क्रियाशील सदस्यताको फारममा ‘सिरियल नम्बर’ नभएको विवादमा भोलि निर्णय हुने
सारांश
- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारममा सिरियल नम्बर नभएको विषयमा मंगलबार निर्णय गर्ने भएको छ।
- महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको समितिले सिरियल नम्बर विवाद टुङ्ग्याउन बैठक बोलाएको छ।
- पार्टीभित्रका नेताहरू सिरियल नम्बर नभएका फारम फिर्ता मागेर पठाउनुपर्ने पक्षमा छन्।
काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि पठाएको फारममा ‘सिरियल नम्बर’ नभएको विषयमा देखिएको विवादबारे मंगलबार निर्णय गर्ने भएको छ ।
महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको र त्यही बैठकले ‘सिरियल नम्बर’ सम्बन्धमा देखिएको विवाद टुङ्ग्याउने सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
‘महामन्त्रीज्यूले आज शीर्ष नेताहरूसँग छलफल गर्नुहुन्छ । भोलि एक बजे बैठक बोलाइएको छ, त्यही बैठकबाट के गर्ने भन्ने टुङ्गो लाग्छ,’ चौधरीले रातोपाटीसँग भने, ‘यसबारे आजको बैठकले केही टुङ्गो लगाएको छैन ।’
कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि भन्दै ६ लाख फारम जिल्ला जिल्लामा पठाएको थियो । पठाएकामध्ये ४ लाख फारममा सिरियल नम्बर राखिएको थिएन ।
महामन्त्री थापा नेतृत्वको केन्द्रीय सदस्यहरू सिता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य रहेको समितिमा पार्टीभित्रको संस्थापन सिरियल नम्बर नभएका फारम फिर्ता मागेर सिरियल नम्बर राखेर पठाउनु पर्ने पक्षमा छ । संयोजक थापा र सदस्य स्नेही भने जहाँ पठाइएको छ, त्यही समितिलाई सिरियल नम्बर राखेर वितरण गर्न निर्देशन दिनुपर्ने बताइरहेका छन् । समितिमा चौधरी र गुरुङ पार्टीभित्रको संस्थापन पक्षका नेताहरू हुन् ।
संस्थापन पक्षीय नेताहरूले केन्द्रबाट जति फाराम पठाइएको हो, सम्बन्धित समितिमा त्यति नै फारम आए पनि पार्टीभित्र स्पष्ट रूपमा तल्लो तहदेखि माथिल्लो तहसम्म गुट रहेकाले वडा, पालिका हुँदै क्षेत्रसम्म आइपुग्दा फेरबदल हुन सक्ने आशङ्का गरेका छन् ।
तर, समितिको संयोजक रहेका महामन्त्री थापाले भने जुन समितिमा फारम पुगेको छ त्यही समितिलाई सिरियल नम्बर राख्ने जिम्मा दिनुपर्ने बताइरहेका छन् । थापाको भनाइलाई सदस्य स्नेहीले साथ दिइरहेका छन् ।
सदस्य चौधरीले वैकल्पिक रूपमा जहाँ सिरियल नम्बर नभएको फारम पठाइएको छ, त्यहाँका समितिले सिरियल नम्बरसहितको चाहियो भनेमा पुरानो फिर्ता मागेर नयाँ सिरियल नम्बर सहितको दिने, यही भए पनि हुन्छ भन्नेलाई केन्द्रबाट सिरियल नम्बर ‘जेनेरेट’ गरेर पठाउने विषयमा कुराकानी भइरहेको गुरुङले बताए । तर, त्यसबारे सहमति बनिसकेको छैन । महामन्त्री थापाले विवाद मिलाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् ।
कार्यवाहक सभापति खड्का, पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला, सहमहामन्त्री महेन्द्र यादव तथा पूर्व पदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महतलगायत सिरियल नम्बर नभएका फारम फिर्ता मागेर सिरियल नम्बर राखेर पठाउनु पर्ने पक्षमा देखिएको नेताहरू बताउँछन् ।
कांग्रेस विधानमा प्रतिनिधिसभा क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता वितरणको अधिकार दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण