शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
मधेस राजनीति

जेनजी विद्रोहलाई मधेसले शंकाको नजरले हेरेको हो ?

आइतबार, ०६ पुस २०८२, १९ : ००
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । शिव यादव, पुरुषोत्तम यादव र बब्लु गुप्ता जेनजी आन्दोलनमा फ्रन्टलाइनमै खटिए । तीमध्ये बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नै बनेका छन् । जेनजी आन्दोलनमा मधेसी समुदायका युवा अग्रपंक्तिमै खटिए पनि मधेसले यसको अपनत्व लिइरहेको देखिँदैन । जेनजी आन्दोलन र त्यसका अगुवाहरूलाई मधेसले शंकाको नजरले हेरिरहेको छ ।

हालै जेनजी प्रतिनिधि र सरकारबिच भएको १० बुँदे सम्झौतामा मधेसको अधिकार र पहिचानको कुरा उल्लेख नरहेको गुनासो मधेसबाट आइरहेको छ । हालै जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे । उनको यो निर्णयलाई मधेसमा कतिपयले आलोचना पनि गरिरहेका छन् । 

मधेसी एकता समाजद्वारा आयाेजित कार्यक्रममा जेनजी आन्दोलनका अगुवा शिवजी यादव सरकार र जेनजीबिच भएको १० बुँदे सम्झौताको प्रस्तावनामा मधेस, थरुहट लगायत शब्द आफूले थप्न लगाएको दाबी गर्छन् । जेनजी आन्दोलनबाट मधेसले प्राप्त गरेको अधिकार र पहिचानमा कुनै असर नपर्ने, बरू मुद्दामा थप बल पुर्‍याएको उनको दाबी छ । संघीयता, समावेशी र समानुपातिक प्रणालीमा कुनै पनि फरक नपर्ने उनको धारणा छ । 

जेनजी आन्दोलनका अर्का अगुवा मजिद अन्सारी मधेसीको परिभाषा स्पष्ट हुनुपर्ने बताउँछन् । जेनजी आन्दोलन पश्चगमनविरुद्ध भएको उनको भनाइ छ । सरकार र जेनजीबिच भएको सम्झौताको प्रस्तावनामा मधेस आन्दोलन, थारु आन्दोलन, आदिवासी आन्दोलन, मुस्लिम आन्दोलन लगायत सबै उत्पीडित समुदायले गरेको आन्दोलनलाई मान्यता दिलाउने काम यो जेनजी आन्दोलनले गरेको उनी बताउँछन् । 

संघीयता, समावेशी र समानुपातिकको कुरा पनि यो सम्झौतामा उल्लेख रहेको भन्दै अन्सारी मधेस आन्दोलनको मर्मलाई समेटिएको दाबी गर्छन् । 
 
तर राजनीतिक विश्लेषकहरू सीके लाल, तुलानारायण साह र राकेश मिश्र जेनजी आन्दोलनबाट पनि मधेस ठगिएको टिप्पणी गर्छन् । जेनजी आन्दोलनपछि नेपाली सेनाले आन्दोलनकारीसँग समन्वयको भूमिका खेलेको थियो । मधेसबाट अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको भए ठुलो सन्देश जान सक्ने लाल बताउँछन् । 

जेनजी आन्दोलनको एजेन्डा सुशासन र पुस्तान्तरणका लागि भएको थियो । अर्का राजनीतिक विश्लेषक साह जेनजी र सरकारबिच भएको सम्झौतामा मधेसको स्थान कतै पनि नदेखिएको टिप्पणी गर्छन् । 

जेनजी आन्दोलनले मधेसका जेनजी पुस्ताका अगुवाहरुमा निराशा उत्पन्न गरेको अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन् । ‘जेनजी आन्दोलन भएपछि राजनीतिक रुपमा संगठित हुन नसकेको कुरा पुरुषोत्तम यादवको रास्वपा प्रवेशले पुष्टि गरेको छ, यसले जेनजी पुस्तामा उत्साह होइन, निराशा थपिएको छ,’ रातोपाटीसँग चन्द्रकिशोरले भने ।  

सामाजिक अभियन्ता आभास गुरुले ‘जेनजीको आन्दोलन त रास्वपाबाट समानुपातिक उम्मेदवार बन्नका लागि पो भएको’ भनी टिप्पणी गरे । बब्लु गुप्ता मन्त्रीको सपथ खान जाँदा ढाका टोपी लगाएर गए, आफ्नो फेसबुकमा बब्लु गुप्ता नेपाल लेखेका छन्, ती सबै त्यही सोचको कारण भएको उनको टिप्पणी छ । 

सामाजिक अगुवा राजेश विद्रोही जेनजी आन्दोलन पुराना राजनीतिक दलहरूको दीर्घकालीन असफलताको प्रतिफल भएको बताउँछन् । लामो समयसम्म सत्ता र सरकारमा रहेर पनि पुराना दलहरूले जनताको अपेक्षाअनुसार सेवा र डेलिभरी दिन नसक्दा नयाँपुस्ता वैकल्पिक राजनीतिको खोजीमा उत्रिएको उनको धारणा छ । 

नेपालभित्र रहेका आन्तरिक राष्ट्रियतामध्ये मधेसको आफ्नै विशिष्ट राष्ट्रियता रहेको उल्लेख गर्दै मधेस आन्तरिक र बाह्य दुवै किसिमको औपनिवेशिक अवस्थाबाट गुज्रिरहेको धारणा राखे । संघीयताको मुख्य पहिचान बोकेको मधेसमा समेत शासन अभ्यास काठमाडौंको प्रदूषित र भ्रष्ट अभ्यास भन्दा फरक नदेखिएको भन्दै उनले प्रश्न गरे, ‘यस्तो अवस्थामा दोष प्रणालीलाई दिने कि प्रवृत्तिलाई ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप