बुटवल–नारायणगढ सडक खण्ड : के के छन् गर्न बाँकी काम ?
सारांश
- बुटवल-नारायणगढ सडक खण्डको निर्माण कार्य ७७ प्रतिशत सम्पन्न भएको छ, जसमा म्याद थपिएको छ।
- सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ, जसमा पूर्वी खण्डमा ६६% र पश्चिमी खण्डमा ७७% भौतिक प्रगति छ।
- दाउन्नेबाहेक अन्य स्थानमा राजमार्ग सहज बन्दै गएको छ, जसले यात्रु र स्थानीयलाई राहत दिएको छ।
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड निर्माणको काम दुवैतर्फ गरी करिब ७७ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो पटक म्याद थपिएपछि धमाधम काम भइरहेको बुटवल–नारायणगढ खण्ड परियोजनाको दाबी छ ।
सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेक अन्य स्थानमा विगतका तुलनामा राजमार्ग सहज बन्दै गएको छ । २०७५ सालदेखि विस्तारको काम सुरु गरिएको यो सडकलाई दुई खण्डमा बाँडेर काम भइरहेको छ ।
पूर्वी खण्ड करिब ६५ किलोमिटर र पश्चिमी खण्ड ४८ किलोमिटर लामो छ । दुवैतर्फका कार्यालयका सूचना अधिकारीहरूले बताएअनुसार प्रतिशतका हिसाबले काम करिब–करिब उस्तै छ ।
पूर्वी खण्डको भौतिक प्रगति ६६ प्रतिशत छ भने पश्चिमी खण्डको ७७ प्रतिशत । यस्तै वित्तीय प्रगति पूर्वी खण्डमा हालसम्म ७३ प्रतिशत भएको छ भने पश्चिमी खण्डमा ७२ प्रतिशत रहेको छ । सडक विस्तारको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडको म्याद साउनसम्मका लागि थप गरिएको थियो ।
पूर्वी खण्डको अवस्था
बुटवल–नारायणगढ सडक खण्ड आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार हालसम्म सडकको ६१ किलोमिटर पिच भएको छ । बाँकी ४ किलोमिटर पिच गर्न बाँकी छ । जसमा दाउन्नेको उकालोमा उक्त कार्यालयले हेर्ने २४ सय मिटर, अरुण खोला र चोरमाराको पुलको छेउमा पिच गर्न बाँकी छ ।
पूर्वी खण्डमा निर्माण हुने २२ वटा साना र १२ वटा ठुलामध्ये साना पुल सबै निर्माण भएका छन् । ठुला पुलमध्ये सवारी सञ्चालनका लागि दुई वटा मात्र बाँकी रहेको इन्जिनियर खनालले बताए ।
_wVKty29z5M.jpg)
इन्जिनियर खनालका अनुसार हालसम्म उक्त खण्डमा पर्ने चोरमाराको पुल निर्माण भइसकेकोले अब केही दिनमै गाडीहरू उक्त पुलबाट गुड्नेछन् । अरुण खोलाको पुल निर्माणको काम भने चलिरहेको छ । २ सय ४० मिटर लामो अरुण खोलाको पुल निर्माणको काम पनि जारी छ । यी दुवै ठाउँमा कालोपत्र भएपछि बजार क्षेत्रका कावासोती, दलदले, गौंडाकोट लगायतका क्षेत्रमा १० किलोमिटर सर्भिस लेन कालोपत्र गर्ने काम बाँकी छ । यस्तै फुटपाथ, सडक निर्माणपछि साइनिङ लगायतका कामहरू गर्न बाँकी छन् । म्याद असार ८ गतेसम्म भए पनि यसै वर्षभित्र काम सक्ने गरी काम भइरहेको खनालले दाबी गरे ।
पश्चिमी खण्डतर्फ
पश्चिमी खण्ड सडक परियोजनाका सूचना अधिकारी इन्जिनियर विकास खनालले आफ्नो क्षेत्रमा पर्ने ४८ किलोमिटर सडकमध्ये करिब ४० किलोमिटर सडकको काम सम्पन्न भएको रातोपाटीलाई बताए ।
यो खण्डमा हालसम्म ७७ प्रतिशत भौतिक प्रगति र ७२ प्रतिशत वित्तीय प्रगति भएको उनले खुलाए । यहाँ पर्ने ९ वटा ठुला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ भने २१ वटा साना पुलमध्ये १८ वटा सम्पन्न भएका छन् । बाँकी रहेका ३ वटा साना पुलहरू पनि निर्माणको क्रममा छन् ।
_FNnorOgVpK.jpg)
इन्जिनियर विकास खनालका अनुसार दाउन्ने चोकमा रहेका २ वटा पुल निर्माणका लागि सवारी नरोक्ने गरी काम गर्न छलफल चलिरहेको छ । बर्दघाट चोकमा रहेको पुलको निर्माण कार्य भने जारी छ । खासगरी यात्रुलाई सधैँ तनाव दिने दाउन्नेको उकालो पूर्वी खण्डभन्दा पश्चिमी खण्डमा धेरै पर्ने गर्छ ।
पश्चिमी खण्डमा पर्ने १० किलोमिटरमध्ये ५ किलोमिटर सडक आरसीसी गर्ने र ५ किलोमिटर पिच गर्ने योजना छ । जसमा आरसीसीको काम साढे २ किलोमिटर सम्पन्न भएको इन्जिनियर खनालले बताए ।
यता, कालोपत्रको काम ३ किलोमिटर भइसकेको छ । उनले चैत मसान्तसम्म आरसीसीको काम सक्ने योजना रहेको खुलाए । यस्तै यो खण्डमा पर्ने सर्भिस लेनका काम खासगरी बजार क्षेत्रहरू बुटवल, भुमही, बर्दघाटमा बाँकी छ । यस्तै बिच डिभाइडरको कामको तयारी पनि हुँदै छ । दाउन्ने उकालोमा हरित कार्यअन्तर्गत बिरुवा उमार्ने काम पनि भएको छ । ती बिरुवा अब आउँदो बर्खामा लगाइनेछ । यस्तै, सडक फिनिसिङको काम पनि बाँकी छ ।
यात्रुलाई सहज हुन थाल्यो
दुवैतर्फका सडक निर्माण भएपछि यात्रुलाई विगतभन्दा सहज हुन थालेको छ भने सडक छेउछाउका स्थानीयहरूलाई धुलो र हिलोको समस्या पनि कम भएको उक्त सडकछेउमा घर भएका देवदह खैरेनीका प्रेम थापाले बताए । उनले भने, ‘विगतमा लथालिङ्ग अवस्था थियो, अहिले पिच भएपछि सवारी पनि सरर जाने गरेका छन् । हाम्रो घर तथा पसलमा पनि धुलो तथा थोरै पानी पर्दा हिलो हुने गरेको थियो, तर अहिले उक्त समस्या हटेको छ ।’
दाउन्नेको उकालोबाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको छ ।
_1yJhDYyuW4.jpg)
अर्कोतर्फ पश्चिमी खण्डमा पर्ने ४८ किलोमिटरमध्ये करिब ४० किलोमिटरमा पिच भएकोले अहिले यतातिर पनि पूर्व–पश्चिम चल्ने सवारी तथा सडक छेउका बासिन्दाहरूलाई विगतभन्दा सहज भएको छ ।
दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको छ । यो सडकको काम सकिएपछि यो दूरी दुई घण्टामा पुग्न सकिने बताइएको छ । उनले केही महिनाअगाडि भन्दा अहिले सडक एकदमै सहज बनेको बताए ।
अघिल्लो वर्ष यो समयमा यस सडक पार गर्न बुटवलबाट नारायणगढसम्म ६ घण्टासम्म लाग्ने गरेकोमा अहिले सहज भएको चालकहरूको पनि भनाइ छ ।
_sSz3u9gXKy.jpg)
एसियाली हाइवेको मापदण्डमा विस्तार भइरहेको यस सडकको कुल बजेट १७ अर्ब रुपैयाँमध्ये ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी) ले १.५ प्रतिशत ब्याजमा ऋण सहयोग उपलब्ध गराएको छ ।
२०७९ साउनमा निर्माण सक्ने गरी २०७५ माघदेखि सडक विस्तारको काम सुरु भएकामा चौथो पटक थप गरिएको म्याद आगामी साउनसम्म छ । जसमा पूर्वी खण्डका लागि साउन ८ गते र पश्चिमी खण्डका लागि साउन ५ गतेसम्म म्याद छ ।
_lkZM16KHkb.jpg)
_MZhk78VaJJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण