आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

काठमाडौँमा ‘सडक एम्बुलेन्स’, यसरी दिन्छ सेवा (तस्बिरहरू)

मङ्गलबार, १६ मङ्सिर २०८२, ०९ : ४४
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • काठमाडौं सडक डिभिजन कार्यालयले सहरी क्षेत्रका सडकलाई खाल्डाखुल्डीरहित बनाउन अभियान थालेको छ।
  • कार्यालयले चक्रपथभित्रका सडक मर्मतपछि चक्रपथबाहिरका सडक मर्मत थालेको छ, र 'सडक पोटहोल मर्मत एम्बुलेन्स' सेवा सुरु गरेको छ।
  • यो अभियान काठमाडौंमा पाइलट प्रोजेक्टको रूपमा सुरु भएको हो, र यसले आपत्कालीन अवस्थामा सडक मर्मत गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ ।  सडक डिभिजन कार्यालय काठमाडौँले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान सुरु गरेको छ । 

डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथबाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ। नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी तत्काल सुधार गर्नका लागि कार्यालयले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सुरु गरेको हो।

मङ्सिर ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले काठमाडौँ सडक डिभिजन कार्यालयमा पोटहोल मर्मत एम्बुलेन्स र पोटहोल मर्मतसम्बन्धी मोबाइल एपको शुभारम्भ गरेका थिए।

Sadak Ambulance (1)

डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र फुयाँलका अनुसार सो एम्बुलेन्समार्फत ४७२ किलोमिटर सडकलाई पूर्ण रूपमा खाल्डाखुल्डी रहित बनाइने लक्ष्य छ। वर्षभरि ३६५ दिन, २४ घण्टा सञ्चालन हुने एम्बुलेन्स सेवा आपत्कालीन अवस्थामासमेत सक्रिय रहने छ।

पोटहोल मर्मतका लागि मुलपानी क्षेत्रमा खटिएका इन्जिनियर फुयाँलले अत्यधिक सवारी चापका कारण अधिकांश मर्मतकार्य रातिको समयमा गरिने बताए।

Sadak Ambulance (3)

उनले भने, “दिनमा पनि तत्काल आवश्यक सडकमा मर्मत हुन्छ, तर मुख्य काम रातमा अघि बढाइन्छ।” स्वचालित रूपमा सञ्चालन हुने पोटहोल मर्मत एम्बुलेन्समा ५० डिग्री तापक्रममा इमल्सन तताउने, स्प्रे गर्ने, खाल्डो काट्ने, हावा तथा पानीले सफा गर्ने लगायतका सबै सुविधा रहेको डिभिजनले जनाएको छ।

Sadak Ambulance (4)

सडक मर्मतलाई अझ प्रभावकारी बनाउन डिभिजन कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु नामक मोबाइल एप पनि सार्वजनिक गरेको छ। एपमार्फत सडक मर्मत आवश्यक स्थानको जानकारी सङ्कलन गरी तत्काल काम अघि बढाइने डिभिजनले बताएको छ।

तर अहिले सर्वसाधारणले एपमार्फत खाल्डाखुल्डीको फोटो पठाएर सूचना दिन नसक्ने उल्लेख गर्दै फुयाँलले भने, “अहिलेलाई २४ घण्टा खटिने हाम्रा कर्मचारीहरूकै टोलीले स्थान पहिचान गरेर मर्मत गर्नेछन्।”

Sadak Ambulance (5)

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने मन्त्रालयको विश्वास छ। सडक एम्बुलेन्सको प्रयोगले भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने बताइएको छ।

काठमाडौँलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा लिएर सुरु गरिएको यो अभियान सफल भएपछि अन्य सडक डिभिजनहरूमा पनि विस्तार गरिने कार्यालयले जनाएको छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Sadak Ambulance (6)Sadak Ambulance (7)Sadak Ambulance (8)Sadak Ambulance (9)Sadak Ambulance (10)Sadak Ambulance (11)Sadak Ambulance (12)Sadak Ambulance (13)Sadak Ambulance (14)Sadak Ambulance (15)Sadak Ambulance (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप