शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कुलमानमाथि प्रचण्डको आक्रोश : जुन थालमा खायो, त्यसैमा प्वाल पार्ने ?

शनिबार, २७ मङ्सिर २०८२, १७ : २२
शनिबार, २७ मङ्सिर २०८२

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश पोखेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले कुलमानलाई ‘बैगुनी’ को संज्ञा दिएका हुन् ।

आफ्नो प्रधानमन्त्रीत्वकालमा भएका कामहरूको चर्चा गर्दै प्रचण्डले लोडसेडिङ अन्त्यको जस कुलमानले मात्र लिन खोजेको र आफूलाई नियुक्त गर्ने नेतृत्वलाई बिर्सेको आरोप लगाए ।

सम्बोधनका क्रममा प्रचण्डले भने– ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा हामीले लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङ मुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त हामीले पूरा गरेकै हो । यसलाई नराम्रो त कसैले भन्न सक्दैन ।’

उनले कुलमानप्रति आक्रामक हुँदै थपे– ‘भलै अहिले कुलमान घिसिङले कुन विष खाएर, जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजेका छन्, तिनले त्यसो नगरुन्, बुद्धि फिरोस् भन्न चाहन्छु ।’

प्रचण्डले कुलमानलाई प्राधिकरणमा आफूले नै ल्याएको दाबी गरे ।  ‘मलाई जनताले बनाएको भन्ने कुरा, दुई–दुई पटक प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएर यो मान्छे राम्रो छ भनेर गरेको कुरा र उसले पहिला–पहिला प्रचण्डले हो मलाई बनाएको भनेको कुरा बिर्सेर अहिले लाज मर्नु...म योभन्दा बढी भन्दिनँ बिचरा,’ प्रचण्डले भने ।

कुलमानले आफ्नो क्षमताले मात्र लोडसेडिङ हटाएको भन्ने अभिव्यक्ति दिएकोप्रति सङ्केत गर्दै प्रचण्डले कुलमानको बुद्धि फिर्नुपर्ने बताए ।  उनले चेतावनी दिँदै भने– ‘यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले त्यसो गर्‍यो भने तिनलाई धेरै माफ दिन्छ जस्तो पनि मलाई लाग्दैन ।’

सभामा बोल्दै प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कोरिडोर, विभिन्न विश्वविद्यालयको स्थापना र गरिब किसानहरूको ऋण मिनाहा गर्ने जस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको पनि स्मरण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप