सिरियल नम्बर नभएका क्रियाशील सदस्यताको फारम पठाएपछि कांग्रेसमा लफडा
सारांश
- नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा सिरियल नम्बर नभएका फारम पठाउँदा विवाद भएको छ।
- महामन्त्री गगन थापा नेतृत्वको समितिमा सिरियल नम्बर नभएका फारमबारे छलफल हुँदा सहमति जुट्न सकेन।
- पार्टीभित्रको संस्थापन पक्ष सिरियल नम्बर राखेर पठाउनुपर्ने पक्षमा छ भने थापा पक्ष तल्लो समितिलाई नै जिम्मा दिनुपर्ने बताउँछन्।
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि सिरियल नम्बर नभएका क्रियाशील सदस्यताको फारम जिल्ला–जिल्लामा पठाएपछि विवाद भएको छ ।
१५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेर फास्ट ट्रयाकमा क्रियाशील सदस्यता वितरण गरिरहेको कांग्रेसमा सिरियल नम्बर नभएमा फारम पठाइएपछि महामन्त्री गगन थापा नेतृत्वको समितिमा विवाद भएको हो । विवादकै कारण आइतबार दुई बजे बोलाइएको समिति बैठक करिब ५ बजेमात्रै सुरु भएर रातिसम्म चलेको थियो, तर सिरियल नम्बर नराखी पठाइएका फारम के गर्ने भन्नेमा निर्णय लिन सकेन ।
समितिकी सदस्यसमेत रहेकी पार्टी केन्द्रीय सदस्य सीता गुरुङले सिरियल नम्बर नभएका नयाँ क्रियाशील सदस्यताका फारम के गर्ने भन्ने विषयमा कुरा मिल्न नसकेको जानकारी दिइन् । ‘हामीले अहिलेसम्म जिल्ला–जिल्लामा ६ लाख नयाँ क्रियाशील सदस्यताका फारम पठाएका छौँ । तीमध्ये २ लाखमा सिरियल नम्बर राखेर पठाइएको छ । ४ लाखमा सिरियल नम्बर नराखी पठाइएको छ,’ गुरुङले रातोपाटीसँग भनिन्, ‘सिरियल नम्बर नभएका फारम के गर्ने भन्नेमा समितिका सदस्यहरू र शीर्ष नेताहरूबिच नै फरक–फरक धारणा आएपछि सहमति बन्न सकेको छैन ।’
महामन्त्री थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरू गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य रहेको समितिमा पार्टीभित्रको संस्थापन पक्ष सिरियल नम्बर नभएका फारम फिर्ता मागेर सिरियल नम्बर राखेर पठाउनु पर्ने बताइरहेको छ । संयोजक थापा र सदस्य स्नेही भने जहाँ पठाइएको छ, त्यही समितिलाई सिरियल नम्बर राखेर वितरण गर्न निर्देशन दिनुपर्ने बताइरहेका छन् । समितिमा चौधरी र गुरुङ पार्टीभित्रको संस्थापन पक्षका हुन् ।
संस्थापन पक्षीय नेताहरूले केन्द्रबाट जति फारम पठाइएको हो, सम्बन्धित समितिमा त्यति नै फारम आए पनि पार्टीभित्र स्पष्ट रूपमा तल्लो तहदेखि माथिल्लो तहसम्म गुट रहेकाले वडा, पालिका हुँदै क्षेत्रसम्म आइपुग्दा फेरबदल हुन सक्ने आशङ्का गरेका छन् ।
‘सिरियल नम्बर नभएपछि केन्द्रबाट जति सङ्ख्यामा पठाइएको हो, भरेर फिर्ता आउँदा त्यति नै आउँछ, तर गुट–उपगुटका कारण तल्लो तह र त्योभन्दा माथिल्लो तहको फरक गुटका रहेकाले फेरबदल हुने सम्भावना प्रबल हुन्छ,’ सदस्य गुरुङले भनिन्, ‘त्यसैले केन्द्रले अहिले सिरियल नम्बर नराखी पठाइएका फारम फिर्ता मागौँ र सिरियल नम्बर राखेर यति सिरियल नम्बरदेखि यति सिरियल नम्बरसम्म भन्ने तोकेर पठाऊँ भन्ने हाम्रो माग छ । त्यो संयोजकसहितले मान्नुभएको छैन ।’
तर, समितिको संयोजक रहेका महामन्त्री थापाले भने जुन समितिमा फारम पुगेको छ, त्यही समितिलाई सिरियल नम्बर राख्ने जिम्मा दिनुपर्ने बताइरहेका छन् । थापाको भनाइलाई सदस्य स्नेहीले साथ दिइरहेका छन् ।
थापा पक्षीय सदस्य स्नेहीले सिरियल नम्बर नभएका फारमबारे ठुलो समस्या नरहेको भन्दै सामान्यीकरण गर्न खोजे । उनले सोमबार शीर्ष नेताहरूसँग संयोजक थापाले छलफल गरेर यो विषय टुङ्ग्याउने जानकारी दिए । ‘हो, पहिला पठाउँदा सिरियल नम्बर भएका र नभएका पठाइएको छ । त्यो मिलाउने प्रयास हुँदैछ,’ स्नेहीले रातोपाटीसँग भने, ‘संयोजकज्यूले आज शीर्ष नेताहरूसँग छलफल गरेर मिलाउनुहुन्छ ।’
यसबारे समितिका सदस्यहरूबिच कुरा मिल्ने सम्भावना नदेखिएपछि शीर्ष नेताहरूसँग पनि छलफल गरेर अगाडि बढ्ने तयारी समितिको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला, सहमहामन्त्री महेन्द्र यादव तथा पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महतलगायत भने सिरियल नम्बर नभएका फारम फिर्ता मागेर सिरियल नम्बर राखेर सङ्ख्या र सिरियल नम्बर तोकेर पठाउनुपर्ने पक्षमा छन् । समिति संयोजक थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने सिरियल नम्बर राख्ने जिम्मा तल्लो समितिलाई नै दिँदा फरक नपर्ने बताइरहेका छन् ।
कांग्रेस विधानमा प्रतिनिधि सभा क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता वितरणको अधिकार दिइएको छ । क्षेत्रीय समिति सभापतिले तल्लो तहमा फरक गुटका रहेका भए उनीहरूले भरेर पठाएका फारम च्यातेर खाली फारम फोटोकपी गरी उत्ति नै सङ्ख्यामा आफ्नो मान्छेका भरेर पठाउने सम्भावना रहने आशङ्का गरेका छन् । सिरियल नम्बर नहुँदा सङ्ख्या एउटै हुने तर, बिचमा बदमासी हुन सक्ने नेताहरू बताउँछन् ।
पार्टी केन्द्रीय कार्यसमितिको मङ्सिर १५ गतेको बैठकले केन्द्रबाट क्रियाशील सदस्यताको फारम वितरणको समय मङ्सिर २० गतेसम्म र प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि मङ्सिर २४ गतेसम्म हुने निर्णय गरेको थियो । मङ्सिर २९ गतेसम्म पनि सबै स्थानमा नयाँ क्रियाशील सदस्यताको फारम पुगेको छैन । अझ पठाएकामा पनि सिरियल नम्बर भएका र नभएका के गर्ने भन्नेमा नेताहरू विवादित भएपछि महाधिवेशनको कार्यतालिका प्रभावित बनेको छ ।
नयाँ सदस्यता वितरणमा मात्रै होइन, पुराना क्रियाशील सदस्यता नवीकरणमा पनि केन्द्रीय समिति बैठकले पारित गरेको समय घर्किसकेको छ । केन्द्रीय समितिले २५ गतेसम्म समय दिएकोमा समितिका संयोजक थापाले सर्कुलर जारी गरी मङ्सिर २९ गते (आज)सम्मको समय दिएका छन् । त्यो काम पनि परिवर्तित समयमा नसकिने निश्चितजस्तै छ । यसको म्याद पनि थप्ने तयारी रहेको समितिका सदस्यहरू बताउँछन् ।
कांग्रेसले सोमबार बिहान ९ बजे पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा शोकप्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । त्यही बैठकपछि पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरूसँग सिरियल नम्बर विवादबारे कुरा गर्ने समिति संयोजक थापा र सदस्यहरूको भनाइ छ । समिति सदस्य रसाइलीले पार्टी केन्द्रीय कार्यालयमा नयाँ क्रियाशील सदस्यताको फारममा सिरियल नम्बरबारे शीर्ष नेताहरूसँग छलफल गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण