मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
विचार

तिमीले अतीतमाथि पेस्तोल ताक्छौँ भने भविष्यले तोपको गोला हान्ने निश्चित छ

मङ्गलबार, २३ मङ्सिर २०८२, ११ : १३
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • लेखकले जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमको समीक्षा गरेका छन्, जसमा नेताहरूको भ्रष्टाचार र अमेरिकी प्रभावको चर्चा छ।
  • लेखकले प्रचण्ड लगायतका नेताहरूको सत्ता मोह र युवा पुस्ताको असन्तुष्टिको विश्लेषण गरेका छन्, साथै कम्युनिस्ट पार्टीको पुनर्गठनको प्रयासबारे चर्चा गरेका छन्।
  • लेखमा जेनजी रेड फोर्सको उदय र पेरिस कम्युनको आदर्शको स्मरण गर्दै, प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाइएको छ र भविष्यको बाटोबारे चिन्तन गरिएको छ।

१० सेप्टेम्बर २०२५ अर्थात् जेनजी आन्दोलनको एक दिनपछि मैले आन्दोलनका बारेमा एउटा टिप्पणी लेखेको थिएँ । त्यसको संक्षिप्त कुराकानी म पाठकहरूलाई भन्न चाहन्छु । टिप्पणीमा मैले लेखेको थिए–

‘नेपालमा सन् २००८मा गणतन्त्रको स्थापना र त्यसलाई निश्चित लक्ष्यसम्म पुर्‍याउने माओवादी आन्दोलनको सफलताले सिङ्गो देशमै वामपन्थी लहर फैलिएको छ । र, यो उभारले अमेरिका आतङ्कित छ । तर छिमेकमै चीन हुनाले अमेरिकाले त्यहाँ सैनिक झार्ने आँट गर्न सकेन । परिस्थिति कस्तो थियो भने उसले नेपाललाई इन्डोनेसिया पनि बनाउन सकेन । त्यसैले उ निकै संयमसाथ उपयुक्त समय ढुकेर बसी रहेको थियो । 

यता, सन् २००८ पछि आजको १७ वर्षसम्म सत्ताको शीर्षमा बसेका राजनेताहरूको दैनन्दिनको कार्य–व्यवहारले, उनीहरूको भ्रष्टाचारले तथा जनताको न्यूनतम मागप्रति उनीहरूको उपेक्षापूर्ण व्यवहारले नेतृत्व र जनताबिच त्यस्तो दूरी पैदा भयो, जसलाई पुर्न असम्भव प्रायः लाग्थ्यो । केपी ओली हुन् वा शेरबहादुर देउवा– दुबैमा को बढी भ्रष्ट छन् तय गर्न अप्ठेरो छ । तर माओवादी आन्दोलनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि त्यसै पङ्क्तिमा दरिनु अत्यन्तै त्रासद छ । निःसन्देह यी दुवैको तुलनामा प्रचण्डलाई कम भ्रष्ट मानिन्छ तर प्रचण्ड त एउटा विचारधारामा बाँधिएका कम्युनिस्ट नेता हुन् । उनको नामसँगै ‘भ्रष्ट’ को विशेषण जोडिनु दुवै नेताको भ्रष्टाचारको तुलनामा कयौँ गुणा अधिक हो । 

राजतन्त्रको अन्त्यले सबै भन्दा धेरै छटपटी अमेरिकालाई नै भयो । २८ फेब्रुअरी २००३, वासिङ्टनको एउटा कार्यक्रममा बोल्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड कैम्पले भने– यदि नेपालमा माओवादीहरूलाई सफलता प्राप्त हुन्छ भने त्यसले ‘अमेरिकी राष्ट्रिय हित’लाई गम्भीर चोट पुर्‍याउने छ । उनले के पनि भनेका थिए भने नेपालको स्थितिमा अमेरिकाले ‘प्रत्येक दिन’ ध्यान दिइरहेको छ । यो त्यति बेलाको कुरा हो, जति बेला माओवादी जनयुद्ध चलिरहेको थियो । दक्षिण एसियामा भारतको सहयोग बिना अमेरिका आफ्नो दबदबा चलाउन सक्दैनथ्यो । र, भारत जहिल्यै राजतन्त्रलाई सहयोग गरिरहन्थ्यो । 

अमेरिकाले नेपाली सेनामा घुसपैठ सुरु गर्‍यो र गणतन्त्र घोषणापछि यो कामले झनै तीव्रता हासिल गर्‍यो । हालसम्म परम्परागत रूपमा के ठानिन्थ्यो भने भारत र नेपाली सेनाबिच भाइचारा सम्बन्ध छ । यो कुरा सत्य पनि हो ।

नेपालको सन्दर्भमा यसको मूल सिद्धान्त नै ‘ट्विन पिलर थ्योरी’ थियो अर्थात् दुई स्तम्भको सिद्धान्त– पहिलो स्तम्भ राजतन्त्र थियो भने दोस्रो स्तम्भ राजनीतिक दल । नेपालको स्थिरताका लागि उ यसलाई जरुरी ठान्थ्यो । यति हुँदाहुँदै पनि प्रचण्डको नेतृत्वमा रहेको जनमुक्ति सेनाले राजा ज्ञानेन्द्र शाहले नेतृत्व गरिरहेको शाही नेपाली सेनालाई निर्णायक पराजयतर्फ धकेलिरहेको थियो । र, राजधानी काठमाडौँलाई चौतर्फी घेर्न सफल रह्यो । अमेरिका चाहेर पनि केही गर्न सकिरहेको थिएन । 

त्यसपछि अमेरिकाले नेपाली सेनामा घुसपैठ सुरु गर्‍यो र गणतन्त्र घोषणापछि यो कामले झनै तीव्रता हासिल गर्‍यो । हालसम्म परम्परागत रूपमा के ठानिन्थ्यो भने भारत र नेपाली सेनाबिच भाइचारा सम्बन्ध छ । यो कुरा सत्य पनि हो । यस विषयमा विस्तारपूर्वक लेख्ने समय छैन तर अमेरिकी घुसपैठबारे आम रूपमा कसैले पनि ध्यान दिइरहेको थिएन । यसतर्फ प्रचण्डलाई ध्यान दिन आग्रह गर्दा उनले यसलाई निकै हल्का रूपमा लिएको महसुस भयो । एउटा अपुष्ट सूचनाका अनुसार नेपाली सेनामा दुई सय भन्दा धेरै सैन्य अधिकारीहरू लाभार्थी छन् र यो लामो समयदेखि चलिरहेको छ ।

आन्दोलनको दोस्रो दिनमै मलाई त्यसको आभास भयो, जब सेना प्रमुखले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गर्न दबाब दिएको समाचार प्रकाशित भए । यस भन्दा अघि नेपालका कुनै पनि सेना प्रमुखले यत्तिको साहस गरेका थिएनन् ।

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलाई बहाना बनाएर जेनजी आन्दोलन सुरु भयो । निश्चित रूपमा त्यो युवाहरूको वास्तविक मागहरूमा टेकेर आह्वान गरिएको थियो र प्रथम दृष्टिमै स्वतःस्फूर्त लाग्थ्यो । तर, वास्तवमा त्यो स्वतःस्फूर्त थिएन । खासमा भन्ने हो भने त्यो व्यवस्थित र संगठित थियो । ती युवाहरूको वास्तविक चासोलाई आफ्नो पक्षमा प्रयोग गर्ने शक्ति पर्दा पछाडिबाट यसलाई सञ्चालन गरिरहेका थिए । र, अमेरिका नेपालमा गणतन्त्र विरोधी, वामपन्थ विरोधी एजेन्डा लागू गराउन र प्रतिक्रान्तिलाई निर्णायक मोडमा पुर्‍याउन कम्मर कसेर मैदानमा ओर्लियो । 

आन्दोलनको दोस्रो दिनमै मलाई त्यसको आभास भयो, जब सेना प्रमुखले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गर्न दबाब दिएको समाचार प्रकाशित भए । यस भन्दा अघि नेपालका कुनै पनि सेना प्रमुखले यत्तिको साहस गरेका थिएनन् । जति ठुलो स्तरमा आन्दोलनकारीहरूले सरकारी सम्पत्ति नष्ट गरे, त्यसले पनि उनीहरूको देश र जनताप्रतिको प्रतिबद्धतातर्फ सङ्केत गरिरहेको थियो । 

आन्दोलनको सञ्चालन कसले गरिरहेका थिए भन्ने जानकारी बिस्तारै–बिस्तारै सतहमा आउँदैछ । मुख्य भूमिकामा छन्– बालेन्द्र शाह (बालेन) । उनी काठमाडौँका मेयर हुन् । अर्का हुन्– सुदन गुरुङ, उनी ‘हामी नेपाल’ नामको एनजीओका सञ्चालक हुन् । टाइम पत्रिकाको सन् २०२३ को ‘टप १००’ व्यक्तिहरूको सूचिमा बालेनको नाम छ । त्यस्तै गुरुङको एनजीओमा अमेरिकी संस्थाहरूले वित्तीय सहयोग गरेको देखिन्छ । 

नेपालले भविष्यमा कुन दिशा तय गर्नेछ भन्नु अझै पनि हतारो नै हुन्छ । तथापि स्पष्ट ढङ्गले के भन्न सकिन्छ भने नेपाल इतिहासकै सबै भन्दा भीषणतम समयबाट गुज्रिरहेको छ । दुई दिनसम्मको पागलपनपछि यो सबै कसरी भयो भनी नेपालका विचारवान् व्यक्तिहरू आत्ममन्थन गरिरहेका छन् । त्यसैले निकै चनाखो र सतर्क हुनुपर्ने आवश्यकता छ ।

यस उपलब्धिमा शर्मसार हुनु पनि निकै गौण कुरा हो तर यिनीहरू त नयाँ मेकअप गरेर फेरि मञ्चमा आउने तयारी गर्दैछन् । उनीहरू अझै पनि नेतृत्व आफ्नै हातमा हुनुपर्छ भन्ने मोहबाट मुक्त भइसकेका छैनन् ।

‘नेपालले भविष्यमा कुन दिशा तय गर्नेछ भन्नु अझै पनि हतारो नै हुन्छ’ भन्ने वाक्यसहित मैले आफ्नो टिप्पणी समाप्त गरेको थिएँ । तर, जेनजी आन्दोलनपछि नेपालको राजनीतिक रङ्गमञ्चमा नयाँ नाटक सुरु भएको छ, जसलाई तपाईं ‘एब्सर्ड थिएटर’ भन्न सक्नु हुन्छ । यस नाटकका सबै अभिनेता उनै हुन्, जसलाई जेनजी आन्दोलनले दपेटेको थियो, जसका घर जलाइएका थिए र जसले आफ्नो ज्यान जोगाउन सैन्य क्याम्पको चार पर्खाल रोज्नु परेको थियो । 

ती सबै अभिनेताहरू आफ्नो रङ–रूप फेरेर, नयाँ मेकअपसहित र नयाँ परिधान धारण गर्नमा लागेका छन्, ताकि जनतालाई फेरि धोका दिन सकियोस् । यी सबै तिनै व्यक्ति हुन्, जो कुनै जमानामा पूजनीय थिए । प्रचण्ड पनि जसका बारेमा सन् २००६ मा के भनिन्थ्यो भने उनले समग्र दक्षिण एसियामै नयाँ प्रकाश छर्ने छन् । एउटा नयाँ बाटो देखाउने छन् । जसले प्रचण्डको पहिलो भारत यात्रा देखेका थिए, उनीहरूलाई थाहा होला सार्वजनिक कार्यक्रममा उनको एकातर्फ प्रधानमन्त्री बीपी सिंह र अर्कोतर्फ पूर्व प्रधानमन्त्री आईके गुजराल थिए । 

त्यसै बैठकमा आईके गुजरालले भनेका थिए– हामीले रुसी क्रान्ति देखेनौँ, चिनियाँ क्रान्ति देखेनौँ, भियतनामको क्रान्ति पनि देखेनौँ तर लेनिन, माओत्सेतुङ र हो ची मिन्हको ठाउँमा साक्षात् प्रचण्डलाई देखिरहेका छौँ । प्रचण्डका लागि शायद यो भन्दा ठुलो सम्मान अरू के नै हुन्थ्यो र ? विगत २० वर्षदेखि कुनै न कुनै रूपमा उनी सत्ताको शीर्षमा छन् । आफूप्रति पनि युवा पुस्ताको रोष देखेर– मैले के बिराएँ भनेर उनले अलिक धीर भएर सोच्नु पर्नेछ । यी नेताहरू सेनाको ब्यारेकमा शरण लिन पुग्थेनन् भने शायद बाँच्न पनि गारो पर्थ्यो होला ।

यस उपलब्धिमा शर्मसार हुनु पनि निकै गौण कुरा हो तर यिनीहरू त नयाँ मेकअप गरेर फेरि मञ्चमा आउने तयारी गर्दैछन् । उनीहरू अझै पनि नेतृत्व आफ्नै हातमा हुनुपर्छ भन्ने मोहबाट मुक्त भइसकेका छैनन् ।

जुलाई २००६मा मैले प्रचण्डको लामो अन्तर्वार्ता गरेको थिएँ । उनी तिनताका अर्धभूमिगत थिए । त्यतिबेला मैले प्रचण्डलाई सोधेको थिएँ– सत्तामा आएसँगै तपाईं पनि भ्रष्ट हुनुहुन्न भन्ने आधार के छ ? त्यसमा उनले जे जवाफ दिएका थिए, ध्यान दिनुपर्ने खालको छ । 

उनले भनेका थिए, ‘हामी सत्तामा गयौँ भने हाम्रो नेतृत्वको सर्वोच्च टिम दैनन्दिनको प्रशासनिक कामबाट पूर्ण रूपमा अलग रहनेछ । हामी अर्थात् शिर्ष नेतृत्वले एउटा नीति नै बनाएर त्यसको सम्पूर्ण जिम्मेवारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछ । भन्नुको अर्थ हामीले दोस्रो पङ्क्तिबाटै राष्ट्रपति वा प्रधानमन्त्री बनाउँछौँ र हामीले आफूलाई जनताको सङ्घर्षमा होमिइराख्छौँ । दोस्रो पङ्क्तिका जुन नेताहरूलाई हामीले सत्ता सञ्चालनको काम सुम्पिन्छौँ, उनीहरूमाथि जनताकै सहयोगमा निगरानी पनि राख्नेछौँ । यदि सत्तामा बसेका व्यक्तिबाट गल्ती–कमजोरी हुन्छ भने हामीले नै जनतालाई उनीहरूका विरुद्ध सडकमा ल्याई पुर्‍याउन सक्छौँ... यो काम चीनमा माओले गर्न सकेनन् । हामीले यसै गर्नुपर्छ र गरेर देखाउने छौँ ।’

आन्दोलनको राप–ताप चिसिन थालेसँगै जनताका बिच आफ्नो विश्वसनीयता गुमाई सकेका यी नेताहरू आफूलाई नयाँ शिराबाट सङ्गठित गर्ने प्रयास गर्दैछन् ।

दुई वर्षपछि अगस्ट २००८मा प्रचण्डले पहिलो पटक प्रधानमन्त्रीको शपथ लिए । र, त्यसपछि आजका दिनसम्म पनि उनले आफैले बोलेको कुरालाई कहिल्यै पालन गरेर देखाएनन् । उनको त्यो सङ्कल्प त्यसै चिसिँदै गयो । 

जेनजी आन्दोलनका क्रममा बिना कुनै अपवाद सबै राजनीतिक दलका प्रमुख नेताहरूको घरमा आन्दोलनकारीहरूले आक्रमण गरेर जबरजस्त क्षति पुर्‍याए । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको घर जलाई दिए, उनकी पत्नी त्यस आगोमा परेर नराम्ररी घाइते भइन् । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीलाई आन्दोलनकारीहरूले लाइभ स्ट्रिमिङ गरेर कुटे । अरूको त कुरै छोडौँ युवाहरूको रोषबाट प्रचण्ड पनि जोगिन सकेनन् । उनको घर जलाइयो । आखिर यी सबै नेताहरूप्रति जनतामा यति धेरै घृणा किन छ ? यसका लागि सेना, अमेरिका वा मुठ्ठीभर राजावादीहरूलाई जिम्मेवार ठहर्‍याएर पुग्दैन । यी घृणाका जराहरू धेरै गहिरा छन् ।

आन्दोलनको राप–ताप चिसिन थालेसँगै जनताका बिच आफ्नो विश्वसनीयता गुमाई सकेका यी नेताहरू आफूलाई नयाँ शिराबाट सङ्गठित गर्ने प्रयास गर्दैछन् । जनता उनीहरूबाट आजित भइसके र उनीहरू नयाँ नेतृत्व चाहिँ रहेका छन् भन्ने उनीहरू अझै बुझ्न चाहिरहेका छैनन् । केही महिना अघि मात्रै प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) को ठुलो बैठक भएको थियो, जसको उद्देश्य पार्टीलाई पुनर्गठित गर्नु थियो । जेनजी आन्दोलनपछि सेप्टेम्बरमा मात्रै उनले पार्टीको केन्द्रीय समितिसहित सबै कमिटी भङ्ग गरिदिएका थिए । उनले जेनजी आन्दोलनसँग पार्टीलाई जोड्नका लागि त्यसै अनुकूलका नीतिहरू अघि सार्ने बताए ।

बैठकमा कयौँ सदस्यहरूले प्रचण्डकै नीतिका कारण पार्टी जनतासँग लगातार टाढिँदै गएको भनी उनको खुलेर आलोचना गरे । त्यस्तो आलोचना गर्नेमा जनमुक्ति सेनाका पूर्व कमाण्डर जनर्दन शर्मा ‘प्रभाकर’ र राम कार्की ‘पार्थ’ पनि थिए । उनीहरूका अनुसार किसान र मजदुरका पक्षमा पार्टीलाई जहिलेसम्म पुनर्गठन गर्न सकिँदैन, पार्टीको न त विकास हुनेछ न जनताको समर्थन हासिल हुनेछ । 

केन्द्रीय समितिका केही सदस्यहरूले पार्टी भित्रको अनियमितताको जाँच हुनुपर्ने माग राखे । उनीहरूको सङ्केत जनमुक्ति सेनालाई केन्टोन्मेन्टमा राखेको समयमा भएको अनियमिततातर्फ थियो । वास्तवमा माओवादी र नेपाल सरकारका बिच सन् २००६ मा विस्तृत शान्ति सम्झौता भएपछि जनमुक्ति सेनाका योद्धाहरूको व्यवस्थापनको कुरा उठ्यो र त्यसको रेखदेखको मध्यस्थता गर्नका लागि संयुक्त राष्ट्र संघको मिसन (अनमिन) लाई बोलाइयो । अनमिनले १९ हजार ६ सय २ योद्धाहरूको सूची तयार पार्‍यो ।

नेपालको राजनीतिक परिदृश्यको माथि मैले, जुन व्याख्या गरेँ त्यो साँच्चै निराशाजनक छ । होइन त ?

केन्द्रीय सदस्य लक्ष्मण पन्तले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न तयार पारेको दस्ताबेजका अनुसार ती योद्धाहरूले प्रत्येक महिना पाउने तलबमानमा ठुलो मात्रामा घोटाला गरियो । के पनि भनिन्छ भने पीएलएका जवानहरूले पाउने तलबमानबाट प्रत्येक महिना दुई हजार रकम ‘जनमुक्ति सेना कोष’ का लागि काटिन्थ्यो । पन्तका अनुसार ६ वर्षमा यो रकम २.८२ बिलियन हुन आउँछ, जसको हिसाब कहिल्यै देखाइएन । यो रकम पार्टीकै काममा खर्च भयो वा पार्टीका नेताहरूको खल्तीमा गयो केही स्पष्ट छैन ।

ध्यान दिनुपर्ने कुरा के हो भने अनमिनले १९ हजार ६ सय २ योद्धा र तीन हजार चार सय ७५ हतियार माओवादीसँग भएको पुष्टि गरेको थियो । पछि प्रचण्ड आफैले शक्तिखोरको एउटा प्रशिक्षण कार्यक्रममा के भनेका थिए भने त्यस्ता योद्धाहरूको सङ्ख्या हामीले बढाएरै भनेका थियौँ । पन्तका अनुसार यसबाट वित्तीय दुरुपयोगको सम्भावना उच्च हुन जान्छ । यी सबै प्रश्नहरूलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीकै तहमा एउटा छानबिन समिति बनाउने बताए । तर, त्यसबारे हालसम्म कुनै जानकारी छैन । 

जनताको विश्वास गुमाउने कमजोरी कहाँबाट भयो ? जुन जनताले १० वर्षको जनयुद्धका क्रममा २५० वर्ष पुरानो राजतन्त्रलाई फाल्न सहयोग गरे उनैले आफ्ना नेताहरूको ज्यान जोगाउन कुनै पनि प्रयास गरेनन्, त्यसको कारण के हो ? प्रचण्ड जस्ता नेताहरूले पनि आफ्नो ज्यान जोगाउन राज्य र राज्यको सेनाको दया पाउनु पर्ने अवस्था कसरी सृजना भयो ? यी त्यस्ता केही सवाल हुन्, जसमाथि माओवादी नेतृत्वले गम्भीरतापूर्वक विचार र आत्मालोचना गर्नु पर्थ्यो तर उनीहरूले यस्तो गर्नुको सट्टा जनताको आँखामा धुलो छ्याप्ने नयाँ–नयाँ शैली विकास गर्नतर्फ लागे ।

५ नोभेम्बरमा उनीहरूले कम्युनिस्ट एकताका नाममा नयाँ संगठन नेपाली कम्युनिस्ट पार्टीको गठन गरेका छन् । यसको संयोजकमा प्रचण्ड र सह–संयोजकमा माधव कुमार नेपाल छन् । आज भन्दा ५० वर्ष पहिले नेपाल बैंकको जागिर छाडेर माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई अँगालेका थिए । उनी विभिन्न आरोह अवरोह हुँदै १६ मई १९९३ का दिन महासचिव मदन भण्डारीको सडक दुर्घटनामा मृत्यु भएपछि नेकपा (एमाले) का महासचिव बनेका थिए । झण्डै डेढ दशकसम्म उनी यसै पदमा कायम रहे । सन् २००८ मा संविधानसभाको निर्वाचनमा एमालेको शर्मनाक पराजयपछि माधव नेपालले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यस निर्वाचनमा उनी काठमाडौँ र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । 

प्रधानमन्त्रीका पदमा रहँदै गर्दा माधव नेपालमाथि भ्रष्टाचारको कुनै पनि गम्भीर आरोप लागेको थिएन । पछि उनले बाबा रामदेवको कम्पनी पतञ्जलिलाई गैरकानुनी ढंगले जमिन उपलब्ध गराएको अभियोग लाग्यो । जून २०२५ मा अख्तियारले उनका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै ३५ लाख जरिमाना तोक्यो । पत्रिकाहरूमा प्रकाशित समाचारहरूका आधारमा उनी प्रधानमन्त्री रहेकै समयमा १ फेब्रुअरी २०१० मा उनको मन्त्रीमण्डलले जमिनको हदबन्दी कानुनको अवहेलना गर्दै पतञ्जलिलाई बनेपामा ८१५ रोपनी जमिन दियो । यसै मन्त्रीमण्डलले दाङमा ७५ बिघा, लमजुङमा ३०० रोपनी, स्याङ्जामा २५० रोपनी, चितवनमा १५ बिघा, धनुषामा २५ बिघा, काठमाडौँमा १५० रोपनी र बारा–पर्सामा गरी ४० बिघा जमिन पाँच वर्ष भित्र खरिद गर्ने अनुमति दियो । जमिन खरिद गरेको तीन दिनपछि पतञ्जलिले उच्च दाममा त्यसलाई बेची दियो । यसले सरकारी राजस्वमा काफी नोक्सानी बेहोर्नु पर्‍यो ।

जे होस, अब उनी प्रचण्डका साथ नयाँ पार्टीमा सक्रिय छन् । उनका अर्का साथी झलनाथ खनाल लगातार यो नयाँ एकताको विरोध गरिरहेका थिए तर उनी पनि सँगै छन् । ‘नेपाल न्युज’मा प्रकाशित समाचार अनुसार १ नोभेम्बरमा आयोजित बैठकमा खनालले माधव नेपालमाथि आरोप लगाउँदै उनले ‘विघटनकारी’ भूमिका निर्वाह गरेको बताएका थिए । उनको अभिव्यक्तिले मञ्चका खेलाडीहरू माझ खलबली मच्चियो । त्यति मात्रै होइन, उनले आफू बोल्ने क्रममा माइक काटिएको भन्दै बैठकै बहिष्कार गरे र माधव नेपाललाई तानाशाही व्यवहार गरेको आरोप लगाए ।

तर त्यसको दुई दिनपछि उनी प्रचण्ड र माधव नेपालपछिको तेस्रो वरीयताको पदमा विराजमान भई नयाँ पार्टीमा सामेल भए । 

यो नयाँ पार्टीमा गोपाल किरात पनि सम्मिलित भएका छन् । सन् २०१७ को निर्वाचन अघि उनी एमाले र बाबुराम भट्टराईको नवगठित नयाँ शक्तिसँग चुनावी तालमेल गरेको आरोप लगाउँदै पार्टीबाट बाहिरिएका थिए । 

अर्का दिग्गज नेता बामदेव गौतमको पनि एउटा पार्टीबाट अर्को पार्टीमा, अर्को पार्टीबाट अर्को पार्टीमा र फेरी अर्को पार्टीमा फड्को मार्ने अनन्त लामो इतिहास छ । सन् २०२० मा कहिले केपी ओली त कहिले माधव नेपाल त कहिले प्रचण्डले उनलाई आ–आफ्नो धुनमा नछाउँदै गरे । उनी पनि त्यस्तै नाच नाच्न हर पल तयार देखिन्थे । अन्ततः यो नयाँ पार्टीमा उनी पनि सामेल भएका छन् । भन्नुको अर्थ के हो भने– उनीहरूको मिलनको कुनै वैचारिक आधार छैन । सबैका आ–आफ्ना निजी स्वार्थ छन् । जसको निजी स्वार्थ छैन, उनीहरू आफ्नो ढल्किँदै गरेको उमेरको विकल्पहीनताले ग्रस्त भई उकुसमुकुस छन् । 

यी प्रवृत्तिहरूसँग एउटा त्यस्तो विचारधारा गाँसिएर आइपुग्छ, जसले निरन्तर पुँजीवादलाई बलियो बनाउने काम गर्छ । इतिहासले पटक–पटक के साबित गरेको छ भने यी प्रवृत्तिहरूको मुकाबिला केवल र केवल कम्युनिस्टहरूले नै गर्न सक्छन् ।

यसमा मिसिन जो आई पुगेका छैनन् उनीहरू हुन्– एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, प्रभाकर, राम कार्की र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ । उनीहरू अहिले पुराना माओवादी कार्यकर्ताहरूबाट दुष्प्रचार झेल्न अभिशप्त छन् । उनीहरूले आ–आफ्नै ठाउँबाट नयाँ अभियान सुरु गरेका छन्, जसको उद्देश्य आम मानिसको क्रान्तिकारी चेतनालाई कायम राख्ने र मार्क्सवाद–लेनिनवादको आस्थालाई बलियो बनाउने हो । घनश्याम भुसालको भनाई के छ भने जबसम्म प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल जस्ता पहिलो पङ्क्तिका नेताहरू अवकाश ग्रहण गरेर विश्राम लिँदैनन्, त्यति बेलासम्म उनीहरूले नेतृत्व कसैलाई पनि हस्तान्तरण गर्ने छैनन् । र, पार्टीले पनि केही गर्न सक्दैन । उनीहरूको समग्र इतिहास नै सत्तामा आएपछि निजी र निहित स्वार्थ पुरा गर्ने बाहेक केही देखिँदैन ।

नेपालको राजनीतिक परिदृश्यको माथि मैले, जुन व्याख्या गरेँ त्यो साँच्चै निराशाजनक छ । होइन त ? नेपालमा पहिलो कम्युनिस्ट सरकार कमरेड मनमोहन अधिकारीको नेतृत्वमा सन् १९९१ मा निर्माण भएको थियो । सन् २००८ सम्म आई पुग्दा माओवादीहरूको नेतृत्वमा पहिलो सरकार बन्यो । तर, त्यसबाट जनताले के हासिल गरे त ? तपाईंहरूलाई के लाग्छ यो सबै कम्युनिस्ट राजनीतिको सहज अन्तर्निहित कमजोरी हो ? त्यसो भए त कुनै बाटो नै बाँकी रहेन । जतिबेला आज भारतसहित सिङ्गो विश्वमा फासिस्ट र तानाशाही प्रवृत्तिहरूले फेरि टाउको उठान थालेका छन्– होइन, उठाई सकेका छन्, त्यस्तो घडीमा यस्ता प्रवृत्तिहरूसँग सामना गर्ने शक्ति कोसँग छ त ? 

यी प्रवृत्तिहरूसँग एउटा त्यस्तो विचारधारा गाँसिएर आइपुग्छ, जसले निरन्तर पुँजीवादलाई बलियो बनाउने काम गर्छ । इतिहासले पटक–पटक के साबित गरेको छ भने यी प्रवृत्तिहरूको मुकाबिला केवल र केवल कम्युनिस्टहरूले नै गर्न सक्छन् । किनभने उनीहरूसँग मात्रै पुँजीवादलाई परास्त गर्न सक्ने विचारधारा छ । त्यसो भए निराशा किन त ? त्यसैले सिङ्गो कम्युनिस्ट आन्दोलनका अघिल्तिर ती कारणहरूलाई चिन्तित गर्ने अनिवार्य अभिभारा छ । उनीहरूले ३२ वर्ष लामो कम्युनिस्ट शासन र ज्योतिबसु जस्ता ईमान्दार नेता हुँदाहुँदै पनि त्यहाँ तानाशाही व्यवस्थाले कसरी आफ्नो बाहुपास फैलाउँदै छ भनेर पनि चिन्तन गर्नु पर्नेछ । कम्युनिस्टहरू कमजोर हुँदा यतिबेला फासिस्टहरूका लागि मैदान खाली भएको छ । त्यसैले आरएसएस र भाजपा आफ्ना गोटीहरूलाई विभिन्न ठाउँमा स्थापित गर्न लागि परेका छन् ।

यी सबै दुःखद प्रकरणहरूका बिच केही त्यस्ता घटना पनि भएका छन्, जसले आशाको किरण प्रवाहित गरिरहेका छन् । २ नोभेम्बर २०२५ का दिन ‘अन्नपूर्ण एक्सप्रेस’मा प्रकाशित प्रतीक घिमिरेको रिपोर्टका अनुसार अक्टोबरको मध्येमा युवा माओवादी कार्यकर्ताहरूले एउटा नयाँ संगठनका रूपमा जेनजी रेड फोर्स गठन गरेका छन् । उनीहरू पार्टीलाई घोषित लक्ष्यमा अघि बढाउनका लागि दबाब सृजना गरिरहेका छन् । यो संगठनको नेतृत्व अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमल्सेनाले गरिरहेकी छन् । कयौँ जिल्लाहरूमा संगठन विस्तार भएको छ । जेनजी रेड फोर्सले भ्रष्टाचारलाई निर्मूल गरि नयाँ नेतृत्वलाई प्रोत्साहन गर्दै पार्टीलाई त्यस्ता नेताहरूबाट जोगाउने छ, जसको वर्षौँदेखि पार्टीमा प्रभुत्व रहेको छ । यसले सबै माओवादी नेताहरूको सम्पत्ति छानबिनको माग गरेको छ । र, प्रचण्ड जस्ता सर्वोच्च नेताले अब लगत्तै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर पनि सुझाव दिएको छ ।

वास्तवमा हामी झण्डै डेढ सय वर्ष अघि घटित महत्त्वपूर्ण परिघटना पेरिस कम्युनलाई बिर्सन्छौँ । कहिले इन्डोनेसियामा त कहिले चिलीमा, कहिले तेलंगानामा त कहिले नेपालमा इतिहासले हामीलाई पटक–पटक पेरिस कम्युनकै स्मरण गराई रहन्छ । हामी भने त्यसतर्फ हेर्न इन्कार गर्दै आफ्नै आँखा छोपिरहेका छौँ । यसको एक मात्र कारण के हो भने पेरिस कम्युनको आदर्शलाई पच्छ्याउन कठोर सङ्घर्ष हुँदै अघि बढ्नुपर्छ । नेपालमा प्रचण्डलाई हामी हिँड्ने सही बाटो के हो भन्ने प्रस्ट थाहा छ । किनभने उनले त्यही बाटो पच्छ्याएर राजतन्त्रको अन्त्य गरेका हुन् । तर, आज उनले तिनै आदर्शको तिलाञ्जली दिइरहेका छन् । आफ्नै इतिहाससँग छल गरिरहेका छन् उनी । 

यहाँ मलाई एक पटक फेरि रसूल हमजातोवको त्यही उद्धरण स्मरण भइरहेछ, जहाँ उनी भन्छन्– ‘यदि तिमीले अतीतमाथि पेस्तोल ताक्छौँ भने भविष्यले तिमीमाथि तोपको गोला हान्ने निश्चित छ ।’ प्रचण्डले शायद यो उक्ति बिर्सी सेकका छन् । 

पेरिस कम्युनको शिक्षा के थियो ? त्यसमाथि तपाईंहरूले विचार गर्नुस् । अर्को कुनै लेखमा मैले यसैमाथि प्रकाश पार्ने प्रयास गर्नेछु ।

(वर्मा भारतका वरिष्ठ पत्रकार हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आनन्दस्वरूप वर्मा
आनन्दस्वरूप वर्मा

आनन्दस्वरुप वर्मा वरिष्ठ पत्रकार हुन् ।
 

लेखकबाट थप