
प्रलोपा नितान्त नयाँ पार्टी भएकाले नयाँ सोच, नयाँ विचारका साथ अगाडि बढ्ने उनले जिकिर गरे । साथै नेपालमा एक शताब्दीमा हरेक एक/डेढ दशकमा आन्दोलन भइरहकाले त्यसको कारण, समस्या र समाधान खोजेर पार्टी आगाडि बढ्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण