बोल्दा बोल्दै लाइन गएपछि हर्क साम्पाङले भने – हा हा हा... कुलमान !
सारांश
- धरानका मेयर हर्क साम्पाङले चुनावी अभियानमा विद्युत् प्राधिकरणले लाइन काट्ने गरेको गुनासो गरेका छन्।
- साम्पाङले उर्जामन्त्री कुलमान घिसिङलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा समेत आरोप लगाएका छन्।
- विद्युत् प्राधिकरणले भने साम्पाङको आरोपलाई निराधार भन्दै खण्डन गरेको छ र प्राविधिक समस्या भएको जनाएको छ।
विराटनगर । आगामी निर्वाचनमा एक नम्बर पार्टी बनाउने भन्दै श्रम संस्कृति पार्टी दर्ता गरेर देशव्यापी चुनावी अभियानमा हिँडेका धरानका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यक्रममा विद्युत् प्राधिकरणले लाइन काटिदिने गरेको गुनासो गरिरहेका छन् ।
संयोजक नै, जब उनले सार्वजनिक मञ्चमा भाषण सुरु गर्छन् बिचमा एक–दुई पटक लाइन गइहाल्छ ।
अनि साम्पाङ आफ्नो भाषणभन्दा पनि ‘विद्युत् कटौती’ को विषयमा उर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङलाई व्यंग्य गर्न थाल्छन् । खोटाङको दिक्तेलमा शनिबार आयोजित आमसभामा साम्पाङ विदेशी ऋण र परनिर्भरताको विरोध गर्दै थिए । उनी भन्दै थिए, ‘विदेशी ऋणले होइन, आफ्नै देशभित्रको दमले, आफ्नै देशको स्रोत साधन परिचालन गरेर, अरुले दिएको त्यो जुठो हङ्डी चुसेर होइन, आफैँ गरेर...।’
यति भन्दाभन्दै ‘घ्यार्र’ आवाज आउँछ र माइक बन्द हुन्छ । साउन्ड सिस्टम ठप्प भयो । एकछिन अकमकिएका साम्पाङले जब माइक अफ भएको थाहा पाए, उनले हाँस्दै भने, ‘के भो ? डिस्चार्ज भयो कि क्या हो ? ।’
केही बेरमा उनले थाहा पाए– लाइन काटिएको रहेछ । त्यसपछि उनले आफ्नो ट्रेडमार्क शैलीमा हाँस्दै भने, ‘धन्यवाद छ ! साउन्ड सिस्टमले आज धोका दिइराखेको छ... लाइन त अब छैन नै होला... हुँदैन पनि... त्यस्तै हो हाम्रो... हा हा हा... कुलमान ! हाँसौं है एकछिन... ।’
उनको यो ‘हा हा हा...’ सहितको व्यंग्य अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले आफ्नो भाषण अवरुद्ध हुनुलाई संयोग मात्र मानेनन्, यसलाई आफूविरुद्धको षड्यन्त्रका रूपमा अर्थ्याउने गरेका छन् ।
खोटाङको घटना मात्र होइन, साम्पाङले भोजपुर, ताप्लेजुङ, संखुवासभा, हेटौंडा र चितवनसम्म पुग्दा आफूलाई पछ्याउँदै लाइन काटिएको आरोप लगाएका छन् ।
उनले फेसबुकमा पनि मन्त्री घिसिङलाई सिधै निशाना बनाएका छन् । लेखेका छन्, ‘कुलमान घिसिङजी, भोजपुर गएँ लाइन काटिदिनु भो, ताप्लेजुङ गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौंडा जाँदै छु त्यहाँ नि काटिदिनु है ! एमसीसीलाई खुसी बनाउनु, प्रभुशक्तिलाई खुसी पार्नु ल !’
हेटौंडाको हुप्रा चौर र चितवनको कार्यक्रममा पनि लाइन नभएको भन्दै उनले यसलाई ‘खुट्टा तान्ने र बाटो छेक्ने राजनीति’ को संज्ञा दिए । उनले व्यंग्यात्मक रूपमा ‘ऊर्जा मन्त्रीज्यूलाई धन्यवाद’ भन्दै सरकारले आफूलाई असफल बनाउन खोजेको सन्देश दिएका छन् ।
मेयर साम्पाङले नियोजित रूपमा लाइन काटिएको गम्भीर आरोप लगाएपछि नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशक इन्जिनियर मुनिन्द्र ठाकुरले यसमा सत्यता नभएको बताएका छन् । उनले साम्पाङको आरोपलाई निराधार र झुटो भएको दाबी गरे । निर्देशक ठाकुरले प्राधिकरणले व्यक्तिको अनुहार हेरेर वा राजनीतिक आस्थाका आधारमा लाइन काट्ने कल्पनासमेत गर्न नसक्ने बताए ।
‘उहाँ (हर्क साम्पाङ) ले भनेजस्तो कुलमान सरले फोन गरेर फलानो ठाउँको लाइन काट भन्नुहुन्छ भन्ने कुरा यो जमानामा असम्भव छ,’ ठाकुरले भने, ‘लाइन काट्नका लागि सिस्टममा कारण देखाउनुपर्छ । लगबुकमा इन्ट्री गर्नुपर्छ । बिनाकारण कर्मचारीले लाइन काट्नै सक्दैनन् ।’
ठाकुरले साम्पाङको कार्यक्रम भएको समयमा लाइन जानुलाई ‘संयोग’ र ‘प्राविधिक बाध्यता’ का रूपमा प्रस्ट्याएका छन् । उनका अनुसार लाइन जानुमा दुई वटा कारण हुन सक्छन् । जसमा रूखका हाँगा काट्ने, पोल सार्ने वा ट्रान्सफर्मर मर्मत गर्ने नियमित काममा पनि लाइन काटिने गरिन्छ, जुन काम पूर्व निर्धारित हुन्छ र कर्मचारीले आफ्नो सेड्युल अनुसार गर्छन् ।
यस्तै माग र आपूर्तिमा सन्तुलन नमिल्दा वा ओभरलोड हुँदा सिस्टम आफैँ ट्रिप हुनसक्छ । ‘यदि उहाँको टिमले कार्यक्रमबारे सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराएको भए, हामीले नियमित मर्मतको काम रोकेर भए पनि बिजुली दिन्थ्यौं,’ ठाकुरले भने, ‘तर कर्मचारीलाई कार्यक्रम छ भन्ने नै थाहा हुँदैन, उनीहरू आफ्नो काम गरिरहेका हुन्छन् । यस्तो अवस्थामा लाइन काटिँदा उहाँले आफूलाई लक्षित गरेको ठान्नुभयो, जुन सत्य होइन ।’
ठाकुरले कसैले कसैलाई अहिलेको जमानामा लाइन काट्नै नसक्ने दाबी गरे । ‘अहिलेको समयमा कसैले कसैलाई फोन गरेर लाइन काट् भन्यो भने त्यो अडियो/भिडियो बाहिर आइहाल्छ । कुलमान सरजस्तो जिम्मेवार व्यक्तिले यस्तो आदेश दिनुहुन्छ भनेर सोच्नु नै गलत हो,’ उनले भने ।
प्राधिकरणले विद्युत् आपूर्तिमा कहिलेकाहीँ आउने प्राविधिक समस्यालाई राजनीतिक रंग नदिन र भ्रम नफैलाउन आग्रह गरेको छ । यता साम्पाङ भने आफ्नो यात्रामा निरन्तर अवरोध सिर्जना गरिएको भन्दै सरकारप्रति आक्रामक बनिरहेका छन् ।
श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घलेले लाइन काटिएको कुरा सत्य भएको दाबी गरे । यद्यपि आफ्नो पार्टीले यस विषयमा प्राधिकरणलाई जानकारी वा ध्यानाकर्षण नगराएको बताए । ‘हामीले प्राधीकरणलाई भनेका छैनौं । लाइन धेरैजसो कार्यक्रममा काटिएको छ,’ उनले भने, ‘तर हामीले जेनेरेटर स्ट्यान्डबाइ राख्ने गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पुँजीगत खर्च दयनीय, रास्वपा महाधिवेशनमा देखिएला चुनावी ‘साइड इफेक्ट’ ?
-
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण