क्षतिग्रस्त रसुवागढी जलविद्युत आंशिक रूपमा सञ्चालनमा
सारांश
- रसुवागढी जलविद्युत आयोजनाको हेडवक्र्समा बाढीले क्षति पुर्याएपछि आंशिक रूपमा सञ्चालन सुरु भएको छ।
- बाढीले क्षति पुर्याएका संरचना मर्मत गरी एउटा युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन थालिएको छ।
- बाँकी दुई युनिट एक महिनाभित्र सञ्चालनमा ल्याइने र हेडवक्र्सको मर्मत वर्षाअघि सक्ने लक्ष्य छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण गरिएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना आंशिक रूपमा सञ्चालनमा आएको छ।
गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विस्फोटनबाट आएको बाढीले आयोजनाको बाँधसहित हेडवक्र्सका संरचनामा ठुलो क्षति पुर्याएको थियो।
क्षतिग्रस्त हेडवक्र्सको मर्मत पछि नदीबाट अस्थायी रूपमा पानी पथान्तरण (डाइभर्सन) गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो। यस युनिटबाट हाल ३७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, बाँकी दुईवटा युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ। यस्तै, हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको छ।
कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको प्रयासले क्षति पुगेका संरचना मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको बताएका छन्। आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न केही सहज हुने उनको भनाई छ।
बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो। हेडवक्र्स नियन्त्रणसहितका भवनमा दुई मिटरभन्दा बढी लेदो जमेको थियो भने ठूल्ठूला ढुङ्गा आएर पानी सुरुङतर्फ पठाउने संरचना भत्किएका थिए। विद्युत् उत्पादनपछि नदीमा पानी पठाउन प्रयोग हुने टेलरेसबाट पानी चुहिएर टर्वाइन रहेको तला पूर्ण रूपमा डुबेको थियो।
बाढीका कारण आयोजनामा कार्यरत २२ जना कर्मचारीहरूलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो भने कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो। बाढीले आयोजनालाई मात्र नभई स्याफ्रुबेंसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पनि पहिरोका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको थियो।
आयोजनाले १६ पुस २०८१ बाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको थियो, तर असारमा आएको बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुने र विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण