बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेसका वडामै अड्कियो कांग्रेस क्रियाशील सदस्यता विवाद

तर नेताकार्यकर्ताहरू स्विकार्न छैनन् तयार
बिहीबार, २५ मङ्सिर २०८२, २० : ३७
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विवाद चर्किएको छ, विशेष गरी मधेस प्रदेशमा समस्या देखिएको छ।
  • मधेस प्रदेशका जिल्लाहरूमा क्रियाशील सदस्यता विवाद नभएको दाबी गरिए पनि, वडा तहमा प्रक्रिया अड्किएको छ।
  • जिल्ला सभापतिहरूले विवाद नभएको बताएका छन्, तर सदस्यताका लागि सिफारिस गर्ने प्रक्रिया अझै पूरा भएको छैन।

जनकपुरधाम । नेपाली कांग्रेसको जब महाधिवेशन आउँछ, क्रियाशील सदस्यता विवाद बल्झिहाल्छ । अहिले पनि आगामी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै विवाद चर्किसक्यो, जसको व्यवस्थापन गर्न जिल्ला कमिटीदेखि केन्द्र नै लागिपर्नुपर्ने अवस्था छ ।

क्रियाशील सदस्यासम्बन्धी सबैभन्दा बढी विवाद मधेस प्रदेशमै हुने गर्छन् । मधेसमा पनि सप्तरीमा सबैभन्दा बढी किचलो देखिएको छ । सर्लाही, रौतहट तथा बारामा पनि उस्तै छ ।

तर बाहिर विवाद भए पनि नेता–कार्यकर्ताहरू यसलाई अस्वीकार गर्छन् । उनीहरूका अनुसार मधेसका कुनै पनि जिल्लामा क्रियाशील सदस्यता विवाद छैन र समयमै सदस्यतासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेर केन्द्रमा पठाउने तयारी गरिएको छ ।

तर कांग्रेस मधेस प्रदेश कार्यालय सचिव सन्तुप्रसादले भने अहिलेसम्म सदस्यतासम्बन्धी फाइल कुनै पनि जिल्लाबाट प्रदेश कमिटीमा नआइपुगेको बताएका छन् । यद्यपि विवाद भने कतै नभएको उनी पनि बताउँछन् । ‘सदस्यतासम्बन्धी विवाद कुनै पनि जिल्लामा छैन, जिल्लाहरूमा अहिले क्षेत्रमै क्रियाशील सदस्यता मिलाउने कार्य चलिरहेको छ, त्यसैले केही दिनभित्रै प्रदेश कमिटीमा आइपुग्नेछ,’ उनले भने ।

कांग्रेसमा प्रत्येक वडाबाट ५१ जना सदस्यको नाम पठाउनुपर्ने छ । नयाँ सदस्यतामा थोरबहुत विवाद देखिए पनि त्यो ठुलो समस्या नभएको उनको बुझाइ छ ।

जिल्ला सभापतिहरू पनि क्रियाशील सदस्यता विवाद नभएको बताउँछन् । तर, प्रदेशका अधिकांश जिल्लामा क्रियाशील सदस्यताको विषय वडामै अड्किएको छ ।

कांग्रेस महोत्तरी सभापति नागेश्वर यादव आफ्नो जिल्लाको कुनै पनि स्थानमा क्रियाशील सदस्यता विषयमा विवाद नरहेको दाबी गर्छन् । वडाहरूमा यससम्बन्धी फाइल तथा नामहरू मिलाउने कार्य भइरहेको र केही दिनभित्रै क्षेत्र हुँदै जिल्लामा आइपुग्ने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै कांग्रेस रौतहट सभापति सुनिल कुमार यादवले पनि क्षेत्रहरूबाट नाम प्राप्त भइसकेको र अहिले इन्ट्री गर्ने कार्य भइरहेको जानकारी दिए । नाम इन्ट्री हुनासाथ सीधै केन्द्रमा क्रियाशील सदस्यतासम्बन्धी फाइल पठाउने उनले बताए ।

सर्लाहीमा पनि क्रियाशील विवाद देखिएको छ । तर बाहिर हल्ला गरिएजस्तो कुनै प्रकारको विवाद नरहेको त्यहाँका नेता कार्यकर्ताहरू बताउँछन् । सर्लाहीमा क्रियाशील सदस्यताको प्रक्रिया वडामै अडकिएको छ ।

कांग्रेस धनुषा सभापति योगेन्द्र पजियारले आफ्नो जिल्लामा कतै पनि कुनै प्रकारको विवाद नरहेको र नाम टुंग्याउने काम भइरहेको बताए ।

कांग्रेसमा हाल राष्ट्रियसभाका साथै प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामसमेत सिफारिस गर्नुपर्ने भएकाले प्रदेशका अधिकांश जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी प्रक्रिया वडामै अड्किएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप